प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन युवा जोश जागँरले भरिएका बैंकर हुन् । सानो फाईनान्स कम्पनीबाट उदाएको प्रभु समूहलाई संकटग्रस्त दुई वटा बाणिज्य बैंकसँग मिलाउँदा उनले ठूलो जोखिम मोलेका थिए ।

निस्क्रिय कर्जा अनुपात नै १६ प्रतिशत माथि पुगेपछि प्रभु बैंक के होला भन्नेहरुको संख्या धेरै थियो तर आज  समग्र अबस्था सुुधार गरी प्रभुले शेयरधनीलाई लाभांश बाँड्नसक्ने अबस्थामा पुर्याएर शेरचनले सफल प्रमुख कार्यकारीको हैसियत बनाएका छन् ।

युवा बैंकर शेरचनसँग शेयरलगानी डटकमको तर्फबाट बिशेष प्रतिनिधि कल्पना रिमालले गरेको कुराकानी यहाँ प्रस्तुुत छः

प्रभु बैंकको अहिलेको अबस्थाबारे बताईदिनु हुन्छ कि ?

प्रभु बैंकलाई अहिलेको बैंकिड. क्षेत्रसँग तुलना गरेर हेर्दा प्रगति सन्तोषजनक नै देखिन्छ । निक्षेप, कर्जा र ब्यवसाय बिस्तारका अरु कुराहरुमा राम्रो प्रगति गर्दै गएको छ । दुई बर्षदेखि हामीले एउटा ट्रयाक मेन्टेन गर्न सफल भएका छौ । त्यस कारण राम्रै छ भन्नुपर्छ ।

किष्ट, ग्राण्ड, नेपाल बिकास बैंक जस्ता बिग्रे भत्केका कम्पनीहरुलाई समेटेर अगाडि बढेको प्रभुको अबस्था अब के साँच्चै राम्रो भएको हो त ?

अबको अबस्था साँच्चै राम्रो हो । यो आर्थिक बर्षदेखि अझ राम्रो भएर जान्छ । अघिल्लै बर्षको खुद नाफाबाट शेयरधनीले लाभांश पाउँछन् भने यस बर्षबाट त झन् राम्रो अबस्था हुन्छ । हामीले अघिल्लै बर्षदेखि बिजिनेश बिस्तार गरेका छौ । यो बर्ष अझै राम्रो गर्छौ भनेर अठोट पनि लिएका छौ किनभने स्थिर सरकार छ, सरकारी खर्चहरु समयमै हुन्छ । उद्योगधन्दा, पूँजी बजार, ब्यापार, पर्यटन क्षेत्र, कृषि, जलबिद्युत लगायतका क्षेत्रमा विभिन्न नयाँ र ठूला परियोजनाहरु आउने संभावना देखिएको छ । यसबाट हाम्रो ब्यवसाय बिस्तार अझ राम्रोसँग हुन्छ भन्ने सोचेका छौ र हाम्रो बैंक राईट ट्रयाकमा गईसकेको छ । यसको मतलव अब हामी दौडिने तयारीमा छौ ।

तपाइँहरुसँग ९७ अर्बको निक्षेप छ र एक सय ६३ वटा शाखा पुर्याईसक्नु भयो तर पनि खुद नाफा चाँही झन् घट्यो नि ?

तपाइँले खुद नाफालाई मात्रै प्रगतिको आधार मान्नुभयो भने त्यो गलत हुनसक्छ । हामीले तरलता संकटको बेलामा कर्जाको ब्याजदरलाई कसरी ब्यवस्थापन गर्यौं भनेर हेर्नुपर्ने हुन्छ । हामीले हाम्रा कर्जाका ग्राहकहरुलाई अत्याँउने गरी ठूलोे मात्रामा कर्जाको ब्याज दर बढाएर संकटको बेलामा संकट थप्ने काम गरेनौं ।

गत बर्ष एकदम संकट थियो, ७, ८ महिना तरलताको चर्को अभाव भयो, त्यो बेला पनि कर्जाको ब्याज दरलाई हामीले खासै बढाएनौ । त्यस कारणले पनि हाम्रो नियमित आम्दानी अर्थात ब्याज आम्दानीमा ठूलो बृद्धि देखिएन । हाम्रो खर्च त बढेकै थियो । हाम्रो १६०० कर्मचारीको खर्च, शाखा संचालन खर्च र अरु संचालन खर्चहरु पनि धेरै थियो । कर्जाका ग्राहकलाई अफ्ठेरो अबस्थामा झन् अफ्ठेरोमा पारेर बैंकले नाफा बढाउनु हुन्न भन्ने सोच राख्दा हाम्रो खुद नाफामा बढोत्तरी नभएको हो ।

उसो भए अब चाँही के हुन्छ त ?

यो आर्थिक बर्षदेखि हामीले कारोबार र खुद नाफा बृद्धिमा राम्रो प्रगति गर्ने छौ । केही समयमै हामी एक खर्बको निक्षेप पुर्याउँछौ र आर्थिक बर्षको अन्त्यसम्ममा दुई अर्ब रुपैयाँ हाराहारीमा खुद नाफा कायम गर्ने लक्ष्य राखेका छौ । निस्क्रिय कर्जा अनुपातलाई २ प्रतिशत भन्दा तल झार्छौ ।

तपाइँहरुले अफ्ठेरो अबस्थामा कर्जाका ग्राहकलाई नपेल्ने नीति लियौं भन्नुभयो, के उसो भए ग्राहक चाँही सन्तुष्ट छन् त ?

हाम्रा ग्राहक एकदम सन्तुष्ट छन् । कसैले कुनै गुनासो गरेका छैनन् । हाम्रो उपलब्धि नै ग्राहकलाई सन्तुष्ट पार्नु हो ।

यहाँले भने जस्तै हामीले बिग्रे भत्केका बैंकहरु जम्मा पार्यौं, त्यस कारणले बिगत २ बर्ष उता हामीसँग मार्केटका ठूला कर्जा ग्राहकहरु त्यति थिएनन् तर अहिले हामीले उहाँहरुलाई पनि समेटिसकेका छौ । त्यस कारण ब्याज आम्दानी सँगसँगै अरु आम्दानी पनि बढेर जान्छ । हामीले ग्राहक तान्ने र ब्याज ह्वात्तै बढाएर भड्काउने नीति लिएका छैनौ, राम्रा ग्राहकलाई सधै आफुसँगै राख्न चाहन्छौ ।

ग्राण्ड र किष्टका खराब कर्जाहरुको असुलीको अबस्था चाँही के छ ?

ती बैंकहरुबाट प्रबाह भएका खराब कर्जाहरु असुलीका लागि हामी निरन्तर लागिरहेको अबस्था हो । केही कर्जाहरु चाँही कमशल धितो भएका, विभिन्न मुद्धा मामिलामा जेलिएका, धितो नभएका रहेकाले लगातार प्रयास गर्दागर्दै पनि असुली गर्न गाह्रो भईरहेको छ ।

कति जत्ति त्यस्ता खराब कर्जाहरु असुली हुन बाँकी होला ?

राउण्ड फिगरमा भन्दा एक अर्ब ७५ करोड जत्तिको कर्जा होला । ती कर्जाहरुका कारणले हामी मुद्धा मामिलामा पनि धेरै भिड्नु पर्यो । त्यसले पनि अलि अल्झिएको हो । अबदेखि चाँही हामीले राईट अफ गर्न शुरु गरेका छौ । राईट अफले हाम्रो बुक बिस्तारै क्लिन भएर जान्छ । हामीले राईट अफ गरेको त्यो कुनै दिन त उठ्ला नि । त्यस कारण हामीले राईट अफ र एनबीए (गैर बैंकिड. सम्पतिको रुपमा स्विकार्ने) प्लानलाई अगाडि सारेका हौ ।

सरकार र अदालतले पनि बैंकहरुको कर्जा असुली हुनुपर्छ भन्ने कुरामा जोड गरेको हुनाले हामीलाई नयाँ कदमले सफलता दिन्छ भन्ने सोचेका छौ ।

किष्ट र ग्राण्ड बैंकहरुका कारण तपाईहरुलाई उठ्न गाह्रो भयो भन्दै हुनुहुन्छ तर फेरि अरु संस्थाहरुलाई मर्जर र एक्विजिशन गर्ने नीति पनि अगाडि सारिरहनु भएको छ । फेरि पनि बिग्रे भत्केकै कम्पनी खोज्ने ?

हा हा हा … अब पनि बजारमा बिग्रे भत्केका कम्पनीहरु बाँकी छन् र ? धेरै त्यस्ता कम्पनीहरु नहोलान् वा भए पनि अब चाँही हामीहरु राम्रा कम्पनीहरु आए मात्र मर्जर र एक्विजिशनमा जाने भनेर साधारणसभाबाट पारित गराएको हो । कुनै आबश्यकता पर्यो भने पछि अर्को झमेला गर्नु भन्दा नियमित साधारणसभाबाट पारित गराएर बस्नु राम्रोे हो भनेर सोच्यौं ।

सरकार वा राष्ट्र बैंकको नीति पनि अझै पनि चुक्ता पूँजी बढाउने कि, भएका कम्पनीहरुको संख्या घटाउने  भन्ने रहेको सरकारी अधिकारीहरुको बेला बेलाको अभिब्यक्ति बुझ्दा थाहा हुन्छ । यदि त्यस्तो आबश्यकता परिहाल्यो भने त्यसलाई पनि सहयोग हुन्छ भनेर हामीले तयारी अबस्थामा बस्न चाहेको हो ।

म स्पष्ट गर्छु कि हामीसँग अहिलेसम्म कुनै कम्पनीले औपचारिक रुपमा मर्जर वा एक्विजिशनको प्रस्ताब गरिसकेको अबस्था छैन । अप्रत्यक्ष रुपमा कुराहरु त भईरहेका हुन्छन् । तर क्यापिटल र बिजिनेश दुबै बढाउँनका लागि हामीले मर्जर र एक्विजिशनमै जोड गर्नुपर्छ ।

राष्ट्र बैंकले चर्चामा ल्याईए जस्तो अब बिग मर्जरमा जाउ वा १६ अर्बको चुक्ता पूँजी कायम गर भन्यो भने के गर्दा तपाइँहरुलाई सजिलो होला ?

शेयरधनीहरुले सधै पूँजी थपिरहन सक्दैनन् । निश्चित रुपमा हामी मर्जरमै जानुपर्छ ।

अरु बैंक चाँही राजमार्ग, तराई र सुगम ठाउँमा शाखा खोल्न जाने, तपाईहरु चाँही बाटै नभएका विकट हिमाली जिल्ला मनाड., मुस्ताड., म्याग्दी, डोल्पा जस्ता जिल्लाहरुमा शाखा खोल्ने प्रतिस्पर्धा गर्नुभएको छ । किन अफ्ठेरो खोज्दै हिड्नु भएको हो ?

तपाइँले भन्नु भए जस्तो हामीले बैंकिड. सुबिधा नपुगेका क्षेत्रहरुमा नै शाखा बिस्तारमा जोड गरिरहेका छौ । मुस्ताड.का पाँचैवटा स्थानीय तहमा हामीले शाखा खोलेका छौ ।

मुस्ताड.मा अरु बैंक जान पनि नमान्ने तर त्यो माटोसँग हामी परिचित रहेकाले हामीले त्यहाँ जान जोड गरेका हौ । त्यहाँको भुगोल, मानिस, संस्कृति र वातावरणसँग हामी परिचित छौ । मनाड., मुस्ताड., म्याग्दी जस्ता आसपासका हिमाली जिल्लाहरु छान्यौ, विकट गाउँपालिकाहरुमा गयौं । हामीले त्यहाँका जनतामा पहुँच कायम गर्न चाह्यौं ।

यहाँले अनुमान गर्नसक्नु हुन्छ मुस्ताड.को लोमानथाड. जहाँ ६ महिना हिउँ पर्छ र शायद हामीले हाम्रो बैंकको शाखा पनि छ महिना बन्द गर्नुपर्छ । त्यहाँ कोही पनि मानिस हुन्नन् । सबै तल झरेका हुन्छन् । त्यस्तो ठाउँमा पनि हामी पुग्यौं भनेपछि अब चाँही नेपालका दुर दराजका जनता पनि बैंकिड. पहुँचबाट टाढा छैनन् भन्ने यसबाट देखिन्छ । अब लगभग एक सय वटा स्थानीय तहहरुमा बैंकहरु पुग्न बाँकी होलान् । त्यहाँ पनि चाँडै पुग्छन् ।

मुस्ताड.मा कुन बैंक छ भन्दा प्रभु बैंक छ भन्ने ब्राण्ड पनि स्थापित भएको छ । त्यो क्षेत्रमा भबिष्यमा हुने ब्यापारिक गतिबिधिको लाभ पनि हामीले लिनसक्छौ भनेर सोचेका छौ ।

हामीले हिमाल, पहाड, तराई सबैतिर उत्तिकै महत्व दिनुपर्छ भनेर शाखा बिस्तार गरेको हो । कतिपय शाखाले राम्रै फाईदा गर्ला, कतिपय ठाउँमा खर्च र आम्दानी बराबर होला त कतिपय ठाउँमा हामीले घाटै खानु पनि पर्ला । आम नेपालीको पहुँचमा बैंक हुनुपर्छ भन्ने नीतिलाई आत्मसाथ गरेर नै हामी गएका हौं ।

एक सय ६३ शाखा पुर्याई सक्नुभयो अब कति शाखा बिस्तार गर्नुहुन्छ ?

गाउँपालिकाहरुमा अब तीन वटा शाखा बिस्तार गर्न बाँकी छ । ती पनि सबै दुर्गममा छन् । बाटो नपुगेका गाउँपालिकाहरु हुम्लाको खर्पुनाथ, डोल्पाको शेफोक्सुण्डो र डडेल्धुराको नवदुर्गा गाउँपालिकामा हामी जानैपर्छ । त्यहाँ हामीले कार्यालय राख्ने घरहरु हेरिरहेका छौ ।

यस आर्थिक बर्षमा माथि तीन गाउँपालिका, उपत्यका भित्र ६ वटा र उपत्यका बाहिर १० वटा समेत गरी अब १९ वटा शाखा बिस्तार गर्छौ ।

तपाइँहरुको अबको लगानीको प्राथमिकता के हुन्छ ?

हामीले अलि बढी केन्द्रित भएर लगानी गरेको हाईड्रोपावर हो । हामीले लगानी गरेका ३५-४० वटा हाईड्रोपावर छन् । यो प्राथमिकता प्राप्त क्षेत्र हो । यसमा राष्ट्र बैंकले तोके अनुसारको कर्जाको सिलिड. हामीले पुर्याईसकेको अबस्था छ ।

पर्यटन हाम्रो अर्को क्षेत्र हो । यसमा पनि राष्ट्र बैंकले तोकेको कर्जा सिलिड.सिमा पुरा गरेका छौ । काठमाडौमा हालै खुलेका र खुल्न लागेका प्रायः सबै होटलहरुमा हाम्रो कर्जा लगानी छ । मनाड. मुस्ताड.मा पनि हाम्रो लगानी बढेको छ ।

उद्योगको क्षेत्रमा सिमेन्ट र स्टिलमा पनि हामीले लगानी केन्द्रित गरेका छौ ।

अर्को क्षेत्र भनेको साना तथा मझौला ब्यवसाय हो, त्यसमा पनि लगानी बढाईरहेका छौ । हाम्रा शाखाहरुले यस आर्थिक बर्षमा साना तथा मझौला ब्यवसायलाई बिशेष रुपमा लिएर कर्जा बिस्तार गर्दैछन् ।

कृषि क्षेत्रमा हामीले सरकारले तोकेको १० प्रतिशत कर्जा प्रबाह गर्न सकेका छैनौ । अब त्यसलाई पनि जोड गर्छौ र यस बर्ष पुर्याउँछौ ।

तपाइँहरुले लघुवित्तमा पनि ठूलै लगानी गर्नुभएको छ । आफ्नै बीमा कम्पनी छ, क्यापिटल पनि छ । नयाँ प्रबिधिको टेलिभिजन पनि खोल्नुभयो । अब चाँही के खोल्नुहुन्छ ?

समूह अन्तर्गत खोलिएका संस्थाहरुको कुरा तपाइँले गर्नु भयो । नयाँ सोच भएका ब्यवसायीहरुले खोल्ने ब्यवसायलाई हामीले साथ सहयोग गर्ने हो । पछिल्लो समयमा हाम्रो समूहले स्थापना गरेको प्रभु टिभी हो, त्यो नयाँ प्रबिधि र वेभबेशमा आधारित छ । नेपालमै नौलो प्रबिधि भएकाले अब काठमाडौ उपत्यका बाहिर त्यसको बिस्तार गर्छौ, खासगरी पोखरा, चितवन, बिराटनगर, बुटवलमा त्यसलाई बिस्तार गर्छौ । एक दुई बर्ष त्यसमा अलि बढी केन्द्रित भएर जान्छौ, लगानी पनि धेरै नै हुन्छ ।

खाली लगानीको कुरा मात्रै गर्ने कि शेयरधनीलाई प्रतिफल पनि दिने ?

हो, हामी अब प्रतिफल पनि दिन शुरु गर्दैछौ । गत बर्षको खुद नाफाबाट प्रतिफलको घोषणा अबको दुई साता भित्रैमा होला । संभवत दोेहोरो अंकमा प्रतिफल दिनसक्छौ होला तर कति भन्ने कुरा त संचालक समितिले निर्णय गरेपछि हुने हो । यस बर्षको कमाईबाट पनि लगानीकर्ताले ढुक्कको प्रतिफल पाउँछन् । प्रभु बैंकले अब प्रतिफल बाँड्ने दिन फर्कियो भनेर बुझ्दा हुन्छ । अब शेयरधनीले हरेक बर्ष प्रतिफल पाउँछन् ।

किष्ट र ग्राण्डको खराब अबस्थाको कारणले केही बर्ष हामीले लााभाँश बाँड्न नसकेकोमा अब त्यसको क्षतिपुर्तिसहित लाभांश वितरणको क्रम शुरु हुन्छ भन्ने विस्वास दिलाउँछौ ।

नाफा कमाई र लाभांश वितरणको कुरा गर्दा बैंकहरुको चुक्ता पूँजी भन्दा पनि जगेडा कोष र प्राथमिक पूँजी धेरै हुनुपर्छ भन्ने मान्यता राखिन्छ । प्रभु बैंकको चाँही के सोचाई छ ?

हो, प्राथमिक पूँजी नै बलियो हुनुपर्छ तब मात्रै लगानी बढाउँन सकिन्छ । लाभांश वितरणको सवालमा के भन्ने कुरा गर्दा शेयरधनीको आ आफ्नै अपेक्षाहरु हुनसक्छन् । कतिपय अबस्थामा कम्पनीको बाध्यता पनि होला । हामी पनि प्राथमिक पूँजीलाई बलियो बनाउने पक्षमा छौ, यद्यपी अहिले हाम्रो जगेडा कोष धेरै बलियो छैन ।

अन्त्यमा, विगतमा बैंकहरुबीच ब्याज दर र निक्षेप तान्ने जुन अस्वस्थ प्रतिस्पर्धा भयो, त्यसले केही बिकृति पनि ल्यायो तर अब त्यसो हुँदैन भन्ने कुरामा चाँही कसरी ढुक्क हुन सकिन्छ ?

हामीले बैकर्स एशोसियशनमार्फत जुन सहमति गरेका छौ, त्यसले पनि अब अस्वथ प्रतिस्पर्धा हुँदैन भन्ने विस्वास जगाएको छ ।

मुद्धती निक्षेपको ब्याज साढे १० प्रतिशत भन्दा माथि नदिने भन्ने सहमतिले ब्याज दरमा स्थिरता ल्याउँछ ।

अर्कोतर्फ बित्तीय प्रणालीमा सरकारी खर्च र रेमिट्यान्सबाट आउने रकमले पनि सहयोग गर्ला । विगतको त्यो कठिन अबस्थाबाट सबैले पाठ सिकेकाले अब ब्यवस्थित भएर जान्छ भन्ने आशा गरौं ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here