शेयर लगानी विश्लेषण ।

लामो घटाईको मार सहेका लगानीकर्ताहरुलाई हर्षित तुल्याउने गरी शेयर बजारमा  धेरै राम्रो सुधार हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ । यसो हुँदा पनि केही प्रबृत्तिहरु भने विवेचनायुक्त देखिन्छन् । शेयर बजारका लगानीकर्तामा नेप्से सूचक बढ्यो भन्दै उचालिएर शेयर किन्न कुद्ने र नेप्से सूचक घट्यो भन्दै हतासिएर बेच्दै भाग्ने पुरानै रोग हो । यो रोग कहिल्यै शेयर बजार नछिरेकामा पनि सर्नसक्छ । बेलैमा सावधानी नपनाए यसले सबैलाई क्षति गर्छ ।

शेयर बजारको सूचक नेप्से औधीसँग बढेको बेलामा पनि राम्रा तर तुलनात्मक रुपमा सस्ता शेयर मूल्य भएका कम्पनीको भाउ घटिरहेको पनि हुनसक्छ भने डरलाग्दो किसिमिले सूचक ओरालो लागेर लगानीकर्ताहरुको भागाभाग भईरहेको बेला राम्रा कम्पनीको शेयरको भाऊ खासै नघटेको पनि हुनसक्छ ।

बजारमा यस्ता अचम्मका प्रबृत्तिहरु देखिन्छन्, जुन आईतबारको बजारमा पनि देखियो । शेयर बजारमा रहेका कम्पनी मध्ये लाभांशले नधान्ने, मूल्य आम्दानी अनुपात उच्च रहेका कम्पनीहरुको मूल्य बुर्कुसी मारेर उक्लिदा तुलनात्मक लाभका कतिपय कम्पनीहरुको मूल्य उल्टै घटिरहेको थियो ।

नेप्से धेरै बढ्यो भने उचालिईरहेका कतिपय लगानीकर्ताले आफ्नो कुनै कम्पनीको शेयरको मूल्य वा सबै शेयरको जम्मा मूल्य हेरे भने उल्टो घटिरहेको थाहा पाउने छन् । यस्तो अबस्थामा ती लगानीकर्ताले नेप्से बढ्यो भन्दै हर्ष बढाइँ गर्नुको के अर्थ ?

शेयर बजारमा शेयरको सूचक बढ्दा वा घट्दा त्यसले मनोबैज्ञानिक असर त पार्छ नै, यस्तो बेलामा विवेकपूर्ण निर्णय लिनसक्ने भने कमै हुन्छन् । जसले विवेकपूर्ण निर्णय लिनसक्छ, उसले नै बजारबाट फाईदा लिने हो ।

बजार बढ्दा पनि मेरो राम्रो शेयरको भाउ बढेन भन्ने हो भने नआँत्तिनुस, तपाइँले लाभांशमा आधारित लगानी गर्नु भएको थियो र लाभांशले धान्ने छ । एक दिन तपाइँको शेयरको भाउ पनि अबश्य बढ्ने छ । राम्रो कम्पनीको शेयरको भाउ बढेन भन्दै कमजोर कम्पनी तिर हात हाल्न लाग्नु भयो भने फेरि फस्ने संभावना हुन्छ ।

शेयर बजार बढ्यो भन्दै हुलका हुल नयाँ लगानीकर्ताहरु अब बजार छिरे भने त्यसले बजारलाई नयाँ उचाई दिने नै छ । त्यस्ता लगानीर्ताहरु पनि मूल्य उचालिएका र खराब कम्पनीमा नफसुन नै भन्नुपर्छ तर सबैको ठेक्का भने कसैले लिन सक्दैन ।

शेयर बजार बढ्न थाल्दा खेलाडीहरु सक्रिय हुन्छन् र करोडौ रुपैयाँ लगानी गरेर कुनै शेयरको भाउमा खेल्छन् । उनीहरुले जहाँ हान्दा बढी उफ्रिन्छ, त्यँही हान्ने हो । यस्तो बेलामा सामान्इ लगानीकर्ताहरु कुरो बुझ्दैनन र चाल चाल्न पनि सक्दैनन्, कहाँ गएर फस्छन् भन्न सकिन्न ।

शेयरको मूल्य कति बढ्ला भन्ने आधारमा हैन, लाभांशको आधारमा दीर्घकालीन लगानी गरेमा , बजार घटोस वा बढोस चिन्ताको कुनै वात छैन तर शेयरको मूल्य बढाइमा मात्रै आधारित भएर गरिने लगानी जोखिमको ठूलो भारी नै ।

नेप्से कतिले बढ्ला र बढेर कहाँ पुग्ला त्यो शेयर बजारका ज्योतिषहरुलाई नै हिसाब गर्न छाडिदिनुस, तपाइँको लगानीसँग नेप्से सूचक र ती ज्योतिषहरुको कुनै लिनुदिनु छैन ।

आफुले धारण गरेको शेयरको भाउ अचाक्ली बढेको छ र परल मूल्य भन्दा ४०- ५० प्रतिशत बढीमा फाईदामा हुनुहुन्छ भने त्यसलाई बेचेर कम मूल्य बढेका, सस्ता तर राम्रा कम्पनीमा लगानी सार्न सक्नुहुन्छ । यस्तो बेलामा याद राख्नुपर्ने कुरा हो कि शेयरको भाउ सधैं बढिरहने छैन र सधै घटि पनि रहँदैन, घटाई र बढाईको बीचमा नै लगानीकर्ताले आफ्नो सुरक्षाको विन्दु खोज्ने हो ।

राम्रा कम्पनी छन्, परल मूल्य भन्दा धेरै फाईदा छ र शेयर बेचेर तत्कालको फाईदा लिने विचारमा हुनुहुन्न भने नबेचेरै राख्दा पनि हुन्छ । शेयर बजारका कयौं लगानीकर्ता यस्ता छन्, जो जिन्दगीभरि शेयर बेच्ने कुुरै गर्दैनन्, सकेसम्म किन्छन् मात्रै । घटाईमा पनि जोखिमबहन गर्ने क्षमता भएकाहरुलाई दिनदिनै हुने घटाई बढाईको कुनै असर हुँदैन । तर त्यतिसम्म त नभएकै राम्रो । मौकाको फाईदा लिन सकिएन भने शेयर बजारबाट सधै कमाईन्छ भन्ने छैन ।

शेयर बजार बढेको बेला होस् वा घटेको बेला नै किन नहोस्, खराब, संस्थागत सुशासन नभएका र मूल्य उचालिएका कम्पनीमा फस्दै नफस्नु, नत्र कहिल्यै नखाएको गोता खानुपर्छ । राम्रा कम्पनीको सस्ता शेयरमा लाभांशको आधारमा लगानी गर्नेले कहिल्यै गुमाउँदैन तर खराब कम्पनीमा लगानी गर्नेहरु मध्ये धेरैले गुमाउने संभावना अधिक हुन्छ । नेप्से कतिले बढ्यो भन्ने कुरामा बढी ध्यान दिने भन्दा पनि आफुले कस्ता कम्पनीको शेयर धारण गर्ने हो वा गरेको छु र त्यसमा प्रतिफलको अबस्था कस्तो छ भनेर जोखिरहनु आबश्यक छ । मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा बढी भएका, लाभांश नदिने, संस्थागत सुशासन नभएका कम्पनीहरुमा लगानी गर्नबाट जहिल्यै पनि हच्किनु नै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here