• तिलक कोइराला । 

तत्कालीन नेकपा एमाले र माओबादीको बाम गठबन्धनले चुनावमा बहुमत ल्याएपछि उत्साहको वातावरण थियो । दुई तिहाई बहुमत सिद्ध गरेर प्रधानमन्त्री हुनु भएका केपी ओलीले जनताको ठूलै आशा भरोसाका वीच डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभयो । त्यतिबेलासम्म आम जनतामा विज्ञ अर्थमन्त्री देशले पायो भन्दै हर्ष बढाइँ भईरहेको थियो ।

खतिवडाले पनि शुरुमा देशको अर्थतन्त्र काँग्रेस सरकारले चौपट्ट पारेको भन्दै स्वेत पत्र सार्वजनिक गरेर अब भने आफुले सम्हाल्ने घोषणा गरेका थिए । उनले पाँच बर्षे कार्यकालमा “पहिलो दुई बर्षसम्म गाली नै गाली खाने र त्यसपछि ताली नै ताली पाईने” भन्दै नेकपाको नेतृत्वलाई आश्वस्त पारे । अर्थतन्त्रका बारेमा गहिरो अध्ययन विश्लेषण नभएका र पूँजी निर्माणको कुरालाई पूँजीबादी भनेर आलोचना गर्ने एकथरी नेताहरु खतिवडालाई सर्बज्ञानी नै मान्थे र देशको चौपट्ट अर्थतन्त्र सुधार्न नयाँ अवतारको रुपमा ब्याख्या गर्थे ।

निजी ब्यवसायीहरु चोर, फटाहा र कर छलीका मतियारहरु भएको भन्दै उनीहरुलाई करले सकेसम्म कस्नुपर्ने र थुन्नुपर्ने कडा आदेश दिँदा त्यसले ब्यापारी बर्गमा कस्तो आतंक सिर्जना गरेका थियो भन्ने जगजाहेर नै छ । कर्मचारी पृष्ठभुमिबाट आएका खतिवडाममा निजी ब्यवसायीप्रति यति निर्दयी भावना हुनु स्वभाविक हो किन भने उनीहरु दिन हैन, लिन मात्र जान्छन् ।

आज समग्र देशको अर्थतन्त्रको के हालत छ ? सबैले देखेकै छन् । खतिवडाले आफ्नो साढे दुई बर्षे कार्यकालमा गरेको अर्थतन्त्रको सुधारका कुराहरुको समीक्षा त हुँदै जाला तर पूँजी बजारमा उनले गरेको बदमासी र बेईमानीको बारेमा यहाँ केन्द्रित भएर केही तथ्य प्रस्तुत गरिएको छ ।

देशको पूँजी बजारका बारेमा खतिवडाको नकारात्मक चिन्तन र रबैया अर्थमन्त्री हुँदादेखि नै छरप्रष्ट भईसकेको थियो । कम्यु्निष्टको सरकार बनेपछि काँग्रेस वा अन्य पार्टीसँग निकट सम्बन्ध राख्ने वा समर्थन गर्ने शेयर लगानीकर्ताहरु त्राहिमाम भएर बजारबाट लगानी झिक्दै गरेको बेला खतिवडाले यसरी लगातार नकारात्मक नीति, ब्यवहार र भाषणबाजी गर्न थाले कि उनको कुरा सुन्नेहरु कोही पनि पूँजी बजारमा लगानी गर्न तयार हुने वातावरण नै थिएन । कम्यु्निष्टसँग डराएका लगानीकर्ताहरु लगानी झिक्दै भाग्दै गरेका थिए, खतिवडाले झन् उनीहरुलाई खेदिरहे ।

अर्थमन्त्री भएपछि शेयर बजारलाई समेत अनुत्पादक भनेर संकेत गर्दै त्यहाँ प्रबाह हुने कर्जालाई नियन्त्रण गर्नुपर्ने अभिब्यक्ति दिएपछि उनको ब्यापक आलोचना त्यहीबाट शुरु भएको थियो । उनी शेयरको वास्तविक भाउ प्रति कित्ता १०० रुपैयाँ भएकाले त्यस भन्दा बढी हुनु नहुने तर्क गर्थे र देशको पूँजी बजारलाई २०,२२ जना ठूला खेलाडीले चलाईरहेकाले उनीहरुलाई निमिट्यान्न नपरेसम्म बजार ठीक ठाउँमा नआउने तर्क गर्थे । नेकपाका माथिल्ला नेताहरुमा खतिवडाले छरेको त्यो भ्रम चिर्ने कोही बहादुर देखा परेन । प्रधानमन्त्री केपी ओली पनि खतिवडा बाहेक अरुको कुरा सुन्नै चाँहदैनथे ।

खतिवडाले बजेटमार्फत पूँजीगत लाभकर ५० प्रतिशत बढाएपछि चर्को आलोचना भयो । हकप्रद र बोनसको भारित औसतलाई १०० रुपैयाँ बनाउने भन्दै आन्तरिक राजश्व विभागमार्फत परिपत्र जारी भएपछि लगानीकर्ताको कडा प्रतिरोधले खतिवडालाई पछि हट्न बाध्य पार्यो ।

पूँजी बजार संकटपूर्ण अबस्थामा रहेकै बेला नेपाल धितोपत्र बोर्डको कार्यक्रममा उनले राष्ट्र बैंकमा सँगै काम गर्दाको साथी र आफ्नो उदाहरण दिएर हाकाहाकी भनिदिए, पूँजी बजारमा पैसा लगाए ड्ुबिन्छ, बैंकको मुद्धती निक्षेपमा राखे धेरै सुरक्षा हुन्छ । मेरो साथी डुब्यो, मैले धेरै कमाए ।

देशको अर्थमन्त्रीले नै यसो भनेपनि सर्बसाधारणले पूँजी बजारमा लगानी थप्ने कुरै भएन । कयौं लगानीकर्ताहरु चुनावताका नै भागिसकेका थिए ।

खतिवडाले पूँजी बजारप्रतिको आफ्नो अनुदार दृष्टिकोणलाई ब्यवहारमा लागु गर्न ज्वाइँ डा. रामशरण खरेल र मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई सल्लाहकार र सहयोगीको रुपमा अगाडि सारे । यी दुई जनाको काम खतिवडाको दृष्टिकोण अनुसार पूँजी बजारलाई झन् संकटगस्त पार्नुथियो ।। पूँजी बजारको सुधार, बिस्तार र बिकासका लागि लगानीकर्ताहरुले उठाएका मागहरु न त खतिवडाले सुन्थे, न त खरेल र खत्रीहरुले नै चासो दिन्थे । बजारलाई बिस्वासमा लिन तत्काल प्रभावकारी कदमहरु चाल्नुको सट्टा अर्थ मन्त्रालयले झन् उल्टो कामहरु गर्थ्यो ।

खतिवडाको निर्देशनमा यतिसम्म गलत काम भयो कि भारित औसत लागत बारे उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित सर्बपक्षीय समितिले तयार पारेको प्रतिबेदन समेत लुकाएर देशको राजश्व र लगानीकर्ता दुबैलाई घात गर्ने अपराध भयो । त्यो प्रतिबेदनले सिफारिस गरेको कुरा लागु भएको भए बोनस र हकप्रदमा भएको भारित औसत नामको ठगीबाट लगानीकर्ता र देश दुबै पीडित हुनुपर्ने थिएन ।

खतिवडाको पूँजी बजार विरोधी दृष्टिकोण, नीति र ब्यवहारबाट नेकपा भित्रै चरम असन्तृटि पैदा भईसकेको थियो । अति भएपछि लगानीकर्ताहरु शेयर लगानीकर्ता दबाब समूहको ब्यानरमा आन्दोलनमा उत्रिए र रिले अनशन शुरु भयो । दबाब समूहलेले दिनहुँ आन्दोलन गर्न थालेर प्रधानमन्त्री केपी ओलीसम्म कुरा पुगेपछि खतिवडा आँत्तिए र डेपुटि गभर्नरको संयोजकत्वमा एउटा अध्ययन समिति गठन गरे । वास्तवमा त्यो समिति झारा टार्नका लागि गठन गरिएको थियो तर लगानीकर्ताहरुको कडा आन्दोलनको प्रभावले समितिले लगानीकर्ताहरुको मागहरु सम्बोधन गर्न बाध्य भयो । अनशन बसेका लगानीकर्ताहरुको १५ बुँदे मध्ये १२ मागहरु सो समितिले स्वीकार गर्यो । जब समितिमा तत्कालीन आन्दोलनकारीहरुको प्रभावकारी हस्तक्षेप भएर खतिवडाको अनुदारवादी दृष्टिकोण असफल सावित हुने अबस्था आयो, त्यसपछि ज्वाई खरेल र उत्तर कुृमार खत्रीले आन्दोलनकारी लगानीकर्ताहरुलाई समितिबाट गलहत्याउने प्रयास गरे । त्यसको प्रतिबादमा लगानीकर्ताहरुको तर्फबाट म र हरि ढकालले आमरण अनशन शुरु गर्यौं ।

हामी नेकपाका प्रतिबद्ध कार्यकर्ताहरु थियौं, हाम्रै सरकारका अर्थमन्त्रीले गरेको पूँजी बजार विरोधी रवैयाको विरुद्धमा पुस माघको ठण्डीमा नेप्सेको कार्यालय अगाडि टुकुचाको दुर्गन्ध सहेर हामीले आमरण अनशन शुरु गरेका थियौं । तर एकजना शेयर सुन्दरीले खतिवडाको कान फुकेको कुरा जानकारीमा आयो ।

अनशन बस्नेहरु त राप्रपा र काँग्रेसका कार्यकर्ताहरु हुन, उनीहरुको कुरा सुन्नु पर्दैन भनेर उनले कान फुकेपछि त्यही कुरा एक चर्चित अनलाईनमा समाचारको रुपमा छापियो । त्यो अनलाईनका हर्ताकर्ता सम्पादक मेरै साथी भएकाले फोन गरेर बुझ्दा मन्त्रालयकै स्रोतले समाचार दिएको पुष्टि भयो । अर्थमन्त्रीकै सहयोगीहरुले कतिपय संचार माध्यममा शेयरको मूल्य बढाउँन आमरण अनशन भन्दै हामीलाई बदनाम गर्ने प्रयास पनि गरे । हाम्रो शान्तिपूर्ण आन्दोलनमा हजारौ लगानीकर्ताहरुको प्रत्यक्ष र परोक्ष साथ सहयोग थियो । त्यसैको दबाबमा अध्ययन समितिले ५८ बुँदे सुझाव प्रस्तुत गर्यो । त्यो मध्ये कतिपय बुँदा कार्यान्वयन भएर पूँजी बजारमा सुधार तथा बिस्तार भएको छ ।

पूँजी बजारको बिकास र बिस्तारका लागि सक्रिय रुपमा लागि पर्दा हामीमाथि अर्थ मन्त्रालय तहबाटै छानविन भएको थियो । विभिन्न दलाल कम्पनीहरुबाट हामी लगानीकर्ताको ग्राहक पहिचान विवरण र अन्य कुराहरु झिकाएर हामीलाई कहाँ फसाउँन सकिन्छ भनेर खोजिएको थियो । नेप्से र धितोपत्र बोर्डका कयौं कर्मचारीहरु यसैका लागि परिचालन गरिएका थिए । यसै क्रममा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रेबतबहादुर कार्कीले फोन नै गरेर ब्रोकरलाई १४ करोड रुपैयाँ तिर्न बाँकी रहेको उजुरी परेको भन्दै मलाई स्पष्टिकरण सोधेका थिए ।

खतिवडाका कारण नेपालको पूँजी बजारले ठूलो क्षति ब्यहोर्यो । त्यसको प्रत्यक्ष मारमा नेकपालाई मत दिने लाखौं लगानीकर्ता परिरहे । खतिवडाको अनुदारबादी नीति र ब्यवहारका कारण नेपालको पूँजी बजारले ठूलो प्रताडना सहनु पर्यो । नीति नियम, पुर्वाधार र प्रविधिको ठीक ढंगको प्रबन्धन गरिएको भए पूँजी बजार त्यसरी प्रतापडत हुनु पर्ने थिएन, यद्यपी बजार घटाई र बढाईका आफ्नै नियमहरु हुन्छ । हुनुपर्ने कामहरु भएको अबस्थामा बजार घटाई वा बढाईलाई स्वभाविक रुपमा लिनुपर्छ ।

लगानीकर्ताको कडा प्रतिरोधले पछिल्लो समयमा खतिवडाको बिषालु नंग्रा भने भाँचिईसकेको थियो । आफ्नो कार्यकालको अन्तिम समयतिर उनी पूँजी बजारको बारेमा बोल्दै नबोल्ने बरु सकारात्मक नै हुनखोज्ने गरी परिवर्तन भईसकेका थिए तर उनको परिवर्तन धेरै ढिला भईसकेको थियो ।

पूँजी बजार विरोधी, दम्भी र अरुको कुरै नसुन्ने एकलकाँटे पाराका अर्थमन्त्रीको बहिर्गमनले शेयर लगानीकर्ता दबाब समूह लगायत सम्पूर्ण पूँजी बजारले उठाएको आवाजको जीत भएको छ र पूँजी बजारमा धेरै सुधार र बिस्तारका कामहरु गर्नुपर्ने ढोका बल्ल खुलेको छ । शेयर लगानीकर्ता दबाब समूहले उठाएको आवाज शेयरको मूल्य घट्ने वा बढ्ने कुरासँग सम्बन्धित छैन, समग्र बजारको बिकास कसरी गर्ने भन्ने कुरा नै मुख्य हो । आज खतिवडाको बहिर्गमनले उत्साहित बन्ने लगानीकर्ताहरु भोलि कुनै कारणले निराश होलान्, बजारमा देखिने अहिलेको खरिद चाप भोलिका दिनहरुमा गएर बिक्री चापमा बदलिएला तर बजार सुधार, बिस्तार र बिकासका कामहरु भईरहनुपर्छ ।

बजारमा हुने स्वभााविक उता। चढाव धेरै चिन्ताको बिषय हैन र दबाब समूहले शेयरको मूल्य घटाई देऊ वा बढाईदेऊ कहिल्यै भनेको छैन । बजार मैत्री सही नीति, नियम, पुुर्वाधार र प्रविधिको बन्दोबस्त गरी त्यसको प्रभावकारी कार्यान्वयन र नियमन नै मुख्य एजेण्डा हो र त्यो पुरा गर्न निरन्तर दबाब सिर्जना गरि नै राखिने छ ।

अर्थतन्त्रका अरु कुरामा मिश्रित परिणाम देखिए पनि खतिवडाले धेरै आलोचना खेपेको भनेको पूँजी बजारसम्बन्धी उनको गलत नीतिकै कारण थियो । २०४२ सालमै पूँजी बजार सम्बन्धी पुस्तक लेखेको हुँ भन्दै धाक लगाउने खतिवडाले पूँजी बजारको ब्यवहारिक ज्ञान बुझेको भए आज उनको विदाईका लागि धारे हात लगाउनेहरुको ताँती अबश्य हुने थिएन । अत्यन्त हठी र आफै अति जान्ने सुन्ने ठानेकाले विद्धान भएर पनि खतिवडा पूँजी बजारको मामिलामा धेरै बदनामी बोकेर विदा भएका छन् ।

खतिवडाले चाहेको भए नेपालको पूँजी बजार सुधार, बिकास र बिस्तारका लागि धेरै काम गर्न सक्थे । यसबाट उनको योगदानको चर्चा र हाईहाई मात्रै हुने थिएन, नेकपाकै सरकार लोकप्रिय हुने थियो । यसमा नेप्सेमा बैदेशिक रणनीतिक साझेदारी, अल्पकालीन र दीर्घकालीन पूँजीगत लाभ कर, गैर आवासीय र विदेशी संस्थागत लगानीकर्तालाई पूँजी बजारमा सहज प्रबेश, निश्चित रकमसम्म लाभांश र पूँजीगत लाभकर हाँसिल गर्नेहरु सर्बसाधारणलाई छुट, सामुहिक लगानी कोषहरुलाई प्रोत्साहन, पूँजी बजारमा आउने उत्पादनकमुलक कम्पनीहरुलाई करमा सहुलियत, राष्ट्रिय बाणिज्य बैंक, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, हेटौडा र उदयपुर सिमेन्ट उद्योगहरुको आईपीओ बिक्रीबाट पूँजी संकलन, नेपाल टेलिकममा बैदेशिक रणनीतिक साझेदारी र संस्थागत अबस्था सुदृढीकरण जस्ता धेरै कुराहरु भईसक्थे । ५८ बुँदे सुझाव कार्यान्वयनको दबाबबाट केही सुधारहरु अबश्य भएका छन्, त्यसका लागि खतिवडाको योगदान भन्न मिल्दैन ।

खतिवडा अर्थमन्त्रीबाट बाहिरिए पनि वर्तमान सरकारमा उनको भुमिका आगामी दिनमा के होला भन्ने प्रश्न बाँकी नै छ तर उनले खाएको मारबाट नयाँ आउने वा जिम्मेवारी सम्हाल्ने अर्थमन्त्रीले सिक्नुपर्ने पाठ के हो भने पूँजी बजार एकदम संबेदनशिल स्थान हो, जहाँ नीति निर्माताहरुको बोली, बचन र ब्यवहारले तत्काल प्रभाव पार्छ र लाखौं लगानीकर्ताको लगानी प्रभावित हुन्छ । त्यो नबुझ्दा कि त डा बाबुराम भट्टराई भईन्छ कि डा. युवराज खतिवडा ।

पूँजी बजार देशको अर्थतन्त्रलाई चलायमान गर्ने र पूँजी निर्माण गर्ने थलो हो भनेर नबुझ्ने हो भने जो आए पनि खतिवडाकै जस्तो हाल हुन्छ । पूँजी बजारलाई उत्साहित पारी नीति, नियम, पुर्वाधार र प्रविधिले समुन्नत पारे मात्र देश विकासको ढोका खुल्छ । सही नीति, नियम, पुर्वाधार र प्रविधिको बन्दोबस्ती प्रभावकारी नियमन गरे शेयर बजारमा हुने उतार चढावबारे धेरै चिन्ता लिनै पर्दैन । नयाँ आउने अर्थमन्त्रीले खतिवडाकै जस्तो नियति भोग्नु नपरोस् भन्ने कामना गरौं । नयाँ अर्थमन्त्रीलाई शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here