तिलक कोइराला ।

बाणिज्य बैंकहरुले यस बर्ष नगद लाभांश मात्रै बाँड्छन् भन्ने शेयर बजारका लगानीकर्ताहरुको भ्रम चिर्न यहाँ बोनस शेयर बाँड्नै पर्ने अबस्थामा रहेका बाणिज्य बैंकहरुको सूची प्रस्तुत गरिएको छ ।

यहाँ प्रस्तुत गरिएका पाँच वटा बाणिज्य बैंकहरु मध्ये एनएमबी बैंकसँग बोनस शेयर मात्रै बाँड्नुपर्ने धेरै रकम जगेडा कोषमा छ तर उसले चुक्ता पूँजी कायम गरिसकेकाले बोनस बाँड्नै पर्ने बाध्यता भने छैन । भुकृटी, पाथिभरा, क्लिन ईनर्जीलाई मर्ज गर्दादेखि एफएमओलाई संस्थापक र सर्बसाधारणलाई एफपीओ बिक्री गर्दाको प्रिमियम, अघिल्लो बर्ष र गत बर्षको खुद नाफा समेतको हिसाब गर्दा पाँच अर्ब भन्दा बढीको पूँजीगत जगेडा देखिएको हो ।

एनएमबी राम्रो बाणिज्य बैंक हो । राम्रो कम्पनीले पूँजीगत जगेडा कोषमा रकम थुपारेर मात्र बस्दैन, नगद र बोनस क्रमशः दिदै पनि जान्छ । गत बर्ष १५ प्रतिशत बोनस बाँडेरै पूँजी बढाउने दिशामा गएकाले उसले यसपल्ट बोनस र नगद दुबै बाँड्नसक्छ भन्नेमा लगानीकर्ता आशाबादी बन्नु स्वभाविक छ ।

बैंक अफ काठमाण्डुको चुक्ता पूँजी आठ अर्ब पुगेको छैन र उसले गत बर्ष बिक्री गरेको संस्थापक एफपीओको प्रिमियम वापतको ९३ करोड रुपैयाँ बोनस बाँडेर आठ अर्ब चुक्ता पूँजी कायम गर्र्नुपर्छ । उसले गत बर्षको खुद नाफाबाट नगद लाभांश समेत बाँडेर लगानीकर्ताको दुबै हातमा लड्डु बनाउँनसक्ने संभावना छ ।

सिभिल बैंकले आठ अर्ब चुक्ता पूँजी कायम गर्ने सवालमा अघिल्लो बर्षको खुद नाफाबाट १०.२५ प्रतिशत बोनस प्रस्ताब गरेर राष्ट्र बैंकबाट स्वीकृति समेत पाईसकेको छ तर साधारणसभाको मिति तोकी शेयरधनी दर्ता किताब बन्द नगरेकाले अझै शेयरधनी बन्नेले प्रस्तावित बोनस पाउँछन् । गत बर्षको खुद नाफा ६४ करोडबाट उसले नगद लाभांश समेत बाँड्ने संभावना हुन्छ तर गत बर्षको नाफा बाँड्ने साधारणसभा भने अलि ढिलो हुनसक्छ । कम्पनीमा संस्थागत सुशासनमा सुधार आउने कुरासँग पनि लाभांशलाई जोड्नु उपयुक्त हुन्छ ।

एनसीसी बैंकले हाल ५० प्रतिशत हकप्रद बेचिरहेकोमा त्यो समेत जोड्दा चुक्ता पूँजी पुर्याउँन अझै ९९ करोड रुपैयाको बोनस बाँडेरै जानुपर्छ । अघिल्ला आर्थिक बर्षहरुको खुद नाफाबाट बोनस र गत बर्षको खुद नाफाबाट केही नगद लाभांश पाउने संभावना हुनसक्छ । तर बैंकमा संस्थागत सुशासनको अबस्थामा सुधार नभएको अबस्थामा लगानीकर्ता उचालिएर जानुहुन्न ।

यी कम्पनीहरुको माथिको अबस्था मोटामोटी तथ्यांकमा मात्र आधारित हो, वास्तविक अबस्था पत्ता लगाउँन गत बर्षको लेखापरीक्षण प्रतिबेदन नै हेर्नुपर्छ । तर शेयर बजारमा शेयर किन्दा कम्पनीको बृद्धि, बिकास, शेयरको मूल्य मति महंगो लगायतका कुराहरु पनि राम्ररी केलाउनु पर्छ ।  दोस्रो बजारमा किनबेच भईरहेको शेयर मूल्य, प्रति शेयर आम्दानी र मूल्य आम्दानी अनुपातले लगानीकर्तालाई कम्पनीको बारेमा धारणा बनाउन सामान्य आधार दिन्छ ।

कम्पनीहरुले बितरण गर्ने बोनस शेयर मात्रै सबैकुरा नभई नगद लाभांश पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरा ख्याल गरेर लगानी गर्दा राम्रो प्रतिफल पाउन सकिन्छ । दोेस्रो बजारमा महंगो मूल्यमा शेयर किनेर थोरै नगद लाभांश खाँदा भने घाटै हुन्छ । संस्थापक शेयरधनी र आईपीओको भाऊमा शेयर हात पारेकाहरुलाई नगद लाभांश धेरै मूल्यवान भए पनि दोस्रो बजारबाट महंगोमा शेयर किनेका सर्बसाधारणलाई बोनस शेयर तुलनात्मक रुपमा लाभदायक देखिन्छ ।

यहाँ उल्लेख गरिएका बाहेक अरु केही बाणिज्य बैंकहरु पनि छन् जसको जगेडा कोषमा बाँड्न मिल्ने रकम धेरै छ, पूँजी कोष खुम्चिएर १२ प्रतिशत हाराहारीमा झरेको छ र बिगतदेखि नै बोनस शेयर र नगद लाभांश मिलाएर वितरण गर्दै आएका छन् । त्यस्ता कम्पनीहरुमा पनि लगानी फाईदाजनक हुनसक्छ ।

लगानीकर्ताले यहाँ प्रस्तुत तथ्यहरु कम्पनीहरुको चौथो त्रैमासको बित्तीय विवरण, नेपाल स्टक एक्सचेन्जमा भएको कारोबार र अन्य स्रोतहरुमा आधारित छन् । लगानीकर्ताले यसैलाई अन्तिम आधार बनाएर मात्र लगानी सम्बन्धी निर्णय नगरी आफ्नो स्वतन्त्र अधययन, बिश्लेषण र निर्णयबाट किनबेच गर्नु उपयुक्त हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here