प्रधानमन्त्री केपी ओलीले आफ्ना अति विस्वासपात्र डा. युवराज खतिवडालाई बाध्यताबश अर्थमन्त्रीबाट विदा गर्नुपरेपछिको केही समयको रिक्ततालाई चिर्दै नयाँ अर्थमन्त्रीमा पूँजी बजारमैत्री विचारधाराका बिष्णु पौडेलको आगमन भएको छ ।

“प्रत्यक्ष वा परोक्ष रुपमा पूँजी बजारसँग नाता जोडिएका” नयाँ अर्थमन्त्री पौडेलको आगमनले लगानीकर्ताहरुमा आशाको संचार गर्नु स्वभाविक छ । पूँजी बजारप्रति शुरुदेखि नै अनुदार देखिएका र बोली तथा ब्यवहारले पूँजी बजारलाई शत्रुको दर्जामा राखेका डा. खतिवडाको ठाउँमा पौडेलको आगमन आफैमा सुखद हो । खतिवडा मै आफै जान्ने सुन्ने हुँ भन्दै अरुको कुरा सुन्दै सुन्दैनथे भने पौडेल अर्थतन्त्रका ज्ञाता नभएपनि अरुको कुरा सुन्ने र बिज्ञहरुको सल्लाहमा राजनीतिक सुझबुझका साथ निर्णय गर्ने ब्यक्ति भएकाले उहाँबाट अर्थतन्त्र, निजी क्षेत्र र पूँजी बजारले राहतको महसुस गर्नु स्वभाविक छ । एउटा कुरा चाँही ढुक्कले भन्न सकिन्छ कि नयाँ अर्थमन्त्री पौडेल खतिवडा जसरी एकलकाँठे पाराले कुनै हालतमा पनि चल्नुहुन्न । कर्मचारीतन्त्रबाट आएको मान्छे र राजनीतिक चेत भएको नेतामा यसै फरक भईहाल्छ ।

पूँजी बजार विरोधी नीति र ब्यवहार अवलम्बन गरेका कारण खतिवडाको जुन आलोचना भयो र पतनको बेलामा कसैले पनि हाय भनेनन् भन्ने कुरा पौडेललाई राम्ररी थाहा छ र खतिवडाका कतिपय गलत प्रबृत्तिको उहाँ आफै पनि विरोधी हुनुहुन्थ्यो ।  कतिपय ब्यवहारबाट आजित नै भईसक्नु भएको थियो ।

हुन त पौडेलको सट्टा सुरेन्द्रप्रसाद पाण्डे नयाँ अर्थमन्त्री भएर आएको भए निजी क्षेत्रको बिस्वास अरु बलियो हुने थियो भन्नेहरु पनि छन् तर प्रधानमन्त्री ओलीको रोजाईमा पौडेल नै परेकाले अब उहाँबाट नै अपेक्षित काम हुने आशा गर्नुको विकल्प रहेन । विगतमा अर्थमन्त्री हुँदा पौडेलले पूँजी बजार र निजी क्षेत्रप्रति देखाएको सदासयता र सहयोगी भावनाले लगानीकर्ताको मनोबल बलियो बन्न बल पुगेकोे थियो भने अहिले त उहाँले झन् धेरै काम गर्नुपर्ने आबश्यकता छ ।

कोरोनाको महामारीले थलिएको अर्थतन्त्र उकास्ने, निजी क्षेत्रलाई प्रोत्साहन गरेर आर्थिक गतिबिधि तीब्र पार्ने, साना ब्यवसायीको पुनरुत्थान र सुरक्षामा ध्यान दिने, पर्यटनलाई फेरि चलायमान बनाउने, कृषि उत्पादन र आत्मनिर्भरताका लागि सरोकारवाला मन्त्रालयहरुलाई सहजीकरण गर्ने, बेरोजगारीको कहालीलाग्दो अबस्था अन्त्य गर्न पहल गर्ने र नेकपा सरकारको धमिल्लिएको छवीलाई फेरि चम्काउने गहन अभिभारा पौडेलमाथि आएको छ । नेकपाको महासचिवको हैसियतले दुई अध्यक्षबीचको विवाद समाधानमा समन्वयकारी भुमिका खेलेका कारण उहाँको त्यो भुमिकामा अरु निखार आउनु पर्ने आवश्यकता छ नै । उहाँबाट उच्च राजनीतिक सुझबुझले काम हुनैपर्छ ।

नेकपा सरकारको बाँकी रहेको झण्डै साढे दुई बर्षको कार्यकालमा पौडेलले अर्थमन्त्रीको सफल कार्यभार पुरा गर्नुभयो भने अहिले पाँच नम्बर प्रदेश राजधानी विवाद र बालुवाटार जग्गा काण्डमा धमिलिएको उहाँको छवी पनि सफा भएर जाने नै छ । यो चुनौतिलाई मनन् गरेरै उहाँ अर्थमन्त्री हुनु भएको हुँदा आशा र विस्वास गर्ने धेरै ठाउँ छ ।

सफल कार्यकालको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here