शेयर बजारमा खरिद चाप आएर मुल्य बढ्ने क्रम चलिरहँदा कतै ब्रोकरमा रहेको तपाईको कारोबार खाता निस्क्रिय त छैन ? यदि खाता निस्क्रिय अबस्थामा रहेको भए तत्कालै सस्क्रिय गराएर कारोबार सिमा अर्थात लिमिट समेत लिनुहोस्, नत्र चाहेको बेलामा किनबेच गर्नबाट बंचित बन्नुपर्ला ।

नेपाल स्टक एक्सचेन्जले अनलाईन कारोबार प्रणालीमा केही परिवर्तनहरु गरेकोमा गत सोमबारदेखि कारोबार खोल्दा अधिकांश लगानीकर्ताहरुको कारोबार खाता निस्क्रिय बनेको थियो । थपिएका फिचरहरुमा आबश्यक विवरण नभरिनु र ब्रोकरबाट लिनुपर्ने कारोबार सिमा र प्रति कारोबार रकम र शेयर संख्या समेत उल्लेख नहुँदा अधिकांश अनलाईन लगानकिर्ताको हितग्राही खाता निस्क्रिय बनेका हुन् ।

नेप्से र ब्रोकरले लगानीकर्तालाई बेलैमा जानकारी नगराउँदा कयौंले हण्डर पाउनुका साथै कारोबारबाट बंचित हुनु परेको छ ।

प्रत्येक अनलाईन प्रयोगकर्ताले अनलाईन र अफलाईन दुबै कारोबार गर्नुअघि कारोबार खाता सक्रिय गराउनुपर्ने हुन्छ । त्यसमाथि एउटै हितग्राही खाता एक भन्दा बढी ब्रोकरकोमा आबद्ध भएको अबस्थामा पनि खाता निस्क्रिय भएको हुनसक्छ । यसरी दोहोरो विवरणमा समाबेश भएका हितग्राही खाता कुनै एक ब्रोकरमा मात्र आबद्ध गरेपछि कारोबार गर्ने अनुमति प्राप्त हुने गरी नेप्सेले नयाँ नियम लगाएको छ । यसले पनि कयौं लगानीकर्ताहरु किनबेच गर्नबाट बंचित बनेका छन् । एक हितग्राही खाताबाट बहु ब्रोकरमार्फत कारोबार गर्न मिल्ने गरी झन् धेरै सुविधा दिनुपर्नेमा लगानीकर्ताको अधिकारमाथि अंकुश लगाईएको छ ।

अनलाईन वा अफलाईनबाट शेयर बिक्री गर्दा अनिबार्य रुपमा हितग्राही खाता जाँच हुने र शेयर नभएको अबस्थामा बिक्री आदेश प्रबिष्ट नहुने भएकाले बजारमा आपुर्ति कम भएको छ भने क्लोज आउटको समस्या पनि हल भएको छ तर अधिकांश लगानीकर्ताहरु कारोबारबाट बंचित रहेको अबस्था हटेपछि के हुन्छ भन्न गाह्रो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here