-तिलक कोइराला ।

पहिलेको नेकपा माओबादी केन्द्र र नेकपा एमाले अनि अहिलेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका बहुसंख्यक माथिल्ला तहका नेताहरु केही समय अघिसम्म शेयर बजारलाई धारे हात लगाउँदै सकेसम्म कस्नु पर्ने र यहाँबाट लगानीकर्ताहरुलाई भगाउनु पर्ने अभिब्यक्ति दिने गर्दथे । शेयर बजारलाई कागजी खेल र गफाडीको अखडा भन्नेहरुको बोलबाला सत्ताधारी नेकपा भित्र थियो । स्वयं अर्थमन्त्री डा. युवराज खतिवडा नै शेयर बजारलाई सकेसम्म कस्नुपर्ने र यहाँबाट लगानीकर्तालाई भगाउनु पर्ने विचारको नेतृत्वकर्ता थिए । उनले यसै उद्देश्य अनुरुप धितोपत्र बोर्डकै कार्यक्रम मार्फत पूँजी बजार बिरोधी र लगानीकर्तालाई हदैसम्म निराश पार्ने भाषण मात्रै गरेनन्, आफुले एक कित्ता पनि शेयर नकिनेको प्रमाणसहितको सम्पति बिबरण सार्वजनिक गरेर असली नियत पनि देखाए ।

पूँजी बजारलाई सकेसम्म कस्ने रणनीति अन्तर्गत घाटामा समेत लाभकर तिर्नुपर्ने, पूँजीगत लाभकर ५० प्रतिशत बढाउने, शेयर किन्दा मात्र अनिबार्य रुपमा प्यान कार्ड लिएको हुनुपर्ने जस्ता अनेक खाले पूँजी बजार बिरोधी नीतिहरु खतिवडाको अर्थ मन्त्रालयले सार्वजनिक गरयो । पूँजी बजारलाई सकेसम्म कस्नुपर्ने भन्ने उनको बहकाउमा प्रधानमन्त्री केपी ओली मात्रै हैन, नेकपाका धेरै नेताहरु परे । ओली र नेकपाले जे गर्छन खतिवडाले नै गर्छन भन्दै पूँजी बजार र अर्थतन्त्रसम्बन्धी सबै नीति निर्माणको काम खतिवडाकै काँधमा हालिदिए । अर्थतन्त्र र पूँजी बजारसम्बन्धी कुनै कुरा आउनासाथ खतिवडालाई नै देखाएर आफु पन्छिने रोग प्रधानमन्त्री ओली र नेकपाका हरेक नेतामा देखियो ।

डाक्टर उपाधि पाएका खतिवडाले प्रधानमन्त्री ओलीदेखि नेकपाका हरेक नेताको दिमाग भुटेका थिए कि पूँजी बजारमा १०, १२ जना माफियाको लगानी छ, उनीहरुलाई भगाउँनै पर्छ । आईपीओ बिकिहाल्छ, शेयरको मूल्य त १०० रुपैयाँ हो, त्यो भन्दा बढी त खेल गरेर बढाईएको हो भन्ने सरकारी धारणा जो बनाईयो, त्यसै अनुरुप नीतिहरु लागु गर्न खोजियो । संगति नमिलेका कुरा गरेर खतिवडा र उनको मण्डलीले धेरैलाई शेयर बजारबाट भगाउँन पनि सफल भएकै हो । तर उनले अन्ततः लगानीकर्ताको प्रतिरोधको सामना गर्न सकेनन् । लगानीकर्ताले आन्दोलन शुरु गरेपछि घाटामा पनि पूँजीगत लाभकर तिर्नुपर्ने कुरा फिर्ता लिन बाध्य मात्रै भएनन् हतारमा अध्ययन समिति गठन गरेर चार कदम पछि हट्न बाध्य पनि भए । पूँजी बजार बिरोधी आफ्ना रणनीतिहरु फेल खाएको कुरा सकार्न ओली सरकारले हिम्मत भने गरेन । चुनाव अघि पूजी बजारका बारेमा ऊफ्री उफ्री भाषण गर्ने ओली खतिवडाको बहकाउमा परेर पछि चुपचाप बसिरहे तर आफ्नो हिजोको भाषणले नेकपा एमालेका कति कार्यकर्ता फसेका थिए भन्ने हिसाब अझै उनले नगरेको हुनसक्छ ।

अहिले परिस्थिति यसरी बदलिएको छ कि हिजो शेयर बजारतिर फर्केर धारे हात लगाउने ओली र खतिवडाहरु अब शेयर बजारमा शेयरको मूल्य बढोस भन्ने पुकारा गर्न थालेका छन् । मानौ नेपालको शेयर बजारमा शेयरको मूल्य घटेको चिन्ता कसैलाई छ भने ओली र खतिवडालाई मात्रै छ । यो हुनुको मुख्य कारण भनेको उनीहरुले आफ्नो उपलब्धिको बिबरण पस्कदा पूँजी बजारको पूँ समेत उच्चारण गर्न नपाउनुको पीडा हो । ओलीले आफ्नो सरकारको एक बर्षे कार्यकालको बखान गर्दा अर्थतन्त्रको ऐना अर्थात पूँजी बजारको बारेमा एक शब्द समेत उल्लेख गर्न नपाउँदा कति पीडा महसुस गर्नु परेको होला ? उनले देखाउने नेप्से सरकार बने यता ३०० अंक भन्दा बढीले तल गएको थियो र समग्र बजार पूँजीकरण कम्तिमा ३ खर्ब घाटामा थियो । यसलाई कसरी उपलब्धि भनेर देखाउनु ? उनका बिस्वासिला अर्थमन्त्री खतिवडालाई पनि ओलीको भाषणा लेख्दा पूँजी बजारमा आएको गिरावटलाई कसरी लुकाउँने भनेर आपत् परेकै थियो होला ।

सरकारले धेरै हल्ला खल्ला गर्दै तयारी शुरु गरेको लगानी सम्मेलन आउँन केही दिन मात्रै बाँकी रहँदा अब कम्युनिष्ट सरकारलाई पूँजी बजार बढेको अन्तर्राष्ट्रिय समुदायलाई देखाएर बिदेशी लगानी तान्नुपर्ने बाध्यता आई लागेको छ । यहाँ लगानी मैत्री वातारण छ भन्ने देखाउँन रातारात ऐन कानुनहरुमा संशोधनको प्रयास हुँदैछ । पहिले पूँजी बजारको सुधार र बिकास शेयर बजारका लगानीकर्तालाई चाहिएको थियो भने अब यिनीहरुलाई चाहिएको छ । यिनीहरुको दिमागमा पूँजी बजारको सुधार र बिकास भनेको शेयरको मूल्य बढ्नु, नेप्से बढ्नु र अंक देखाएर यति प्रगति भयो भन्नु हो । पूँजी बजारमा देखिएको लगातारको गिरावट र निराशाको वातावरणले अर्थमन्त्री खतिवडाकै पद धरापमा पर्न थाल्दा बल्ल यिनलाई पूँजी बजारको महत्व ज्ञात हुन आए जस्तो छ । आफ्ना ज्वाई सल्लाहकार रामशरण खरेलले हजार कोशिश गर्दा समेत शेयरको मूल्य नबढेपछि खतिवडा आफै अघि सरेर लगानीकर्तालाई शेयर किन भन्ने आब्हान गर्न थालेका छन् । “उहिले … मानिन, अहिले … जानिन” भन्ने उखान जस्तै अबस्था छ किनभने चरम निराश भई शेयर बजारबाट बाहिरिएका लगानीकर्ता अहिले यिनको उक्साहटमा बजारमा छिरेर अन्धाधुन्ध रुपमा शेयर किन्न कोही तयार छैनन् ।

प्रधानमन्त्री ओली र उनका अति विस्वास प्राप्त अर्थमन्त्री खतिवडालाई अहिले फगत शेयरको मूल्य बढ्नु परेको छ, नेप्सेमा उछाल आएको हेर्ने रहर छ तर त्यसका लागि खुला दिलले नीतिगत सुधार गर्ने हिम्मत भने देखाउँन सकेका छैनन् । यिनलाई शेयरको मूल्य बढोस भन्ने मात्र पर्नु भनेको फेरि पनि अर्को छलकपट हो ।

खतिवडा बाहेकका अरुलाई के गाली गर्नु, उनीहरु मध्ये धेरैले पूँजी बजार के हो बुझेकै थिएनन् । खतिवडा विज्ञ त हुन तर उल्टो बाटो हिड्ने खालका । नेकपाका नेता जसले पूँजी बजार र अर्थतन्त्र बुझेका थिए, उनीहरुको कुराको सुनुवाई नै भएन । प्रधानमन्त्री ओलीले खतिवडाको फेर समातेर मात्रै हिड्दा अहिलेको अबस्था आएको हो ।

आफुले बढाएको ५० प्रतिशत पूँजीगत लाभकरको असरले कर कति बढ्यो ? शेयर बजारमा कारोबार कति बढ्यो ? लगानीकर्ता कति थपिए, किन्नेलाई मात्र प्यान अनिबार्य गर्ने बजेटरी ब्यवस्थाले लगानीकर्ता कसरी त्रसित बने ? आईपीओ नै किन बिक्न छाड्यो ? डिबेन्चर र सामुहिक लगानी कोषको ईकाईप्रति लगानीकर्ताको रुची किन हराएर गयो ? आफैले उद्घाटन गरेको अनलाईनको हालत के छ ? ५८ बुँदै सुझुावको कार्यान्वयनको अबस्था के छ ? यी कुरामा बारेमा यिनको चासो पटक्कै छैन । अर्थमन्त्री खतिवडा मर्न त तयार छन् तर खुट्टा तान्न चाँही तयार देखिएका छैनन् । सबैले मर्नुपर्छ भन्ने शास्वत सत्य हो भने खुट्टा तान्न किन हिच्किच ?

खतिवडा अहिले लगानीकर्तालाई यसरी शेयर किन र त्यसरी नकिन भनेर उपदेश दिदै हिँडेका छन् । उनले उपदेश दिने हैन, वातावरण तयार पार्ने हो । किन्ने र नकिन्ने भन्ने लगानीकर्ताको स्वतन्त्र निर्णय हो । सरकारले कसैलाई पनि उक्साउन र निराश पार्न मिल्दैन । सार्वजनिक ओहदामा कसेका अर्थमन्त्री जस्ता निमायकका लागि त यसरी बोल्नु अपराध नै हो । उनले भाषण हैन, काम गर्नुपर्ने हो तर उल्टो बाटो हिडिरहेका छन् ।

बजारलाई सही दिशा दिने नीति र योजनाहरु लागु गरौ, अहिले शेयरको मूल्य बढोस भनेर धुप हाल्नै पर्दैन, बजारले आफ्नो गति आफै लिन्छ । बढ्न थाल्दा अनेक अफवाह फैलाउने अनि घटेर आफैलाई आपत पर्दा बढोस भन्ने सोच राख्ने कच्चा खेल सरकारले खेल्न बन्द गर्नुपर्छ । नीति, पूर्वाधार र प्रविधि ठीक गरौं, बजारले आफ्नो गन्तब्य आफै पहिल्याउँछ ।

अरुले बोलेको कुरा नसुन्ने, खाली खतिवडाको कुरा मात्रै कुरा पत्याएर खोपीको देउता बनेर बस्ने प्रधानमन्त्री केपी ओलीले पनि बालुुवाटार र सिंहदरबारको झ्याल उघारेर, आफ्ना सुण्ड मुसण्ड सल्लाहकारहरुको घेरा तोडेर अब बाहिर हेर्न ढिलाई सक्यो । ओलीका निकट सहयोगी, ढोके पाले सल्लाहकारहरुको मात्रै भर परेर बस्दा न त बजारमा शेयरको मूल्य बढ्छ, न त नेप्से नै । यिनको मनोगत चाहनाले शेयरको मूल्य बढे पनि त्यो टिकाउ हुँदैन् । त्यसका लागि बढीमा १० वटा नीतिगत निर्णय गर्नसक्नुपर्छ र तत्काल ब्यवहारमा लागु गर्नुपर्छ । सबै भन्दा पहिले पूँजी बजारलाई हेर्ने नेकपाको दृष्टिकोण सर्बसाधारणमा स्पष्ट पारिनुपर्छ र अन्य कुराहरु दृढताका साथ लागु हुनुपर्छ । त्यो हिम्मत खोपीका देउता ओली र उनका बिस्वास पात्र खतिवडासँग कहाँबाट आउनु ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here