चीनबाट फैलिएर अहिले युरोप, अमेरिका ईरान र दक्षिण कोरियासम्मलाई संकटमा पारेको कोरोना भाईरसले विश्व अर्थतन्त्रलाई कस्तो असर पार्छ भन्ने आँकलन शुरु भएको छ ।

विश्वको प्रमुख निर्यातक देश चीनको हुबेई प्रान्तमा कोरोना लगाभग नियन्त्रणमा आएको छ र चिनियाँ निर्यात अब बिस्तारै बढ्ने अपेक्षा गर्न सकिन्छ तर कयौं देशहरुले लगाएको यात्रा प्रतिबन्धका कारण पर्यटन लगायतका गतिबिधिहरु अरु लामो समय ठप्प हुने देखिन्छ ।

यसले विश्व अर्थतन्त्रमा गंभीर अनिश्चितता सिर्जना गरेको छ ।

कोरोनाका कारण अमेरिकी अर्थतन्त्रमा समस्या गहिरिने, माल बस्तुको कारोबारमा कमी आउने र रोजगारी कटौति हुने संभावना रहेको सेन्टर फर अमेरिकन प्रोगेसको आँकलन छ । कोरोनाका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव नपरोस भनी सरकारले सावधानी र क्षति न्युनीकरणका उपायहरु अबलम्बन गर्ने प्रयास गरेको जनाईएको छ ।

कोरोना भाइरसको संक्रमण सुरु भएयता विश्व अर्थतन्त्र डामाडोल भएको छ । यसको गिरावटको रफ्तार सन् २००९ कै अवस्थामा पुगेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसनस एण्ड डेभलपमेन्ट (ओइसिडी) को तथ्यांकले देखाएको छ ।

थिंक ट्यांक ओइसिडीको प्रक्षेपणअनुसार सन् २०२० मा आर्थिक वृद्धिदर जम्मा २.४ प्रतिशमात्र रहनेछ  ।

ओइसिडीले कोरोनाको त्रास अझ लामो समय र गम्भीर रूपमा रहिरहने हो भने सन् २०२० मा आर्थिक वृद्धिदर केवल १.५ प्रतिशतमा सीमित हुने समेत प्रक्षेपण गरेको छ ।

विश्व सेयर बजारका लगानीकर्ताहरुमा पनि कोरोनो भाइरसको त्रास फैलिएको छ। त्यसको असर विश्वका ठूला सेयर बजारहरुमा स्पष्ट देख्न सकिन्छ।

यस्तै सुरक्षित लगानी मानिने सुनको भाउ पनि रेकर्ड कायम गर्ने्तर अग्रसर छ । सुनले यो समय बिगत सात वर्ष यताकै उच्च मूल्य बनाएको छ ।

रसिया र साउदी अरेबियाबीको तेल युद्धले कच्चा तेलको भाउ बेस्सरी खस्कदा तेलमा आधारित अर्थतन्त्र भएका देशहरुको अबस्था खस्कन सक्ने आँकलन गरिएको छ ।

नेपालमा पनि आर्थिक बृद्धि दर अपेक्षा अनुसार नहुने आँकलन गर्न थालिएको छ ।

विश्वभरका लगानीकर्ताहरु अझै पनि सशंकित छन् किनभने कोरोनाको संक्रमणका कारण विश्व अर्थतन्त्रमा माग र आपूर्तिमा अझ बढी असर देखिने खतरा टरिसकेको  छैन ।

विश्व संचार माध्यमहरुको स्रोतमा आधारित ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here