नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल सोमबारदेखी रातीमा बन्द गरिएको छ । विमानस्थलको धावनमार्गको पूर्ण रूपमा मर्मतका लागि सोमबार राती १० बजेदेखि विहान ८ बजेसम्म गरी दैनिक १० घण्टा बन्द गर्न थालिएको हो । अप्रिल १ देखि शुरु भएको धावन मार्ग मर्मतको काम जुन ३० तारिखसम्म जारी रहने विमानस्थल प्रशासनले जनाएको छ ।


मर्मतका कारण रातीमा हुने सवै उडानहरुलाई रिसेड्युल गरिएको र उडान संख्यामा खाशै नपर्ने दाबी पनि विमानस्थल प्रशासनले गरेको छ । तर केही उडानहरु भने प्रभावित हुने निश्चित रहेको छ । आन्तरिकतर्फका उडानहरु मध्ये सगरमाथा क्षेत्रका लागि हुने उडानहरु रामेछापको विमानस्थलबाट गर्न थालिएको छ । रामेछापको मन्थलीबाट दैनिक ७० उडान लुक्ला विमानस्थलका लागि हुने छ ।

हरेक राती १० बजेदेखि विहान ८ बजेसम्म चल्ने मर्मतको कामका क्रममा हरेक दिन ८० मिटर धावनमार्ग मर्मत गरिने छ । ८० मिटर धावन मार्ग पहिले जोतेर पिच गरी भोलिपल्ट विहान विमान अवतरण र उडानका लागि तयार पार्न थालिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग ३ किलोमिटर लामो छ ।

धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बरमा नागरिक उड्डयन प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेसनसँग निर्माण सम्झौता गरेको थियो । उक्त कम्पनीले साढे ३ अर्ब रुपैयाँमा विमानस्थलको धावनमार्ग मर्मत र ट्याक्सी वे निर्माण गर्ने छ ।

२०३७ सालमा बनाइएको धावनमार्ग त्यसपछि मर्मत हुन सकेको थिएन । तर धावनमार्ग पटक पटक उप्किएर उडानहरु प्रभावित हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here