शेयर बजारमा दिनदिनै रेकर्ड ब्रेक हुने क्रम जारी रहँदा साताको अन्तिम दिन बाणिज्य बैंकहरुको शेयरमा अधिक खरिद चाप आएर अर्को रेकर्ड बनेको छ ।

कारोबार रकमले यसअघिको चार अर्ब १५ करोडको रेकर्ड ब्रेक गरी चार अर्ब ४६ करोड पुगेको छ भने कहिल्यै अधिक रुपमा मूल्य नबढेका बाणिज्य बैंकको शेयरमा सर्किट लागेको छ ।

चा वटा बाणिज्य बैंकको शेयर मूल्यमा सर्किट लागेर बढ्यो भने कारोबार रकम धेरै हुने १० कम्पनीमा ८ वटा बाणिज्य बैंक रहे ।

लगानीकर्ताहरु शेयर बजारमा केन्द्रित हुने क्रम जारी रहेकाले पुराना तथा नयाँ लगानीकर्ताहरुको प्रबेशले बजारलाई आड दिएको स्पष्ट हुन्छ ।

यसअघिका दिनहरुमा बैंकहरुको शेयर मूल्य धेरै बढ्न नसक्दा ती कम्पनीहरुमा लगानी गर्नेहरु निराश जस्ता देखिएका थिए । कारोबार रकम बढ्दै जानु र बैंकहरुको शेयर मूल्य पनि बढ्नुले लगानीकर्ताहरुमा बजारको स्थायित्वप्रति आशा अरु जगाउँनसक्छ ।

यस दिन नेप्से ३६.०७ अंकले बढेर १६३२.१७ विन्दुमा पुगेको छ । बैंकिड. सूचक मात्रै ८३ अंकले बढेको छ भने अरु धेरैै समूहका कम्पनीका शेयर मूल्यहरु घटेका छन् ।