तिलक कोइराला ।

साढे चार बर्षदेखिको लगातारको घटाईको क्रमबाट त्राण पाउन लगानीकर्ताहरुले धेरै जोडबल गरिरहेका छन् । अति निराशाको अवस्था अर्थात डिप्रेश मुड बाट अहिले शेयर बजार केही माथि उठेको जस्तो देखिएको छ तर पनि लगानीकर्ताहरुमा केही द्धिविधा भने बाँकी नै छन् । अर्थतन्त्रको अबस्था के होला ? तरलता सहज होला कि नहोला ? भारतीय अर्थतन्त्रमा आएको संकटको प्रभाव कस्तो पर्ला ? नेपालका सिमेन्ट, छड र ब्यापारका क्षेत्रमा देखिएको मन्दीले शेयर बजारलाई पनि छोला कि ? यस्ता चिन्ता मिश्रित जिज्ञासाहरु मनमा िलिएर लगानीकर्ताहरु बजार छिर्ने क्रम चल्दै गर्दा सबैभन्दा बढी अर्थमन्त्रीकै बिषयले लगानीकर्तालाई तानेको छ ।

गत साता देखिएको बजारमा कम्पनीहरुको शेयर कारोबारको अबस्था

सही नीति नियम, पूर्वाधार र प्रविधि नहुँदा यति लामो समयसम्म शेयर बजार अस्तब्यस्त भएको कुरामा कसैले विमति राख्छ भने कि उ अर्थमन्त्री डा. युवराज खतिवडाको अन्धभक्त हो कि शेयर बजारको अवस्थालाई सतही रुपमा मात्र बुझेको हुन्पर्छ । जब खतिवडा अर्थमन्त्रीबाट हट्दैछन् भन्ने संदेश प्रबाह हुन्छ, तब शेयर बजारका लगानीकर्ताहरुको मनोबल किन बढ्छ ? यो प्रश्नको उत्तर दिने साहस त खतिवडाका अन्धभक्तहरुले गरुन् ।

अहिले लगानीकर्तामा रहेको निराशाको बादल केही फाटेको जस्तो देखिएको छ र केही कम्पनीहरुको शेयरको मूल्य औधी रुपमा बढेकोले उत्साहको वातावरण क्रमशः बन्दै गईरहेको छ । हिमालयन डिष्टिलरी रर साल्ट ट्रेडिड. कम्पनीको शेयर मूल्य मात्रै बढ्यो भनेर गुनासो गर्नेहरुलाई बजारले जवाफ दियो र माईक्रोहरुको पनि मूल्य बढाईदियो । बीमा वालाहरुको निराशाको बादल पनि अहिले ह्वात्तै फाटेको छ तर बैंक तथा बित्तीय संस्थाको शेयरमा लगानी गर्नेहरु अझै धेरै आशावादी बनिसकेका छैनन् । लगातारको बढ्दो कारोबार रकमले निकट भबिष्यमा बैंकहरुको शेयरमा पनि खरिद चाप पर्न सक्ला वा बिषयान्तर होला अहिले नै भन्न सकिन्न । लगातारको बढाई कति दीगो होला र यसले शेयर बजारमा कति धेरै लगानी फर्किन्छ भन्ने कुराले ठूला कम्पनीका शेयर आपुर्तिमा चाप पार्ने वा नपार्ने कुरा निश्चित गर्दछ ।

शेयर बजारमा शेयरको मूल्य बढोस वा घटोस् भन्ने कुरा सरकार र अर्थमन्त्रीका लागि त्यति महत्वको कुरा हुनु हुँदैन । मुख्य कुरा त नीति, नियम, पुर्वाधार र प्रविधि कति उन्नत खालको बनाईएको छ भन्ने कुराले बजारलाई निर्धाृरित गर्दछ । गत असारसम्ममा गरिसक्नुपर्ने नीतिगत, पुर्वाधारगत र प्रविधिगत कामहरुलाई वेवास्ता गरेर बस्ने अर्थमन्त्री खतिवडा र उहाँका भक्तहरुलाई कसले हो पाठ पढाउने ?

खतिवडाका केही समर्थकहरु आज दुई प्रतिशत लाभांश घोषणा गर्ने, प्रति शेयर आम्दानी नै ३५ रुपैयाँ घाटामा रहेको कम्पनीको शेयर मूल्य कसरी ६०० रुपैयाँ नाघ्यो भनेर प्रश्न गर्दैछन् । झण्डै ७०० रुपैयाँ शेयर मूल्य पुगेको शिवम सिमेन्टको शेयर किन्नेले केही महिनामै कसरी ५० प्रतिशत भन्दा बढी लगानी गुमाए ? भनेर लाजै नमानी प्रश्न गर्दैछन् । कहिल्यै बित्तीय विवरण प्रकाशन नगर्ने, सर्बसाधारणलाई आबश्यक जानकारी नदिने सरकारी कम्पनीको शेयर मूल्य कसरी १५०० भन्दा माथि पुग्यो भनेर आश्चर्य ब्यक्त गर्दैछन् । अनि उनीहरु नै बाणिज्य बैंकको शेयर मूल्य किन सबैभन्दा सस्तो भयो भनेर चिन्ता पनि जाहेर गर्दैछन् र हाईड्रोको आईपीओ नबिकेकोमा गोहीको आँसु पनि झार्दैछन् । २०४२ सालमै शेयर बजारसम्बन्धी पुस्तक लेखेका अर्थमन्त्री खतिवडालाई थाहा भएकै हुनुपर्छ, शेयर बजार माग र आपुर्तिको नियममा चल्छ र विभिन्न कुराले लगानीकर्ताको मनोवलमा असर पार्दछ । तर बजारमा हुने अनाबश्यक चलखेल र सर्बसाधारण लगानीकर्तालाई जोखिममा पार्ने कुराहरुमा नियम बनाएर रोक लगाउँन सकिन्छ । बजारिया चिन्ता गरेर गोहीको आँसु बगाउनुको कुनै अर्थ छैन ।

पूँजीबजार सम्बन्धी कुराहरुमा मात्रै ध्यान दिने फुर्सत मलाई छैन भन्दै दिनमै १० ठाउँमा भाषण गर्न पुग्ने खतिवडालाई बजार निर्माता ल्याएर पूँजी बजार बिकासको आधार खडा गर्न के ले रोक्यो ? धितोपत्र बोर्डले पठाएका पाँच वटा निमायवलीलाई अर्थमन्त्रालयको टेवलबाटै स्वीकृत गर्न किन आईतबार पर्खनु पर्यो ? आईपीओ र एफपीओ बिक्रीमा बुक बिल्डिड. प्रणाली ल्याउन किन अघेृल्याई गरिरहनु परेको हो ? नेप्सको पुर्नसंरचना गरी सरकारी लगानीलाई बिनिबेश गर्न कस्ले बाधा सिर्जना गर्यो ? बैंक, बीमा, जलविद्युतबाहेकका कम्पनीहरुको पनि प्रत्यक्ष नियमनकारी निकाय खडा गरेर शेयर बजारलाई अझै विस्वसनीय र दरिलो बनाउँन किन नाई नाई भन्नु पर्यो ? अर्थसमितिमा बखेडा सिर्जना गरेर बैंकलाई ब्रोकर लाईसेन्स वितरण रोक्न किन पर्यो ? अर्थमन्त्रीको कुर्सीमा बसेर शेयरमा भारित औसत लागत गणनाका लागि आफ्नै उपसचिव उत्तरकुमार खत्रीले पेश गरेको प्रतिबेदन सदर गरी लगानीकर्तालाई राहत दिन तत्काल सकिने कुरालाई किन पन्छाईयो ? नेप्सेले असुलिरहेको २० प्रतिशत कमिशनबाट१५ प्रतिशत घटाईदिएर र धितोपत्र बोर्डले लिने कमिशनलाई खारेज गरेर तत्काल लगानीकर्तालाई राहत दिनसकिने संभावना रहेकोमा खतिवडाका भक्तहरुलाई यसो गर्न किन मन नपरेको हो ? गैर आवासीय नेपाली र विदेशी संस्थागत लगानीकर्तालाई शेयर बजारमा प्रत्यक्ष रुपमा लगानी गर्नसक्ने गरी नीति, नियम, पूर्वाधार र प्रविधि बन्दोबस्त किन नगरेको ? सरकारी बैंकबाट दुई अर्ब रकम जोहो गरी शेयर दलाललाई उपलब्ध गराएर १० प्रतिशत ब्याज दरमा लगानीकर्तामार्फत मार्जिन ट्रेडिड. गराउँन सकिने संभावनालाई किन पन्छाईएको छ ? यस्ता धेरै कुराहरु छन्, जसको समाधान खतिवडाको अर्थमन्त्रीबाट बहिर्गमनपछि मात्र संभव छ । हैन, भने चुनौति नै भयो, खतिवडाका भक्तहरुले यी काम गरेर देखाउँन् ।

यी सारा बिषयहरु छदाँछदै पनि लगानीकर्ताको मनोबल क्रमशः बलियो बन्दै गएको छ र आउने माघ ९ गतेको निर्वाचनले खतिवडाको सांसद पद चैट पार्ने आशाका बीच लगानीकर्ताहरु बजार प्रबेश गर्न उत्साहित हुँदैछन् । कतिपयमा अहिलेको शेयरको मूल्य बढाई स्थायी हो कि हैन, फेरि घटाईको चक्र पो चल्ने हो कि भन्ने आशंकाहरु रहिरहेका देखिन्छ । शेयर बजारमा घटबढ् भई रहन्छ । फाईदा भएकाले बेच्ने र किन्न चाहनेले किन्ने क्रमको निरन्तरता नै शेयर बजार हो । नेप्से कतिले बढ्ला, अब बजार कता जाला भन्ने बेकारको चिन्ता गर्न छाडी आफुले कस्ता कम्पनीको शेयर किन धारण गर्ने र कसरी बजारबाट फाईदा लिने भन्नेमा मात्र ध्यान दिन अति जरुरी छ । नेप्से ११ अंकले एकैदिन बढ्दा पनि बाणिज्य बैंक लगायत कयौं कम्पनीको शेयर मूल्य उल्टो घटिरहेको देखिएको हो भने नेप्सेको पछि कुद्नु बेकार हो भन्ने चेत आउँनै पर्छ । नेप्से बढ्यो वा घट्यो भन्ने हेरेर शेयर किनबेच गर्नु भनेको आशातिर रहेको टावर तिर हेरेर मज्जा लिदै गर्दा पछाडिबाट पाकेटमारले गोजीको पैसा चोरिरहेको थाहा नपाउनु जस्तै हो ।

यकिन गरेर भन्न सकिने कुरा हो कि शेयर बजार डिप्रेश मुडबाट माथि उठिसकेको छ । बाँकी रहेका आशंकाहरु समाप्त हुने बित्तिकै बजारले अर्को चरणमा प्रबेश गर्नसक्छ तर लगानीकर्ताले हेर्ने आफुले धारण गरेको शेयरमै हो । आफ्नै पोर्टफोलियोमा हो ।लगानीकर्ताले सम्पूर्ण बजार र नेप्सेको ठेक्का लिन छाड्नैपर्छ ।

शेयर बजारको सूचक नेप्से ७० अंकले माथि आईसक्दा पनि मंसिर २७ गते एक लगानीकर्ताले भन्दै गरेको कुरा गंभीर छ । ३६०० रुपैयाँ प्रतिकित्ताको दरले १००० कित्ता शिखर ईन्स्योरेन्स किनेकोमा अझै १८ लाख घाटा रहेको उनको भनाईले विगतमा घाटा खाएकाहरुको घाउमा खाटा समेत बस्न सकेको छैन भन्ने प्रष्ट हुन्छ । यद्यपी आशाबादी भएर शेयर बजारका राम्रा तर सस्ता कम्पनीहरुमा लगानी बढाउने समय घर्किसकेको छैन । शेयर बजार जोखिमको क्षेत्र हो । यहाँ पाईला पाईलामा जोखिम छ भनेर बुझि संभावनाहरुलाई आफ््नो पक्षमा पार्न सक्नेले नै जित्छ ।

नीति, नियम, पूर्वाधार र प्रविधिमा सुधार भए शेयर बजारले फड्को मार्नसंक्ने धेरै संभावना छ । विश्वका अरु शेयर बजारको तुलनामा नेपालका कम्पनीहरुकोे शेयर निकै सस्तो छ र भबिष्यमा मूल्य बढ्नसक्ने संभावना पनि धेरै छ तर लाभांशमा आधारित रहि लगानी विविधिकरण गर्न भने चुक्नुहुन्न । यसै आधारमा भन्न सकिन्छ अझै किन द्धिबिधा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here