तिलक कोइराला ।

मेगा बैंकले साधारणसभाबाट शेयर दलालको काम गर्ने समेतको प्रावधानलाई प्रबन्ध पत्र तथा नियमावलीमा समाबेश गराएर क्यापिटल खोले पनि शेयर दलालको काम गर्न भने अलग कम्पनी दर्ता गर्नुपर्ने भन्दै राष्ट्र बेंकले अड्को झिकेपछि बिबाद बढेको छ ।

मेगा बैंकले साधारणसभाबाट शेयर दलालको समेत काम गर्ने कुरा प्रबन्ध पत्रमा संशोधन पारित गरी मेगा क्यापिटल मार्केट्स् लिमिटेड नामक कम्पनी खडा गरेर कार्यालय राख्न घर खोजी गरेकोमा सो कम्पनीले शेयर दलालको काम गर्न पाउने वा नपाउने भन्ने बिबाद बढेको छ । धितोपत्र ऐन २०६३ ले स्पष्ट रुपमा परिभाषित गरिसकेको बिषयमा राष्ट्र बैंकले अड्को थाप्न खोजेको छ ।

नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बैंकले स्थापना गरेका क्यापिटल र मर्चेन्ट बैंकरले शेयर दलालको काम गर्न नपाउने र दलालका लागि अलग्गै कम्पनी खोल्न निबेदन लिएर आउनुपर्ने दावी गरे ।

प्रबक्ता पौडेलले शेयर लगानी डटकमसँग भने- शेयर ब्रोकरको काम गर्न चाहने बाणिज्य बैंकले अलग कम्पनी खोल्न निबेदन लिएर आउँछन् भने अनुमति दिने भनिएको हो, अहिलेसम्म कुनै पनि बाणिज्य बैंक त्यस्तो निबेदन लिएर आएका छैनन् । अहिलेका क्यािपटल र मर्चेन्ट बैंकरले ब्रोकरको काम गर्न पाउँदैनन् ।

पौडेलको यो भनाई धितोपत्र ऐन २०६३ र धितोपत्र ब्यवसायी नियमावली २०६४ को प्रावधान विपरित रहेको देखिएको छ ।

धितोपत्र ऐन २०६३ को दफा ६२ ले बैंक तथा बित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत धितोपत्र ब्यवसाय गर्नसक्ने गरी स्पष्ट रुपमा परिभाषा गरेको छ । सो ऐनले बैंकको सहायक कम्पनीले धितोपत्र ब्यवस्था भन्दा अरु कारोबार गर्न नपाउने गरी बन्देज लगाएर धितोपत्र ब्यवसायलाई धितोपत्र दलाली, धितोपत्र ब्यापार, धितोपत्र निश्काशन, बिक्री प्रबन्ध, लगानी प्रबन्ध तथा परामर्श, बजार निर्माता, क्लियरिड. र डीपी सेवा गरी किसिम खुलाइको छ ।

हेर्नुहोस् धितोपत्र ऐन २०६३ को प्रावधानः

धितोपत्र ब्यवसायी नियमावली २०६४ मा बाणिज्य बैंकको शत प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले शेयर दलालको समेत काम गर्नसक्ने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ ।

हेर्नुहोस नियमावलीको प्रावधानः

अब यहाँ प्रश्न उठ्छ, एकै प्रकृतिको शेयर दलालको काम गर्न अलग सहायक कम्पनी खोल्नुपर्ने हो भने अहिले बाणिज्य बैंकका सहायक कम्पनीहरुले गरिरहेको निश्काशन तथा बिक्री प्रबन्धक, डीपी सेवा, लगानी सामुहिक लगानी कोष ब्यवस्थापन लगायतका सेवाहरु किन एउटैले संचालन गरेका छन् ?

हालै सहायक कम्पनी स्थापना गरेको मेगा बैंकका कम्पनी सचिव तुलसी पोख्रेलले शेयर दलालको काम गर्न कस्तो कम्पनी खोल्नुपर्ने हो र त्यस सम्बन्धी प्रावधान के हो भन्ने कुरा राष्ट्र बैंकले स्पष्ट नगरेको अबस्थामा अहिलेको मेगा क्यापिटलले मर्चेन्ट बैंकरको मात्र काम गर्ने बताए ।

गत बर्षको साधारणसभा मार्फत मेगा, लक्ष्मीसहित तीनवटा बाणिज्य बैंकले शेयर दलालको काम गर्ने सम्बन्धी प्रावधान आफ्नो प्रबन्ध पत्र तथा नियमावलीमा समाबेश गर्ने प्रस्ताब पारित गराएका थिए ।

शेयर बजारका लगानीकर्ताहरुको लामो प्रयासपछि हालै नेपाल राष्ट्र बैंकले माग बमोजिम बाणिज्य बैंकहरुलाई अलग सहायक कम्पनी खोलेर आएमा ब्रोकरको काम गर्न अनुमति दिने प्रावधान मौद्रिक नीतिमा समाबेश गरेको थियो । त्यससम्बन्धी एकीकृत निर्देशन जारी नभईसकेको अबस्थामा बाणिज्य बैंकले कसरी शेयर दलालको काम गर्न सहायक कम्पनी खोल्नुपर्ने हो भन्ने स्पष्ट हुन सकेको छैन । अहिलेसम्म बाणिज्य बैंकलाई लघुवित्त र मर्चेन्ट बैंकर गरी दुईवटा सहायक कम्पनी संचालन गर्न छुट हुँदै आएकोमा अब कतिवटा सहायक कम्पनी संचालन गर्न पाउने भन्ने कुरा पनि परिभाषित हुनुपर्ने पनि देखिएको छ ।

राष्ट्र बैंकका अधिकारीहरुको भनाई मान्ने हो भने बाणिज्य बैंकहरुले ब्रोकर लाईसेन्स पाउन अलग्गै सहायक कम्पनी खोल्न राष्ट्र बैंकमा पहिले निबेदन दिनुपर्ने त्यहाँबाट स्वीकार भईसकेपछि कम्पनी रजिष्ट्रार र धितोपत्र बोर्ड गएर सबै प्रक्रिया पुरा गर्दा लामो समय लाग्छ ।

अड्को थाप्ने र झंझट बढाउँन लाग्नु भन्दा राष्ट्र बैंकले एकीकृत निर्देशनमा बाणिज्य बैंकले हाल स्थापना गरेका क्यापिटल र मर्चेन्ट बैंकरलाई अलग बिभाग खडा गर्न लगाई शेयर दलालको काम गर्न सक्ने गरी सजिलो ब्यवस्था गर्नु नै सही विकल्प हुन्छ । बरु स्वार्थ नबाझिने गरी ग्राहकको मात्र शेयर किनबेच गर्न पाउने सिमा तोक्न सकिन्छ ।

धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले ऐनमा भएको ब्यवस्था र राष्ट्र बैंकको धारणा बारेमा छलफल गरेर टुंगोमा पुग्नुपर्ने अबस्था रहेको बताए ।

अरु देशमा अलग अलग सहायक कम्पनी हुनुपर्ने र सबै काम एउटै सहायक कम्पनीले गर्ने अभ्यासहरु रहेकाले यहाँ स्वार्थ नबाझिने खालको के ब्यवस्था उचित हुनसक्छ भन्ने बारेमा टूंगोमा पुग्नुपर्ने बाध्यता रहेको गिरीको भनाई छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here