तिलक कोइराला ।

तीन महिना लामो लकडाउनपछि शेयर बजार आजदेखि नियमित संचालनमा आएको छ ।

कोरोना संक्रमण र लकडाउनले कम्पनीहरुको अबस्थामा पारेको प्रभावले लगानीकर्तामा विकास भएको मनोबिज्ञानको आज बजार खुलेसँगै परीक्षण हुनेछ । बजारले कुन दिशा लेला भनी पुर्वानुमान गर्नु एकदम गाह्रो र संभवै नहुने काम भए पनि केही पृष्ठभुमिलाई आधार मानेर विश्लेषण गर्न सकिन्छ तर भरपर्दो हुँदैन ।

सुधार तथा बिकासका कामहरुले शेयर बजारका अल्पकालीन लगानीकर्तालाई तान्ने वातावरण बनेको छ तर खेलाडीहरुले कस्ता कम्पनीको शेयरमा खेल्छन् भन्ने कुरा सर्वाधिक चासोमा परेको छ । बजारमा आपुर्ति अधिक रहेका कम्पनीहरुमा खरिद चाप आउन समय लाग्ने प्रारम्भिक संकेतहरु देखिएका छन् तर आपुर्ति कम भएका शेयरहरुमा खेलाडीहरुको आँखा पर्नसक्ने संभावना बलियो छ ।

साना कम्पनीहरुका शेयर सकेसम्म उठाएर एउटा विन्दुुमा पर्याएपछि खेलाडीहरुले कम्पनी फेरी फेरी बजारलाई चलायमान बनाउने संभावना छ । त्यसो हुँदा बाणिज्य बैंक लगायतका धेरै शेयर आपुर्ति रहेका कम्पनीहरुको मूल्य चलायमान हुने पालो पछि नैै आउनसक्छ ।

ब्रोकरहरुमा शेयर किनिएको पैसा बुझाउँन बाँकी रहेकाहरुलाई शेयर बिक्रीको दबाब पर्दा शुरुमा बिक्री चाप नै अधिक देखिनसक्छ तर घाटामा शेयर बेचेर पछुताउने अबस्था आउँन नदिन लगानीकर्ताहरुले धैर्यता राख्नु एकदम जरुरी छ । असार मसान्तको ब्याज बुझाउनु पर्ने चिन्ताबाट ग्रसित भएर अहिले हतारको निर्णय गर्नबाट बचेमा लाभ हुन पनि सक्छ ।

शेयर बजार सुधार तथा बिस्तार हुँदै गरेको, तरलता पर्याप्त रहेको, लगानीको अन्य क्षेत्र नरहेको, छोटो समयमा लाभ गरी अन्तिम करको सुविधा समेत लिएर आयलाई बैध बनाउान सकिने क्षेत्र शेयर बजार नै भएको, कम्पनीहरुको शेयर मूल्य निकै तल आएको, राजनीतिक वातावरण समेत अनुकुल हुने संभावना बढेकाले शेयर बजारमा एक, दुई दिनको गिरावटपछि खरिद चाप बढेर जानसक्छ ।

लकडाउनको बीचमा केही लगानीकर्ता र कारोबारीहरुले खरिदका लागि रकम जोहो गरेर बसेकाले उनीहरुले सस्तो दरमा पूँजीगत लाभ हुने गरी ठूलो परिमाणमा शेयर उठाउँनसक्छन् । बजार चल्दै गर्दा नागरिक स्टक डिलर र अरु संस्थागत लगानीकर्ताले पनि शेयर उठाउने खबर बाहिरियो भने लगानीकर्ताको मनोबल अकस्मात बलियो बन्ने संभावना पनि उत्तिकै छ । आफुले सस्तोमा बेचेको शेयर हेर्दाहेदै आकासिएर फेरि महंगोमा किन्नुपर्ने अबस्था पनि नआउला भन्न सकिन्न, यस्तो कार्यलाई भने मुर्खतापूर्ण भन्नैपर्छ ।

शेयर बजार जोखिमको क्षेत्र भएकाले आफ्नै अध्ययन, विश्लेषण र जोखिमबहनको अबस्था हेरी बृद्धिमत्तापूर्ण र विविधिकरण गरी लगानी गर्नु एकदम आबश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here