शेयर लगानी टिप्पणी ।

बाणिज्य बैंकहरुमा सबैभन्दा धेरै चुक्ता पूँजी रहेको ग्लोबल आईएमई बैंकको शेयर कारोबार बिहीबार नै खुल्नु पर्नेमा नेप्सेको प्रक्रियागत झंझटका कारण माघ ५ गते आईतबार मात्रै खुल्ने भएको छ ।

१९ अर्ब हाराहारी चुक्ता पूँजी रहेको ग्लोबल आईएमईको शुरुवाती शेयर मूल्य २४० रुपैयाँदेखि २६० रुपैयाँसम्मको रेन्जमा खुल्यो भने त्यो शेयर अन्य समकक्षी बाणिज्य बैंकहरुको तुलनामा धेरै सस्तो हुनेछ । अहिलेको बढ्दो बजारमा सस्तो शेयर उठाउँन लगानीकर्ताहरुले चासो देलान् नै, त्यसमाथि अहिले नै ग्लोबलको शेयर कहिले खुल्छ र शुरुवाती मूल्य कति हुन्छ भन्दै किन्न चासो दिनेको संख्या अधिक छ ।

बजार पूँजीकरण धेरै रहेको कम्पनीको शेयर मूल्य बढ्न थाल्यो भने बैकिङ समूहमा खरिद चाप बढाएरै लैजाने छ । ग्लाबेल माथि तानिएसँगै अरु बाणिज्य बैंकका शेयरमा पनि खरिद चाप पर्नसक्ने संभावना नकार्न सकिदैन । अहिले नै एनआईसी एशिया, एनएमबी लगायतका केही समूहहरुको पकड रहेका बैंकका शेयरहरु उचालिएकै छन् । बजार माग र आपुर्तिको नियममा पनि चल्ने भएकाले ग्लोबलको अधिक पूँजी र बजारमा हुने शेयर आपुर्तिले परिणाम फरक पर्न पनि सक्छ ।

ग्लोबलमा मिलेको जनता बैंकका शेयरधनी भने धेरै फाईदामा हुने छन् । उनीहरुले सस्तो मूल्यमा शेयर बेचेनन् भने ग्लोबलको भाउ माथि नै जाला तर बजारमा धेरै शेयर आपुर्ति हुने हुँदा एउटा विन्दुमा पुगेर भने स्थिर जस्तै बस्ने छ ।

ग्लोबलले दोस्रो त्रैमाशिक प्रतिबेदन कस्तो निकाल्छ भन्ने कुराले पनि धेरै लगानीकर्ताको ध्यान आकृष्ट गर्ने नै छ । कम्तिमा २५ रुपैयाँको लाभांश खुवाउन सक्ने क्षमता देखायो भने ग्लोबलको भाउ ३७५ हुनुलाई अन्यथा मान्नु हुँदैन किनभने यति लाभांश दिने अरु कम्पनीका शेयर मूल्य माथि गईसकेका छन् । मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहँदासम्म लाभांश दिने हरेक कम्पनीको शेयरमा लगानी फाईदाजनक नै हुनेगर्छ । जनतासँगको १५ प्रतिशत स्वापबाट समेत बोनस शेयर पाउँनसकिने संभावनालाई नजर गर्दा लाभांशमा आधारित भई ग्लोबलमा लगानी गर्दा पनि घाटा हुन्न । तर कसैको आँकलनमा बजार नहिड्ने हुनाले लगानीकर्ताको मनोबल र बजारले ग्लोबललाई कुन स्थानमा राख्छ भन्ने कुराले निश्चित गर्ने छ । लगानीकर्ताले आफ्नो अ३ययन, विश्लेषण, लगानी कौशल र जोखिमबहन क्षमता हेरेर लगानी गर्ने हो, कसैको लहै लहै र बहकाउमा हिड्नु भने हुँदैन ।

केही समय अघि नेप्से सूचक र बैकिङ समूहको सूचकमा ५० अंकको मात्र फरक रहेकोमा अहिले नेप्से सूचक १६० अंकले माथि गई १३१० बिन्दुमा पुगिसकेको छ, जबकि बैकिङ सूचक ११६३ को बिन्दुमा छ । शेयर बजारमा सुचीकृत अरु बर्गका कम्पनीहरुको शेयर मूल्य धेरै बढेपछि नेप्से सूचक माथि गएर बैकिङ सूचक पछि परेको हो भन्ने स्पष्ट छ । अहिले एनआईसी एशिया र एनएमबीले नेतृत्व गर्दा बैकिङ समूहको शेयरमा बढोत्तरी भएको देखिएको छ तर अब ग्लोबलले कसरी नेतृत्व गर्छ भन्ने चासो भने सर्बत्र छ । बाणिज्य बैंकमा पनि केही बैंकको लाभांश पचिसकेको छ तर केही बैंकको शेयर मूल्य समायोजित मूल्य भन्दा ५ रुपैयाँ माथि जान सकेको छैन ।

फेरि पनि शेयर बजारमा सूचक हेरेर हैन, कम्पनी हेरेर लगानी गर्नुपर्छ भन्ने कुरा एकदम महत्वपूर्ण छ । आईतबार ग्लोबलको कारोबार खुल्दा लगानीकर्ताले कस्तो प्रतिक्रिया जनाउँछन्, त्यसलाई हेरेर मात्र थप कुरा भन्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here