लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएको शेयर कारोबारमा लाग्ने पाँच प्रतिशत पूँजीगत लाभकरलाई अन्तिम घोषणा गर्न गरेको माग पुरा भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार पाँच प्रतिशत लाभकर अन्तिम कर भएको भनी आन्तरिक राजश्व विभागले मातहतका कर कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।

ढुंगानाले भन्नुभयो- “आन्तरिक राजश्व विभागले मातहतका कार्यालयहरुलाई गरेको परिपत्र हामीलाई पनि प्राप्त भएको छ र त्यसलाई वेवसाईटमा राख्दैछौ ।”

नागरिक स्टक डिलरलाई तत्काल स्वीकृति पाउन धितोपत्र बोर्डमा निबेदन पेश गर्न अर्थ मन्त्रालयले निर्देशन दिईसकेको छ ।

धितोपत्र बोर्डले पाँच प्रतिशत लाभकरलाई अन्तिम घोषणा गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो भने शेयर धितो कर्जाको सिमा ६५ बाट ७५ र ब्याज तिर्ने समय सार्ने लगायतका काम गरिदिन राष्ट्र बैंकलाई सिफारिस गरेको थियो । त्यसैगरी बैंक र हितग्राही खाता ईन्टिगे्रट गर्न र शेयर कारोबार, त्यसको भुक्तानी र राफसाफलगायतका सबै कामहरु अनलाईन मार्फत हुने ब्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिएको थियो । शेयर बजारमा संस्थागत लगानीकर्ताको हस्तक्षेप बढाउँन नागरिक स्टक डिलरलाई तत्काल निवेदन पेश गरी स्वीकृति लिन पनि धितोपत्र बोर्डले पत्र पठाएको थियो ।

माथि उल्लेखित कामहरु हुदै गरेकोले धितोपत्र बोर्डको संचालक समितिको बैठक आईतबार बसी शेयर बजार पुनः संचालन गर्ने बारेमा छलफल हुने भएको छ ।

धितोपत्र बोर्डले राष्ट्र बैंक र नेप्सेबाट हुनुपर्ने काम पनि चाँडै हो् भन्ने अपेक्षा गरेको छ ।

देशमा कोरोना संक्रमण बढिरहेको बेला फेरि कडा खालको लकडाउन हुनसक्ने आशंकाका बीच शेयर बजार खोल्दा काबु बाहिरको अबस्था उत्पन्न भई तेस्रोपल्ट बन्द गर्नु नपरोस भन्ने हेक्का राखी बोर्डले जिम्मेवारीका साथ तयारी अगाडि बढाएको पाईएको छ ।

शेयर लगानीकर्ता दबाब समूह लगायतले लगानीकर्तालाई राहत प्याकेजका साथ महत्वपूर्ण सुधारका काम गरी उत्साहित पार्ने गरी एक साताको तयारी समय दिएर शेयर बजार खोल्नुपर्ने माग गर्दै आएका छन् । २५ बुँदे माग पत्रमा पूर्व तयारी नगरी बजार खोलिएमा अनशन बस्ने चेतावनी पनि दिईएको छ ।

केही स्वार्थ समूहहरु भने कुनै राहत र पूर्व तयारी नचाहिने भन्दै आतंक सिर्जना गरिरहेका छन् । उनीहरु तत्कालै बजार खोलेर किनबेच थालिहाल्नुपर्ने तर्क गर्छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here