तिलक कोइराला ।

कुनै कम्पनीले राम्रो लाभांश घोषणा गर्यो वा केही सकारात्मक समाचार आयो भने त्यही बेला उचालिएर महंगो मूल्यमा शेयर किन्दा कति घातक होला ? यस्तो प्रश्न गर्ने हो भने शेयर किन्न ठिक्क परेका वा महंगो मूल्यमा शेयर बेच्न तयारी गर्दै गरेका दुबै पक्षका लगानीकर्ताहरु आक्रोशित हुने गर्छन तर सत्य जति तीतो भए पनि पचाउँनै पर्छ ।

जब कम्पनीले राम्रो लाभांशको घोषणा गर्छ तब शेयर बजारका लगानीकर्ताहरु ओईरिएर त्यस कम्पनीको शेयर महंगोमा किन्ने होडबाजी गर्छन । अझ मुर्खता कतिसम्म हुन्छ भने जुन कम्पनी खराब छ र उसले चुक्ता पूँजी बृद्धिको अरु कुनै उपाय नभएपछि धेरै हकप्रद शेयर बेचेर लगानीकर्ताबाट पैसा थुत्ने घोषणा गर्छ तब लगानीकर्ताहरु उचालिएर त्यसैको शेयर किन्छन् । यस्तो वेलामा बृद्धि र विवेकको कुरा गर्नु बेकार हुन जान्छ । एकातिर मूल्य बढाएर महंगोमा शेयर पनि किन्ने र अर्कोतिर हकप्रद किन्न कम्पनीलाई पैसा पनि बुझाउने दोहोरोे घाटाको ब्यापार गर्न उद्यत लगानीकर्ताहरुलाई कसैले रोक्न सक्दैन । हकप्रद कम्पनीले लगानीकर्तालाई मायाँ गरेर दिने नभई शेयर भिडाएर लगानीकर्ताबाट पैसा धुत्ने हो भन्ने कुरा बुझाउनु पनि निकै मुस्किलको कुरा हो ।

यहाँ निर बुझ्नुपर्ने मुख्य कुरा के हो भने जब कम्पनीले कुनै सार्वजनिक घोषणा गर्छ, पत्रकार वा सर्बसाधारण लगानीकर्तालाई भ्रम यस्तो पर्छ कि यो कुरा सबैभन्दा पहिले मैले नै थाहा पाएको हुँ । यो पुरै गलत हो । कम्पनीको लाभांश वा हकप्रद बिक्री सम्बन्धी कुनै घोषणा संचार माध्यमबाट सार्वजनिक हुनु अघि कम्तिमा एक हजार जनाले त्यो कुरा पहिले नै थाहा पाईसकेका हुने छन् ।

कम्पनी संचालक समितिमा जब कुनै बिषय छलफलका लागि जान्छ, त्यो बिषय त्यसका संचालक, मुख्य शेयरधनी र माथिल्ला तहका कर्मचारी धेरैलाई थाहा भईसकेको हुन्छ । जब निर्णय हुन्छ, कम्पनी भित्र पहिले फैलिन्छ र नियमनकारी निकाय हुँदै संचार माध्यममा पुग्नु भन्दा पहिले नै शेयर बजारका मुख्य खेलाडीहरुले थाहा पाईसकेका हुनेछन् । जब पत्रिका वा अनलाईनहरुमा समाचार आएर ब्यापक प्रचार हुन्छ, त्यसले शेयर बजारमा त्यस कम्पनीको शेयर खरिदका लागि माग सिर्जना गरिदिन्छ र ठूलो संख्यामा शेयर धारण गरेकाहरु महंगो मूल्यमा बिक्री गर्न तम्तयार बसेका हुन्छन् । मूल्य बढेको यही मौकामा ठूला कित्ता शेयरहरु जत्ति पनि बिक्री गर्न सकिन्छ । तर सर्बसाधारण लगानीकर्ताहरु यही बेला महंगोमा शेयर किनेर फस्छन् ।

कुनै कम्पनीको बारेमा नराम्रो समाचार आयो भने पनि तत्कालै घाटा खाएर शेयर बेच्न हतारिनु पनि त्यत्तिकै घातक हुन जान्छ । समाचार वा सूचनाको प्रभाव क्षणिक हुन्छ । भोलि वा पर्सीपल्टबाट त्यस्तो नकारात्मक असर कम भएर जान्छ भन्ने हेक्का राख्नैपर्छ ।

कम्पनीको अबस्थालाई नजिकबाट नियालीरहेकाहरुले कुन कम्पनीले कति पूँजी बृद्धि गर्नुपर्छ, कति नाफा गरेको छ, कति लाभांश बाँड्न सक्छ, कति हकप्रद बिक्री गर्छ, कुन बेला के निर्णय गर्छ भनेर गंभीर रुपमा अध्ययन गरी बसेका हुन्छन् । उनीहरुले भित्री सूचनामा पहुँच कायम गरेका हुन्छन् । यसरी कम्पनीको समग्र अबस्था मुल्यांकन गरी पहिले नै आफुलाई चाहिने संख्यामा सस्तोमा शेयर किनेर बसेकाहरु जब कम्पनीले सूचना वा समाचार प्रबाह गर्छ, त्यो बेला शेयर बजारमा मूल्य बढ्छ र उनीहरु नाफा गरेर शेयर बिक्री गरी बाहिर निस्कन्छन् । तर सर्बसाधारण लगानीकर्तामा भने उल्टो असर देखिन्छ, जब समाचार आउँछ, मूल्य बढाएर शेयर किनी फस्ने होड चल्छ ।

जब कुनै कम्पनीले एकै चोटी धेरै प्रतिशत बोनस शेयर वितरण गर्ने वा धेरै संख्यामा हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेर सूचना सार्वजनिक गर्छ, त्यसको दीर्घकालीन असर हुन्छ । महंगो मूल्यमा शेयर किनेकाहरुले त्यसपछि हिसाब गर्न थाल्छन् । बोनस वा हकप्रदको मूल्य समायोजन भएपछि दोस्रो बजारमा कारोबार भईरहेको शेयरको मूल्य घट्छ । बोनस सुचिकृत भईसकेपछि बजारमा शेयरको आपुर्ति बढी हुन जाँदा माग र आपुर्तिमा सन्तुलन कायम हुन नसकी फेरि मूल्य घट्छ । हकप्रद बिक्रीको लागि शेयरधनी किताब बन्द भएपछि शेयर भर्न पैसाको जोहो गर्नुपर्दा कयौं लगानीकर्तामा थप तनाव पैदा हुन्छ । पहिलेको शेयर बेचेर हकप्रद भर्नेहरु सक्रिय हुँदा शेयरको आपुर्ति बढि नै रहन्छ । फेरि हकप्रद शेयर सुचिकृत भएर शेयरधनीको खातामा आउँन कम्तिमा ३ महिना समय लाग्ने हुँदा समयको पर्खाईको अलग्गै हिसाब गर्नुपर्छ । जब शेयर सुचिकृत भएर आउँछ, बिक्रीमा आउँने शेयरको संख्या बढी हुन्छ र शेयरको मूल्य घटाईदिन्छ । एकैचोटी धेरै बोनस शेयर वितरण वा हकप्रद बिक्री गर्ने कम्पनीले सोही अनुपातमा आम्दानी बढाउँन नसक्दा प्रतिशेयर आम्दानी खुम्चेर जान्छ, कम प्रति शेयर आम्दानी भएको कम्पनीलाई बढी मूल्य तिर्ने आकर्षण शेयर बजारमा स्वभाविक रुपमा हुन्न र मूल्य अरु घट्न सघाउँ पुर्याउँछ । तर बढी मात्रामा नगद लाभांश वितरण गरेका कम्पनीमा शेयरको आपुर्ति स्थिर रहने हुँदा यस्तो जोखिम कम रहन्छ ।

कुनै कम्पनीको क्रमबद्ध प्रगति नहेरी एकैचोटी धेरै बोनस शेयर दिने भयो वा हकप्रद धेरै अनुपातमा बिक्री गर्ने भयो भनेर उचालिएर शेयर किन्नु घातक छ । एकैपटक धेरै बोनस शेयर वितरण गर्ने वा धेरै हकप्रद शेयर बिक्री गर्न खोज्ने कम्पनीमा जोखिमको मात्रा धेरै हुने भएकाले त्यस्ताको शेयर सकेसम्म मूल्य घटाएरै किन्नुपर्छ वा त्यस्तामा लगानी नगर्नु नै बेश हुन्छ । नपत्याए हिजो एकैचोटी धेरै बोनस र हकप्रद पाउने लोभमा उचालिएर एभरेष्ट र स्टान्डर्ड चार्टडको शेयरमा लगानी गरी फसेका लगानीकर्तालाई सोधौं, कति फाईदा भयो ?

(यहाँ ब्यक्त गरिएका कुराहरु अनुभवमा आधारित छन् र सुरक्षित लगानीका लागि हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here