तिलक कोइराला ।

अहिलेको देशब्यापी लकडाउन र कोरोना संक्रमण बढ्दै गएको असहज अबस्थामा शेयर कारोबार खोल्ने कि नखोल्ने भन्ने बहस फेरि तीब्र भएको छ ।

अर्थ मन्त्रालयको बित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिले बुधबार गरेको निर्णय र धितोपत्र बोर्ड समेतलाई पठाएको पत्रलाई आधार मानेर पाँच दिनका लागि स्थगित भएको शेयर कारोबार खोल्नुपर्छ भन्ने तर्क गर्नेहरुले जोड गरिरहेका छन् ।

के छ मन्त्रालयको निर्णय र धितोपत्र बोर्डलाई पत्रमा ?

अर्थमन्त्रीको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय समितिको बैठकले १ नम्बर निर्णयमै “विश्वब्यापी रुपमा फैलिएको कोरोना १९ संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिंग, बीमा, धितोपत्र, कम्पनी दर्ता, बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायले निरन्तरता दिने” भन्ने बाक्याँश परेको छ ।

सो निर्णयमा थप अगाडि भनिएको छ, “साथै कुन कुन सेवा कुन क्षेत्रबाट दिने हो सो को संचार माध्यमबाट सेवाग्राहीलाई जानकारी दिने ।”

सोही निर्णयलाई कार्यान्वयन गर्ने सिलसिलामा अर्थले धितोपत्र बोर्ड समेतलाई यस्तो संयुक्त पत्र पठाएको छः

निर्णयको भाव र पत्रको ब्यहोरा हेर्दा कुन कारोबार कहिले र कसरी संचालन गर्ने भन्ने कुरा सम्बन्धित निकायकै जिम्मामा छाडेको देखिन्छ र सेवाग्राहीहरुलाई अगाडि नै पर्याप्त सूचना दिनुपर्ने उल्लेख छ । निर्णय र पत्रको ब्यहोराले सम्बन्धित निकायले न्युनतम सेवालाई निरन्तरता दिने भन्ने बाक्याँश परेबाट धितापत्र बोर्ड, नेप्से, सीडीएससी, ब्रोकर, मर्चेन्ट बैंक वा अरु सरोबारवालाहरुको कार्यालय खोलेर न्युनतम सेवा जस्तो सेटलमेन्ट, रोक्का, फुकुवा, रकम भुक्तानी जस्ता सेवा मात्रै प्रवाह गर्ने कि शेयर किनबेच सेवा नै खोल्ने भन्ने कुरा निर्णय र पत्रको ब्यहोराले खोल्दैन । यो सम्बन्धित नियमनकारी निकायकै जिम्मामा छाडिए जस्तो देखिन्छ । तर यस अघि अर्थमन्त्री खतिवडाले शेयर बजार बन्द गर्न भित्रभित्रै खेलेको भुमिका हेर्ने हो भने मन्त्रालयको पत्र रणनीतिक हो ।

अनलाईनबाट शेयर किनबेच चालु गर्न सकिन्छ ?

अहिलेको असहज अबस्थामा पनि शेयर कारोबार खोल्नुपर्छ भन्नेहरुले विश्व बजारको उदाहरण दिदैं यहाँ पनि अनलाईनबाट शेयर किनबेचको कारोबार चालु गर्न सकिने तर्क गरेका छन् । यसो गर्न त सकिन्छ तर अहिले अनलाईन शेयर कारोबारीको अबस्था के छ भन्ने जान्न यो तथ्यांक हेरौंं:

माथिको विश्लेषण हेर्दा के देखिन्छ भने अहिले पनि अनलाईन कारोबारीको संख्या निकै कम छ । जम्मा लगानीकर्ताको १.४ प्रतिशतले मात्र अनलाईन कारोबारको युजर आईडी र पासवर्ड लिएका छन् । दैनिक कारोबारमा संलग्न हुने जम्मा लगानीकर्ताको संख्याको अधिकतम २२.७१ प्रतिशतले मात्र अनलाईन कारोबार गर्छन र हितग्राही खाता खोलेर शेयर बजारमा आएका जम्मा संख्या साढे १६ लाख लगानीकर्ता मध्ये ०.२२ प्रतिशतले मात्र अनलाईन लिएर दैनिक कारोबारमा सहभागी भएका छन् ।

नेप्सेले नै सार्वजनिक गरेको यो तथ्य हेर्नुहोस्

यो आँकडा शेयर बजारमा ईतिहासकै सबैभन्दा धेरै रकमको कारोबार भएको २०७६ फागुन १८ गतेको हो, यस भन्दा अगाडिको फागुन १४ गतेको आँकडा हेर्ने हो भने अनलाईन कारोबार गर्नेको संख्या अरु कम देखिन्छ । यद्यपी त्यो बेला अनलाईन युजर आईडी र पासवर्ड लिनेको संख्या पनि कम थियो ।

नेप्सेको अनलाईन प्रणालीका लागि दर्ता भएका प्रयोगकर्ताः स्रोट NOTS

फागुन १८ गतेको आँकडा हेर्दा एनएमबी बैंकको शेयर मूल्य अधिक बढेको बेला विगतमा एफपीओ किनेर फाईदामा बसेका, ओम डेभलपमेन्ट बैंकको शेयर धारण गरेर एनएमबी भएपछि धेरै नाफा कमाएका, एनआईसी एशिया, नेपाल लाईफको शेयर सस्तोमा किनेर नाफा बढाएका, जनता बैंकको शेयर धारण गरेर ग्लोबल भएपछि धेरै नाफा कमाएका र अघिल्ला दिनहरुमा ग्लोबलको शेयर सस्तोमा किनेका लगायतका कम्पनीका लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न धेरै मात्रा शेयर बेचेका थिए । त्यस कारण पनि अनलाईन तथा अफलाईनमा कारोबार गर्ने लगानीकर्ताको संख्या अधिक देखिएको हो ।

ईतिहासमै सबैभन्दा धेरै रकमको कारोबार भएको दिन धेरै अनलाईन कारोबारी देखिए पनि आज त्यो संख्या निकै थोरै हुनसक्छ ।

कतिपय लगानीकर्ताले हितग्राह खाता खोल्न र शेयर अभौतिक गर्न बाँकी नै रहेकाले अहिले खोलिएका हितग्राही खाता संख्याले पनि वास्तविक लगानीकर्ताको प्रतिनिधित्व गर्दैन, कतिपय लगानीकर्ता दोहोरिएका, तेहेरिएका पनि छन् ।

अहिलेको बिषय परिस्थितिमा अनलाईनबाट मात्रै कारोबार गराउँदा के हुन्छ ?

अनलाईनबाट मात्रै कारोबार पनि गराउँन सकिन्छ तर त्यसमा बजार सम्बद्ध पक्षहरु नेप्से, सीडीएससी, ब्रोकर, क्यापिटल, शेयर रजिष्ट्रार र लगानीकर्ताको सक्रिय सहभागिता हुनैपर्छ । देशमा कोरोना भाईरसको संक्रमणको खतरा अरु बढेको अबस्थामा विदा भएर जिल्ला र गाउँ गाउँ पुगेका सम्बद्ध पक्षका कर्मचारी र लगानीकर्ताहरु कसरी आफ्नो कार्यस्थल पुग्न सक्छन् र सबै सेवा चालु होला भन्ने प्रश्न महत्वपूर्ण छ । शेयर कारोबार गराएर मात्रै हुन्न, खरिद बिक्री भएको शेयरको राफसाफ र फस्छौट एकदम महत्वपूर्ण हुन्छ ।

ब्रोकरलाई टेलिफोन गरेर पनि शेयर खरिद बिक्री गर्न सकिन्छ भन्ने तर्क पनि आउला । हो, यसरी पनि गर्न सकिन्छ तर बिक्री गरिएको शेयर हस्तान्तरण गर्न कागजी डिआईएस ब्रोकरको कार्यालयमा कसरी पुर्याउने ? मेरो शेयर सफ्टवेयर लिएर गर्न सकिन्छ भन्ने हो भने आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यसम्म लगानीकर्ता कसरी पुग्ने ? कतिपयको शेयर धितोमा रहेको अबस्था हुन्छ र त्यो फुकुवा गर्न पनि लगानीकर्ता ब्रोकर र बैंकसम्म जानैपर्ने बाध्यता हुन्छ । यस्तो असहज अबस्थामा बिक्री गरिएको शेयर हस्तान्तरण हुन नसकेर क्लोज आउटमा पर्दा अर्को पीडा लगानीकर्ताले ब्यहोर्नैपर्छ ।

“अनलाईन लिए भईहाल्यो नि” भन्नेलाई जवाफ

अनलाईन नलिएकाले अनलाईनको युजरआईडी र पासवर्ड लिएर कारोबार गरे भईहाल्यो नि भन्ने प्रश्न पनि आउँछ । अनलाईनको युजरआईडी र पासवर्ड लिन लगानीकर्ता स्वयं ब्रोकर कार्यालयमा उपस्थित भएर निर्धारित ढाँचाको निबेदन गर्नुपर्छ । उसले हस्ताक्षर र औठा छाप समेत लगाएर रीतपुर्वक निवेदन गरेपछि युनिक क्लाईन्ट कोड ( यूसीसी) प्राप्त गर्न ब्रोकरले प्रक्रिया अगाडि बढाउँछ । यूसीसी प्राप्त हुनै दुई तीन दिन लाग्ने हुँदा अनलाईन  लिन त्यति सहज छैन । त्यो लिईहालेको अबस्थामा पनि ब्रोकरलाई लिमिटको निश्चित रकम बुझाउनुपर्ने अनिबार्यता अलग पाटो हो । त्यसमाथि अनलाईन लिएर त्यो चलाउँन अभ्यस्त नहुँदा किन्नुपर्ने ठाउँमा बिक्री र बिक्री गर्नु पर्नेमा किन्दा क्लोज आउटको जोखिम धेरै हुन्छ ।

अनलाईन लिएका कयौं लगानीकर्ताहरु पनि राजधानी काठमाडौ छाडेर जिल्ला गईसकेको अबस्था छ भने जिल्लामा ईन्टरनेटको पहुँच कम र कमजोर ब्याण्डविथले उनीहरुले चाहेर पनि अनलाईन कारोबार गर्न सक्दैनन् । जिल्लाहरुमा शाखा खोलेका ब्रोकरहरुमा आबद्ध लगानीकर्ताले अनलाईन भन्दा अफलाईन कारोबार नै धेरै गर्ने गरेका छन् ।

लगानीकर्ताले स्वतन्त्र निर्णय गर्नसक्ने सहज अबस्था खोई ?

शेयर बजार भनेको अन्य कुराहरुका साथसाथै माग र आपुर्तिको अबस्थालाई मुख्य रुपमा लिनुपर्छ । अहिलेको अबस्थामा शेयर कारोबार खोल्दा माग र आपुर्ति एकदम असन्तुलित हुन्छ । क्रेता र बिक्रेताहरुले स्वतन्त्र निर्णय गर्नसक्ने भन्दा पनि लकडाउनको अबरोध र कोरोनाको त्रासमा अधिकाँश लगानीकर्ता रहेकोले बजारको पहुँचमा रहेकाले जे चाह्यो हुन्छ ।

अहिले केही घरानाहरुले शेयर ठूलो परिमाणमा बिक्री गरी हातमा पैसा लिएर बसेका छन् भने क्यापिटलहरुसँग पनि पर्याप्त लगानीयोग्य रकम छ । उनीहरुले बजारमा आफ्नो गुप्त रणनीति अख्तियार गरी चाहे अनुसार तल वा माथि गर्न सक्छन् । यस्तो अबस्थामा अवसरबाट बंचित हुने गाउँ गाउँमा पुगेका सर्बसाधारण लगानीकर्ता नै हो, जसले घाटामा शेयर बेचेर गएका छन् र नाफा हुने अबस्थामा फेरि शेयर किन्न चुक्छन् ।

भुकम्प, नाकाबन्दी र अनिबार्य डिम्याटबाट पाठ सिकौ

२०७२ सालको भुकम्पको बेला शेयर बजारमा शुरुमा माग र आपुर्तिको गंभीर खालको असन्तुलन थियो किनभने कारोबारका लागि सहज अबस्था थिएन । त्यही कुरालाई मध्यनजर गरेर केही समय शेयर कारोबार रोकेर नेप्सेका तत्कालीन प्रमुख कार्यकारी सिताराम थपलियाले नेतृत्वदायी भुमिका खेल्दै बजारलाई जोगाएका थिए । नाबाकन्दीको बेला पनि बजारमा केही अअसन्तुलन देखा पर्यो तर लगानीको अर्को क्षेत्र नभएकाले धेरै पैसा शेयर बजारमै आयो र बजार उचालियो । धितोपत्र बोर्डले कागजी शेयर प्रमाणपत्रलाई विस्थापन गरी अभौतिक( डिम्याट) शेयर अनिबार्य गरेपछि त बजारमा माग अत्यधिक तर आपुर्ति कम भएकाले शेयरको मूल्य बेस्सरी उचालियो । त्यतिखेर संस्थागत लगानीकर्ताहरुको उपस्थििति अहिले भन्दा कमजोर र डिलरशीप पनि थिएन, ब्यक्तिगत लगानीकर्ताहरुको अधिक संख्या थियो । पछि पूँजी बृद्धि र हकप्रदको हल्ला गरेर शेयर बजारलाई जोखिमतर्फ डोर्याईयो ।

लगानीकर्ताहरुले सहज कारोबार गर्ने अबस्था नहुँदा बजारमा कस्तो अस्वस्थ खेल हुन्छ भन्ने कुरा विगतका यी घटनाहरुबाट पाठ सिक्नैपर्छ ।

अन्य देशमा के भएको छ ?

शेयर बजारमा भागदौड गर्ने लगानीकर्ता जहाँ पनि हुन्छन् र कोरोनाका कारणले त्यहाँ पनि भागदौड चलिरहेको छ । अरु देशमा शेयर बजार खुलेको छ, हाम्रो देशमा किन बन्द भन्नेहरुले भारतीय शेयर बजारको यो अबस्था हेर्न हेरौं ।

एक अर्ब १३ करोड जनसंख्या रहेको भारतमा साढे दुई करोड भन्दा बढीले शेयर बजारमा लगानी गर्ने गरेको अलि पुरानो तथ्यांक छ । त्यहाँ जनसंख्याको २ प्रतिशत शेयर बजारमा संलग्न भएको अनुमान गरिन्छ ।

भारतमा बम्बे स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जमा गरी आठ हजार भन्दा बढी कम्पनीहरु सूचीकृत छन् । ब्रोकरहरुले लगानीकर्ताले आबेदन गरेको पाँच मिनेटमा अनलाईन कारोबार खाता खोलिदिन्छन् र अनलाईन कारोबार संभव हुन्छ ।
भारतीय शेयर बजारमा विदेशी प्रत्यक्ष लगानी( एफडीआई), विदेशी पोर्टफोलियो ईन्भेष्टमेन्ट ( एफपीआई) र म्युचुअल फण्डहरुको बाहुल्यता छ । ४६ वटा म्युचुअल फण्डका २५०० भन्दा बढी योजनाहरु संचालनमा छन् । यिनीहरुले ब्रोकरबाट युजर आईडी र पासवर्ड लिएर आफैले पूर्ण स्वचालित कारोबार गर्छन । कतिपय ब्रोकरले सर्बसाधारण लगानीकर्तालाई सुन्य कमिशन दरमा कारोबार सुविधा दिएका छन् ।

भारतका गाउँ गाउँमा ब्रोडब्याण्ड ईन्टरनेट पुगेको छ र लगानीकर्ताले घरैमा बसेर मज्जाले कारोबार गर्न सक्छन् ।

भारतको शेयर बजारको दैनिक औसत कारोबार २६६१४ करोड भारतीय रुपैयाँ भन्दा बढी रहेको देखिन्छ ।

जे भारतीय शेयर बजारमा छ, त्यो हामीसँग छैन र उसलाई हेरेर हामीले चल्न थाल्यौ भने गल्ति हुनेछ ।

अब के गर्ने त ?

अरु देशमा के छ भन्ने हैन, हामीले हाम्रै परिवेश र क्षमता हेरेर निर्णय गरी बजार बिकास गर्नु परेको छ । दुई तिहाई भन्दा बढी लगानीकर्तालाई लकडाउन र असहज अबस्थाको बन्दी बनाएर अहिले शेयर कारोबार खोल्नु भनेको बहुसख्यक लगानीकर्ताको हितमा लात हान्नु हो । सिमित स्वार्थ समूहको प्रभाव र घेराबन्दीमा परेर अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार खोल्ने हठ गर्छन भने शेयर बजारका आम लगानीकर्तामाथि घात गरेको ठहर्ने छ ।

यहाँ स्पष्ट देखिएको छ कि यसपल्ट कोरोना संक्रमण हुन नदिन सरकारले अत्याबश्यक सेवा बाहेकका क्षेत्रहरु बन्द गर्ने घोषणा गर्दा पनि नेप्से र धितोपत्र बोर्डले शेयर बजार बन्द गर्ने निर्णय गर्न नसक्नुमा अर्थमन्त्री खतिवडाकै अनिच्छा जिम्मेवार थियो ।

लगानीकर्ताका नेताहरु नेप्से प्रमुख चन्द्रसिंह साउदलाई भेट्न जाँदा साउदले स्पष्ट शब्दमा भनेका थिए ” हाम्रो संचालक समितिमा अर्थ मन्त्रालयकै प्रतिनिधि हुनुहुन्छ, लगानीकर्ताको माग बारे के गर्ने भनेर मन्त्रीज्यूको भनाई के हो भनेर मैले सोधेको थिएँ, उहाँबाट केही प्रतिक्रिया आउन सकेन ।”

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना शेयर बजार बन्द गर्ने बारेमा अघिल्लो बिहीबार साँझ नै लगभग एउटा निष्कर्षमा पुगिसकेका थिए तर अर्थमन्त्रीसँगको भेटमा सकारात्मक सकेत नपाएपछि अन्योलमा परे र चौतर्फी दबाब आएपछि आईतबार अबेर मात्र बोर्डले बन्दको निर्णय गरेको थियो ।

अहिले ०.२२ प्रतिशत लगानीकर्ताहरुका लागि शेयर बजार खोल्न हतारिने भन्दा पनि अबस्था सहज हुने बेलासम्म पर्खिने नै हो । जबसम्म खरिदकर्ता र बिक्रीकर्ताले स्वतन्त्र निर्णय गर्नसक्ने अबस्था हुन्न, तबसम्म हुन्न । यसो गर्दा पनि आगामी दिनमा अनलाईन कारोबार नै बढी होस भन्ने कुरामा जोड दिई ब्रोकर कमिशन कटौति, बैंक र हितग्राही खाता कारोबार खातामा आबद्धता, अनलाईन प्रणालीका समस्या समाधान, क्लोज आउटबाट लगानीकर्तालाई परेको समस्याको स्थायी समाधान, संस्थागत लगानीकर्ताको बाहुल्यताका लागि पहल, दुई तहको  लाभकरको सुनिश्चितता, मार्जिन कर्जाको ब्याज दरमा कटौति, ब्रोकरको क्षमता, संख्या र कार्यक्षेत्र बिस्तार, डिलरशीप लगायतका नीति, नियम पुर्वाधार र प्रविधिमा सुधारका काम गर्नेपर्छ ।

खतिवडासँग नैतिकता र हिम्मत छ ?

बजार सम्बद्ध पक्षहरु लगानीकर्ता, शेयर ब्रोकर,मर्चेन्ट बैंकहरु नै असहज अबस्था पार नभएसम्म बजार बन्दको पक्षमा रहेको बेला अर्थमन्त्रीको “पेलान”ले मात्रै बजार खुल्न कति संभव छ ? जब कि सीडीएससीले नै सेटलमेन्ट बन्द गरेको अबस्था छ । के खतिवडा लगानीकर्तालाई लकडाउन तोडेर संक्रमणको खतरा मोल्दै शेयर कारोबार गर्न ब्रोकरकोमा आउन उक्साईरहेछन् ?

अर्थमन्त्रीले भने जस्तै अहिले हतारमा कारोबार खोल्ने तर बीएसई र एनएसई जस्तै यहाँ पनि दुई वटा स्टक एक्सचेन्ज खडा गर्न सरकार तयार छ ? सरकारले नेप्सेमार्फत सर्बसाधारण लगानीकर्तालाई जूवा खेलाएर कमिशन लुटिरहने हो भने अरु देशको उदाहरण दिएर शेयर कारोबार खोल्न अर्थमन्त्री खतिवडालाई कुन नैैतिकताले दिन्छ ?

भारतमा त शेयर कारोबार खुलेको छ भन्नेले त्यहाँ जस्तै नीति, नियम, पुर्वाधार र प्रविधि पनि दिनसक्नुपर्छ । आफैले गत असारसम्ममा गर्छु भनेका नेप्सेमा रहेको सरकारी स्वामित्वको विनिबेशन र २० वटा मुख्य कामहरु गर्न नसक्नेले भारतको उदाहरण दिदै बजार खोल्न दिएको “पेलान” कुनै हालतमा स्वीकार्य छैन । आम लगानीकर्ताका लागि अवस्था सहज र स्वतन्त्र निर्णयद्धारा किनबेच गर्नसक्ने भएपछि मात्र बजार खुल्छ । अब ब्रोकरले लगानीकर्तालाई अनिबार्य रुपमा अनलाईन युजरआईडी र पासवर्ड दिएर मात्र कारोबार गराउनुपर्ने ब्यवस्था गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here