कोशी करिडोर २२० केभी प्रसारण लाइनमा देखिएको समस्या सामाधान भई प्रसारणलाईन निर्माणको काम पुन: सुचारु भएको छ ।

धरान उपमहानगरपालिकाले आयोजना निर्माणमा गत मंसिरबाट गर्दै आएको अवरोध हटाएपछि आयोजन निर्माणको काम बिहिबारबाट पुन सञ्चचालनमा आएको हो । आयोजना निर्माणमा अवरोध हटेपछि बिहिबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम अघि बढाइएको छ।

कोशी करिडोर आयोजनाले सुनसरीको धरान उपमहानगरपालीका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीयस्थललाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै धरान उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गत मंसिर २८ गते प्रसारण लाईनलाई करीब २०० मिटर पश्चिमबाट लैजान नेपाल विद्युत् प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेकि थिइन ।

प्राधिकरणले भने उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने र सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माण भइरहेकाले आयोजनाको मार्ग परिवर्तन गर्न नसकिने बताएको थियो ।

विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा १ साताभित्रै प्रतिवेदन बुझाउनेगरी कार्यदल समेत गठन गरीएको थियो । सो कार्यदलले रुट परिवर्तन गर्न नसकिने प्रतिवेदन पेश गरेको थियो ।

प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरेको छ। अब सोही रुट हुँदै प्रसारण लाइनको निर्माण हुनेछ ।

एक नम्बर प्रदेशमा भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङसम्म पुग्ने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोर निर्माण गर्न लागिएको हो ।

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत सोही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता गरिसकेको छ । सो करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किटको प्रसारण लाइन निर्माण भइरहेको छ । त्यसको अनुमानित लागत तीन करोड ७५ लाख अमेरिकी डलर छ ।

दोस्रो खण्डमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२० मै सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो खण्डको अनुमानित लागत दुई करोड ५३ लाख अमेरिकी डलर छ ।

तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु ९ताप्लेजुङ० ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ । दुई करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२०मा सक्ने लक्ष्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here