साउन २८ गते आईतबारको मध्यान्हसम्म चार वटा शेयर दलालबाट शेयर कारोबार गर्न नपाएपछि लगानीकर्ता नेप्सेको कार्यालय घेर्न पुगे ।
नेप्सेका प्रमुख कार्यकारी साउदसँग प्रश्न गर्दै लगानीकर्ता
शेयरको मूल्य बढ्दा अपराहन्ह साढे १२ बजेसम्म पनि किनबेच गर्न नपाएको आक्रोशमा ती चार वटा दलालका लगानीकर्ता नेप्सेको सिंहदरबार अगाडि पुगेर प्रमुख कार्यकारी चन्द्रसिंह साउदसँग सोधखोज गरेको भिडियो प्राप्त भएको छ ।
भिडियोमा सानो संख्यामा देखिएका लगानीकर्ताले साउदसँग अनलाईन कारोबार प्रणाली किन चलेन र लगानीकर्तालाई किनबेचबाट बंचित गरियो भनी प्रश्न गरेका छन् ।
अरु ब्रोकर चलिरहेकोमा हामी सम्बद्ध ब्रोकर किन चलेन र कारोबारबाट बंचित गराईयो भन्ने प्रश्न लगानीकर्ताहरुले गरे ? एक डेढ घण्टासम्म पनि कारोबार गर्न नपाएको भन्दै उनीहरुले कि सबै ब्रोकर बन्द गर्न वा कारोबार रद्ध् गर्न माग गरे ।
ब्रोकर नम्बर ४० र ५७ सहितका चार ब्रोकरबाट लगानीकर्ताले मध्यान्ह साढे १२ बजेसम्म कारोबार गर्न नपाएपछि नेप्सेमा आक्रोश पोखिएको थियो ।
लगानीकर्ताको घेराउपछि भने नेप्सेले चार वटै ब्रोकरबाट शेयर कारोबार चालु गरेको थियो ।
यस अघि असार १८ गते ब्रोकर नम्बर ६ का लगानीकर्ताहरुले दिनभर कारोबारबाट बंचित हुनुपरेको थियो ।
अनलाईन र ब्रोकरहरुकोमा समस्या देखिदा नेप्सेले लागु गरेको एक डिम्याट खाता, एक ब्रोकरको नयाँ नियमबाट लगानीकर्ता झन् धेरै प्रताडित हुँदै आएका छन् ।
अनलाईन कारोबार प्रणालीमा समस्या आउँदा नेप्सेले ब्रोकरलाई देखाउने र ब्रोकरले नेप्से र वाईकोलाई देखाउँने गर्दै आएकाले लगानीकर्ता मारमा परेका छन् । नेप्से आफ्नो अनलाईन प्रणाली अन्तर्राष्ट्रिस्तरको भएको र कुनै समस्या नरहेको दावी गर्छ ।