तिलक कोइराला ।

नेपाल स्टक एक्सचेन्जले केही समय अघिदेखि लागु गरेको प्रि ओपनको पाँच प्रतिशत मूल्य घटबढ्को सिमालाई खारेज नगरे पूँजी बजार दुर्घटनामा पर्ने खतरा देखिएको छ ।

विहान १०ः३० बजेदेखि १०ः४५ बजेबीचको समयमा कुनै एक कम्पनीको शेयर मूल्य पाँच प्रतिशतसम्म तलमाथि गरेर किनबेच गर्न सकिने ब्यवस्थाले शेयर बजारमा अपारदर्शी चलखेल र स्वार्थ समूहहरुको हितरक्षा गरेको छ । सो समयमा केही लगानीकर्ताले आपसी सल्लाह बमोजिम शेयरको मूल्य पाँच प्रतिशत घटाएर र बढाएर किनबेच गर्ने गर्दा आम लगानीकर्ताहरुको सम्पति सुरक्षामाथि ठूलो जोखिम उत्पन्न भएको छ ।

स्वार्थ समूहले प्रिओपन सेसनमा अनलाईन युजर आईडीको प्रयोग गरी केही कम्पनीका शेयर मूल्य पाँच प्रतिशितले बढाएर किनबेच गर्दा नियमित कारोबारका लागि बजार खुल्दा चार प्रतिशतको सर्किट लागेर पुरै बजार हुने गरेको छ, जुन घटना गत आईतबार भयो । लगानीकर्ताले शुरुमा आदेश प्रबिष्ट गर्न समेत पाएनन् । त्यसपछि दुई पटक सर्किट लाग्दा जम्मा ९ मिनेटमा कारोबार दिनभरका लागि बन्द भयो । आम लगानीकर्ताहरु किनबेचबाट बंचित रहे ।

त्यसदिन मौद्रिक नीतिको सकारात्मक प्रभावको आडमा केही खेलाडीहरुले शेयरको मूल्य अधिक रुपमा बढाउने प्रयास गरेका थिए, जसले पछिल्ला दिनहरुमा आपुर्तिको चाप बढाईदियो । मूल्यमा ठूलो अन्तरले माथि र तल हुँदा सर्बसाधारण लगानीकर्तामा जोखिम बढ्यो ।

पाँच प्रतिशत मूल्य घटबढ् गराएर प्रि ओपन सेसनमा कारोबार हुँदा नियमित कारोबार खुलेपछि पनि त्यस कम्पनीको शेयर ४५ मिनेटसम्म कारोबार हुन नसकेको कयौं उदाहरण छन् । खेल गर्नेले प्रि ओपन सेसनमा ५ प्रतिशत मूल्य घटाएर किन्दा नियमित कारोबार सेसनमा बिक्री गर्ने आदेश नै राख्न नमिल्ने वा बिक्रेता नै नआउने अबस्था देखिन्छ र भने पाँच प्रतिशत बढाएर बिक्री गर्दा नियमित सेसनमा खरिदकर्ता नै नआएर कारोबार हुन नसक्ने गरेको छ ।

केही महिना अघि एउटा क्यापिटलले प्रि-ओपन सेसनमा परीक्षणको रुपमा सबै कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढाएर किन्दा नियमित सेसन शुरु हुँदा नेप्से सूचक ह्वात्तै बढेको देखिएको थियो भने नियमित सेसनमा कयौं कम्यनीको शेयर कारोबार एक घण्टासम्म हुन सकेन ।

यस्तो अस्वस्थ खेल र बजारलाई प्रभावित पार्ने गतिबिधि भईरहँदा पनि धितोपत्र बोर्ड र नेप्सेले आधुनिक प्रविधिको नाममा कारोबार प्रणालीले ठीक काम गरिरहेको छ भनी हर्ष बर्ढाँई गर्नुले ती निकायमा बस्नेहरुको विवेकको परीक्षण गर्दछ ।

बजारलाई स्वस्थ र पारदर्शी बनाउने हो भने प्रि ओपनको पाँच प्रतिशत घट्बढ्को नियम तत्काल बन्द गर्ने वा त्यो शेसनमा कम्तिमा दुई प्रतिशत मुल्य घटिबढीमा एक हजार कित्ताको मात्र प्रति कारोबार हुनसक्ने ब्यवस्था गर्नुपर्ने हुन्छ ।

यसो किन भनिएको हो भने अनलाईन कारोबार प्रणाली (नट्स र टीएमएस)ले ठीक ढंगले काम गरेको छैन, प्रणालीमा सही विवरण देखिन्न र तीब्र गतिको ईन्टरनेटको पहुँचमा सबै अनलाईन लगानीकर्ता छैनन् । कारोबार प्रणालीमा लगईन गर्दागर्दै समय बित्छ, समयमा प्रणाली खुल्दैन, खुलेपनि प्राविधिक समस्याले लगानीकर्ताले आदेश प्रबिष्टि र हटाउने कार्य गर्न सकिरहेका छैनन् ।

प्रि ओपन सेसन खारेज गर्नुका साथै कारोबार समयको अन्तिममा १० कित्ताले शेयरको मूल्य तलमाथि गर्न पाउने नियम पनि तत्काललाई बन्द गर्नुपर्छ । कारोबार समयको अन्तिम पाँच मिनेटमा कम्तिमा १०० कित्ता मात्र किनबेच गर्न पाउने नियम लागु गर्नुपर्छ । १० कित्ता आईपीओ बाँडिएको छ भने कारोबार गर्न किन नपाउने भन्ने प्रश्न गर्नेहरु पनि आउलान् तर त्यस्ताले अन्तिम पाँच मिनेट भन्दा पहिले नै आफ्नो अधिकार प्रयोग गरिसक्नुपर्छ । साना कम्पनीका लागि अलग प्लेटफर्म बनाएपछि यस्ता समस्याहरु स्वतः समाधान भएर जानेछन् । त्यतिबेलासम्मका अन्तरिम ब्यवस्था गरेर गरौं ।

बजारको नियम भएपछि जसले पनि खेल्छ, नियम नै परिवर्तन गरेपछि बजारमा खेल भयो भनेर रोईकराई गर्ने पर्दैन । आईतबार नपर्खी बजारमा देखिएको जोखिमलाई तत्काल सम्बोधन गर्नु नियमनकारी निकायहरुकै दायित्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here