सरकारले जारी लकडाउनलाई अरु १५ दिन बढाएर जेठ २० सम्म पुर्याउने निर्णय गरेसँगै शेयर बजारका लगानीकर्ताको अनलाईन खातालाई बैंक र हितग्राही खातासँग अन्तरआबद्ध गर्न नेपाल स्टक एक्सचेन्जलाई अरु समय मिलेको छ ।

२०७५ असारमै सक्नुपर्ने बैंक र हितग्राही खाता अन्तर आबद्धता (ईन्टिग्रेशन)को काम अहिलेसम्म पुरा नहुँदा पूर्ण अनलाईन कारोबार प्रणालीबाट लगानीकर्ताले शेयर खरिद बिक्रीको सुविधा पाएका छैनन् ।

शेयर बजारमा प्रबेश गरेका १६ लाख ६० हजार लगानीकर्ता मध्ये २५ हजार लगानीकर्ताले अनलाईन कारोबार प्रणालीको युजर आईडी र पासवर्ड लिएका छन् । अनलाईन कारोबार सुविधा लिएकाहरुले पनि ब्रोकरले आफ्नो “मनखुशी”ले दिने लिमिट र अफलाईन प्रक्रियाबाट किनबेच गर्दै आएका छन् ।

ब्रोकरको कार्यालयमा २५ प्रतिशत रकम अग्रिम रुपमा जम्मा पारेर शेयर खरिद बिक्री गर्दै आएका लगानीकर्ताले पनि समयमै पुरा रकम भुक्तानी नगरिदिँदा ब्रोकरलाई सेटलमेन्ट गर्न समस्या पर्ने गरेको छ । ब्रोकरकोमा रहेको कारोबार खातामा लगानीकर्ताको बैंक र हितग्राही खाता अन्तरआबद्ध गरिएको अबस्थामा अहिले लगानीकर्ता र ब्रोकर दुबैले भोगेको समस्या समाधान भएर जाने थियो ।

बैंक अन्तर आबद्धता नभएकै कारण यसअघि लकडाउनको बीचमा बैसाख ३० र ३१ गते धितोपत्र बोर्डले नयाँ नियम लगाएर खोलेको शेयर बजारमा माग र आपुर्तिको अबस्थामा सन्तुलन कायम हुन नसकी केही स्वार्थी तत्वहरुले खेल्ने अवसर पाएका थिए ।प्रविधि भएर पनि त्यसको सही ब्यवस्थापन र उपयोग नहुँदा बजारलाई अस्वस्थ र अपारदर्शी बनाउनेहरुले मौका पाएका छन् ।

कोरोना संक्रमणले लकडाउन र त्यसको कारणले शेयर बजार बन्द भएको यो बेला प्रविधिमैत्री बनाउने सही समय हो । नेपाल धितोपत्र बोर्डले एक महिना अगाडि नै बैंक ईन्टिग्रशेनको काम गर्न प्राविधिकहरुको कार्यदल बनाएकै छ । त्यो कार्यदल र बैंक, ब्रोकर र सम्बद्ध निकायका कर्मचारीहरुका लागि आबश्यक पासको ब्यवस्था गरेर फाटफट काम गरे अब खुल्ने शेयर बजारमा लगानीकर्ताले साँचो अर्थमा पूर्ण अनलाईनको अनुभुति गर्न पाउने छन् भन्ने आशा गर्न सकिन्छ । यसका लागि धितोपत्र बोर्डले नेतृत्व गरेर फटाफट काम गराउनुपर्छ ।

नेप्से, क्लियरिड. बैंक वा ब्रोकर कसैले बहानाबाजी गर्छन भने त्यस्तालाई कारबाही गरेर देखाउने हैसियत बोर्डले राख्नैपर्छ । अनलाईनको युजर आइडी र पासवर्ड लिएका २५ हजार लगानीकर्ताको खाता ईन्टिग्रेट गर्नु कुनै ठूलो काम हैन । नेप्से, क्लियरिड. बैंक र ब्रोकरहरुले लकडाउन बढाईएको १५ दिनको थप समयमा बैंक अन्तर आबद्धता गरेमा बजार सुधारमा महत्वपूर्ण कदम हुनेछ । त्यसका लागि लगानीकर्ता र ब्रोकरको तीब्र दबाब अति आबश्यक छ, नत्र काम हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here