शेयर बजार खुल्न अगाडि ब्रोकर र लगानीकर्ताबीचको सम्बन्ध सुमधुर बनाउने प्रयास असफल भएको छ ।

लगानीकर्ताहरुको तर्फबाट ब्रोकर कमिशन घटाएर कोरोना र लकडाउनबाट पीििडत लगानीकर्तालाई राहत दिई उत्साहित पार्नुपर्ने माग जोडदार रुपमा उठे पनि ब्रोकर सम्बद्ध पक्षबाट त्यसलाई अश्वीकार गरिएकाले तिक्त सम्बन्ध कायमै रहन गएको छ ।

अर्थ मन्त्रालयले गठन गरेको ५८ बुँदे सुझावको ३४ नम्बर बुँदामा समेत परेको ब्रोकर कमिशन दरलाई हालको ०.६० प्रतिशतबाट ०.२० प्रतिशतसम्म घटाउनुपर्ने लगानीकर्ताहरुको माग रहेको थियो ।

अहिले शेयर कारोबार र राफसाफ पुरै विद्युतीय माध्यमबाट भएकाले तहगत ब्रोकर कमिशन खारेज गर्नुपर्ने र सानादेखि ठूला सबैलाई एउटै दर कायम गर्नुपर्ने माग उठेको छ ।

असार १२ गते धितोपत्र बोर्डमा भएको छलफलमा लगानीकर्ताहरुले शेयर बजार खुल्नु अगाडि नै ब्रोकर कमिशन दर सबैका लागि ०.४० प्रतिशत कायम गरी कोरोना संक्रमणबाट प्रभावित शेयर बजारलाई राहत दिए कमिशन घटाउने माग छाड्ने बताएका थिए ।

ब्रोकर र अरु पक्ष सहमत नभएपछि अब समिति बनाएर अध्ययन गरी ब्रोकर कमिशन घटाईने भएको छ । लगानीकर्ताहरुले आफुहरुले लचकता अपनाउँदा पनि अर्को पक्ष सहमतिमा नआएकाले अब बिस्तृत अध्ययनपछि मात्र ब्रोकर कमिशन तय हुने र त्यो अहिले माग गरिएको भन्दा तल नै कायम हुनसक्ने संभावना रहेको बताएका छन् ।

ब्रोकर कमिशन घटाउने भन्दै धितोपत्र बोर्डले यसअघि नवराज अधिकारीको संयोजकत्वमा गठन गरेको भुमिगत समिति विस्थापन भई नयाँ समिति बन्ने संभावना देखिएको छ । धितोपत्र बोर्डको भुमिगत समितिले ६ महिना नाघ्दा पनि काम पुरा गर्न नसक्नु निकै दुखदायी अबस्था हो ।

लगानीकर्ताहरुले नेपालको शेयर बजारमा लाग्दै आएको ब्रोकर कमिशन दक्षिण एशियाकै सबैभन्दा महंगो र विश्वको महंगो दर भएको दावी गर्दै आएका छन् ।

हाल शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिशन सानो कारोबारमा ०.६० प्रतिशत र ठूलो कारोबारमा ०.४० प्रतिशत रहेको छ । ब्रोकर कमिशनको महंगो दरबाट नेपालको शेयर बजारमा लगानी गर्ने साना लगानीकर्ता बढी प्रताडित छन् ।

ब्रोकरहरुले लिने सरदर कमिशन दर ०.५० रहेको बताईन्छ । ब्रोकर लगायतका सम्बद्ध पक्षहरु ०.१ प्रतिशत सरदर कमिशन दर घटाउँँन तयार भएको भए यो विवादको अन्त्य अहिले नै हुने थियो । यसबाट ब्रोकरलगायतका सम्बद्ध पक्षहरुलाई खासै घाटा हुने थिएन भने लगानीकर्तामा पनि नयाँ उत्साह पैदा भई बजारमा सकारात्मक प्रभाव पर्ने थियो ।

जानकार सुत्रका अनुसार ब्रोकर कमिशनबाट २५ वटा ब्रोकरहरुले उल्लेखनीय नाफा गर्ने गरेका छन् भने बाँकी ब्रोकर घाटामा छन् । ठूला ब्रोकरहरुले बार्षिक रुपमा १० करोडसम्म नाफा गर्ने गरेको बताईन्छ ।

धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउँन समिति गठन गर्ने र त्यसको म्याद दुई महिनासम्म हुनसक्ने बुझिएको छ । ब्रोकर कमिशन दर अरु देशमा कति रहेको छ भन्नेलगायतका कुराहरु अध्ययन गरी नेपालमा संचालनमा रहेका ब्रोकरहरुले गर्ने आम्दानी, भबिष्यमा हुनसक्ने पूँजी बजारको बिस्तार, कारोबार तथा राफसाफमा लागु भएको नयाँ प्रविधि लगायतका कुराहरुको अध्ययन गरिने भएको छ ।

समितिमा धितोपत्र बोर्ड, नेप्से, ब्रोकर, लगानीकर्ता र अन्य सरोकारवालाहरुको प्रतिनिधित्व हुने बुझिएको छ ।

ब्रोकर कमिशनका साथै शेयर कारोबारमा लाग्दै आएको डीपी चार्ज, हितग्राही तथा मेरो शेयरको शुल्क लगायतका बिषयमा पनि अध्ययन गरी पुनरावलोकन गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here