तीन महिनापछि नियमित कारोबार हुने गरी खुलेको शेयर बजारमा लगानीकर्ताको मनोबल बलियो बन्दै गरेको प्रमाणित गरेको छ ।

असार १५ गते बिहान ११ बजे खुलेको बजारमा आपुर्ति पक्ष हावी हुँदै गएर प्रायः सबै कम्पनीहरुको शेयर मूल्य उच्च रुपमा घटी ११ बजेर ४० मिनेटमा पहिलो सर्किट ब्रेक लगाएर २० मिनेट कारोबार बन्द गर्नु पर्यो । त्यसपछि खुलेको बजारमा शेयर मूल्य घट्ने क्रम रोकिएर माग पक्ष बलियो बन्दै गयो । शुरुमा १० प्रतिशतले मुल्य घटेका कम्पनीहरुको शेयर मूल्य कारोबारको अन्तिममा उल्टै १० प्रतिशतले बढेका छन् ।

ठूलो गिरावट आउने आशंकाका बीच खुलेको शेयर बजारमा चार वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्नु र अरु समेत गरी १६ वटा कम्पनीहरुको मूल्य बढ्नुले राम्रो संदेश दिएको छ । नेपाल इृन्भेष्टमेन्ट बैंक बाहेक सबै बाणिज्य बैंकहरुमा बिक्री चाप देखिएको थियो भने उत्पादनमुलक र अन्य बर्गका कम्पनीहरुको शेयरमा खरिद चाप देखा परेको छ । केही बीमा कम्पनीहरुको शेयरमा समेत लगानीकर्ताले आकर्षण देखाएका छन् ।

पहिलो दिन कारोबार खुल्दा अधिकाँश लगानकिर्ताहरुको अनलाईन कारोबार खाता अद्यावधिक नभएको र लिमिट लिन नमिलेकाले उनीहरुले आफुहरु शेयर किन्नबाट बंचित रहेको गुनासो गरेका छन् । शेयरको मूल्य घटेर तल्लो विन्दुमा आउँदा समेत किन्न नपाएकोमा कयौं लगानीकर्ताहरु खिन्न देखिए । बजार सुधार तथा बिस्तारका लागि चालिएका कदमहरुको सकारात्मक प्रभाव लगानीकर्ताहरुमा परेको पाईएको छ ।

धितोपत्र बोर्डको निर्देशनमा डिस्प्ले बन्द रहेकाले अधिकांश ब्रोकर कार्यालयहरुमा कर्मचारी मात्र थिए भने लगानीकर्ताहरुले घरैमा बसेर आफैले अनलाईन कारोबार गरेको देखियो । नेप्सेको कारोबार प्रणालीमा भएका परिवर्तनहरु ब्रोकर तथा लगानीकर्ताहरुलाई अघिल्लै दिनमा जानकारी दिन सकिएको भए धेरै उत्साहपूर्ण अबस्था देखिने थियो ।

हितग्राही खातामा भएको शेयर मात्र अनलाईन र अफलाईनबाट बेच्न सकिने ब्यवस्थाको प्रभाव बजारमा परेको देखियो । तर लगानीकर्ताहरुले पैसा पठाएर लिमिट लिनका लागि अनुरोध गरे पनि प्रणालीमा समस्याका कारण ब्रोकरहरुले लिमिट दिनै सकेनन् । अधिकांश लगानीकर्ताको अनलाईन कारोबार खाता निस्क्रिय अवस्थामा थिए ।

नेप्से वेवसाईटका अनुसार एक सय ३० वटा कम्पनीहरुको शेयर किनबेच भएको बजारमा नेप्से सूचक १२.८७ अंकले गिरावट आई ११८८.७० विन्दुमा बजार बन्द भएको छ । ३४ करोड ७७ लाख रुपैयाँको कारोबार भएको देखाईए पनि यसमा केही प्राविधिक गडबडीको आशंका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here