तिलक कोइराला ।

कोरोना संक्रमणको त्रास आम सर्बसाधारणमा बढ्दै जाँदा यसले चौतर्फी असर पारेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएको पुष्टि नभए पनि फैलिनसक्ने खतरा भने झन् बढेको छ । चीनबाट शुरु भएको कोरोना भाईरसले अर्को छिमेकी देश भारतमा भयावह अवस्था सिर्जना गर्ने संकेत देखिएको र नेपालसँग खुला सिमा भएकाले हामीले समयमै पर्याप्त सावधानी अपनाएनौ भने विकराल स्थिति पैदा हुनसक्छ ।

यसै बीचमा नेपालको पूँजी बजारलाई पनि केही समय बन्द गर्ने कि अहिलेकै अबस्थामा कारोबार संचालन गरिरहने भन्ने बहस तीब्र भएको छ । कतिपयले किनबेच गर्न पाउने लगानीकर्ताको मौलिक अधिकार भएकाले बजार बन्द गर्नु नहुने र त्यसो गरिएमा अदालतसम्म गएर कानूनी चुनौति दिने धम्की दिएका छन् भने अर्को पक्षले भाईरस संक्रमणको त्रासले लगानीकर्ताहरुले सहज रुपमा कारोबार गर्न संभव नभएको, त्रास फैलाएर बजारलाई झन् संकटतिर लैजाने पक्षहरु हावी हुनसक्ने भन्दै बन्दको वकालत गरिरहेका छन् ।

धितोपत्र बोर्ड र नेप्सेका केही अधिकारीहरु भने ब्रोकर कार्यालयबाट हुने कारोबार बन्द गरेर अनलाईन कारोबार मात्रै चालु राख्ने र बजार बन्द नगर्ने पक्षमा उभिएका छन् ।

कारोबार संचालन र किनबेचका लागि सहज अबस्था नभएको भन्दै धितोपत्र बोर्ड गएका लगानीकर्ता संघका प्रतिनिधिहरु माथि अहिले एकथरीले आक्रमण गर्दै भनेका छन – बजार बन्द गर्नु लगानीकर्ताको नैसर्गिक अधिकार हनन् गर्नु हो ।

बजार बन्द गर्ने कि नगर्ने भन्ने बहसको पक्ष र विपक्षमा उभिनेहरुको आफ्ना तर्कहरु ठीक वा बेठिक के हुन् भन्ने निक्यौल गर्ने अलग पाटो हो तर बस्तुगत अबस्था र आबश्कयता महत्वपूर्ण हो ।

शेयर बजार बित्तीय क्षेत्र भएकाले यो कुनै हालतमा बन्द गर्नुहुन्न भन्ने तर्क पनि आएको छ । अन्र्तराष्ट्रिय अभिसन्धीहरुको कुरा पनि कतिपयले उठाएका छन् ।

बजार बन्द गर्ने कि नगर्ने भन्ने बहसको पक्ष र विपक्षमा उभिनेहरुको आफ्ना तर्कहरु ठीक वा बेठिक के हुन् भन्ने निक्यौल गर्ने अलग पाटो हो तर बस्तुगत अबस्था र आबश्कयता महत्वपूर्ण हो ।

यी ११ कारणले बन्द गर्नुपर्छ शेयर बजार

१. अहिले कोरोनाका कारण आम लगानीकर्ताहरु त्रस्त छन् । कोही पनि उल्लासपूर्ण रुपमा शेयर खरिद बिक्री गर्नसक्ने अबस्थामा छैनन् । त्रसित अबस्थामा रहेका लगानीकर्ताहरुलाई ब्रोकर कार्यालयमा पाँच जना भन्दा बढीको संख्यामा भीड गर्नबाट पनि बन्देज लगाईसकिएको अबस्था छ । उनीहरु चाहेर पनि ब्रोकर कार्यालयसम्म धाएर किनबेच गर्न सक्दैनन् ।

२. पूर्ण अनलाईन कारोबार प्रणाली मात्रै चालु राखेर शेयर कारोबार खुल्ला गर्ने सोच पनि खोटपूर्ण छ किनभने दैनिक कारोबार गरिरहेका सबै लगानीकर्ताहरुले अनलाईनको युजर आईडी र पासवर्ड लिएका छैनन । त्यो प्राप्त गर्नलाई आजको आजै संभव पनि छैन । कोही अनलाईनबाट किनबेच गर्ने, कोही किनबेच गर्नबाट बंचित हुने भेदभाव गरेर पूँजी बजार चलाउनु कत्तिको उचित हो ?

३. शेयर कारोबार संचालनका लागि ब्रोकर कार्यालय मात्रै खुला राखेर पुग्दैन । सार्वजनिक यातायात संचालनमा रोक लागेको अबस्थामा धेरै समस्या भोगेर ब्रोकरका कर्मचारी त कार्यालय पुग्लान र ब्रोकरको प्रणाली खोल्लान् तर किनबेचको राफसाफ कसरी हुन्छ ? शेयर कारोबार र राफसाफका लागि नेप्से, सीडीएससी, बैंक र क्यापिटल तथा शेयर रजिष्ट्रारको कार्यालय पनि खुल्नु्पर्छ र त्यहाँ काम गर्ने हजारौ कर्मचारी पनि कार्यालयमा उपस्थित भएर काम गर्न सक्छन् कि सक्दैनन् ?

बित्तीय क्षेत्र भनेर नगद राख्न र झिक्न बैंकको शाखाको काउन्टर खोले जस्तै हैन, शेयर बजारको संचालन । बैंकको केन्द्रीय प्रणाली र सफ्टवेयर चल्यो भने पैसा राख्न र झिक्न दुई जना कर्मचारीले ग्राहकलाई सेवा दिन सक्छन् तर शेयर बजार चलाउन ब्यापक संयन्त्र र ठूलो जनशक्ति परिचालन आबश्यक छ ।

४. सरकारले विद्यालयहरु बन्द गरेपछि कयौं सर्बसाधारण आफ्नो परिवार लिएर जिल्ला र गाउँ फर्किदैछन् । अनलाईन कारोबार गर्ने मध्येका उनीहरु हजारौंको संख्यामा हुनसक्छन् । जिल्ला र गाउँमा ईन्टरनेट उपलब्ध भए पनि ब्याण्डविथ एकदम कमजोर रहेकाले वेवसाईट खुल्नमै समस्या हुन्छ । अनि कसरी गर्ने अनलाईन कारोबार ?

५. नेप्से र धितोपत्र बोर्डका अधिकारीहरुले भने जस्तै अनलाईन वा टेलिफोनबाट शेयर किनेबेचको आदेश दिए पनि त्यसको राफसाफका लागि निर्देशन पुर्जी ब्रोकर कार्यालयसम्म कसरी पुर्याउने ? ईडीआईस गर्दा पनि मेरो शेयर सफट्वेयर बेला बेलामा धोका दिएर कागजी निर्देशन पुर्जी नै ब्रोकरको कार्यालयमा पुर्याउनु परेको अबस्था छ । त्यसैगरी ईन्टरनेट र सफ्टवेयरमा देखा पर्ने समस्याका कारण कनेक्ट आईपीएस र चेकबाट रकम भुक्तानी गर्नमा पनि समस्या झेल्नु परेकै छ ।

६. शेयर बजार भनेको काठमाडौको सुविधा सम्पन्न ठाउँमा मात्रै छैन, जिल्लाहरुबाट पनि करोडौको किनबेच भईरहेको छ । जिल्लाहरुमा शाखा रहेका ब्रोकर कार्यालयमा गएर कारोबार गर्ने लगानीकर्ताहरु झन् समस्यामा छन् किनभने त्यहाँ ईन्टरनेटको कम ब्याण्डविथका कारण ब्रोकरमार्फत किनबेच गराउनु उनीहरुको बाध्यता हो । रातारात उनीहरुको सहजताका लागि अनलाईन प्रयोगकर्ता संकेत चिन्ह र गोप्य नम्बर वितरण भएर उनीहरुको कारोबार अधिकार सुनिश्चित हुनसक्दैन ।

७. अदालत दुई साताका लागि विदा, बिद्यालय र कलेजहरु विदा, सार्वजनिक यातायात बन्द, सर्बसाधारणलाई घर बाहिर निस्कन बन्देज, आपत्कालीन सेवाहरु बाहेक सबै बन्द हुने अबस्थामा शेयर कारोबार मात्रै खोल्नुपर्छ कसरी भन्न सकिन्छ ? जीवन नै संकटमा परेको अबस्थामा शेयर किनबेच मात्रै सबथोक हो ? कुनै हालतमा हैन ।

८.त्रासपूर्ण अबस्थामा शेयर कारोबार नगरी एक वा दुई सातासम्म बजार बन्द गर्दा आकाश खस्दैन । केही सिमित ब्यक्तिहरुले भने जस्तो उनीहरुको हक हनन् भए पनि बहुमत लगानीकर्ताको हित नै हुन्छ । धेरै लगानीकर्ता बजारको पहुँच बाहिर रहेको बेला चलखेल गरेर फाईदा लुट्न खोज्नेहरुको मनसायमा धक्का लागे पनि लाखौंको सम्पतिमा थप क्षयीकरण हुनबाट रोक्न सकिन्छ, यो समग्र पूँजीबजार, आम लगानीकर्ता, ब्रोकर र सरकारकै हितमा छ ।

९. त्रासपूर्ण अवस्थामा जति मूल्यमा पाए पनि शेयर बेच्ने प्रबृत्ति देखियो र बजार क्र्यास भयो भने कसैलाई फाईदा हुँदैन । केही समयको कारोबार बन्दपछि जब त्रासपुर्ण अवस्था पार हुन्छ, त्यसपछि लगानीकर्ताको मनोबल पनि बलियो भएर जाँदा पूँजी बजारको बिस्तारमा सघाउ पुग्छ ।

१०. अहिले बजार बन्द गर्नु कुनै एक समूह वा ब्यक्ति विशेषको हितमा नभएकाले कसैले कसैलाई आक्षेप लगाउनु उचित छैन । यो आज मात्रै भएको अभ्यास हैन र नेपालमा मात्रै भएको पनि छैन । हिजो भुकम्पको त्रासपूर्ण अबस्थामा बन्द गरिएकै हो र अबस्था सहज भएपछि खुलेको बजार राम्रै देखियो । फिलिपिन्समा कोरोनाकै कारण पूँजी बजार केही दिनका लागि बन्द गरिएको छ भने विश्वका अरु बजारमा पनि यस्तै अभ्यासबारे सोचिदैछ ।

११. कसैको लहड वा ईच्छाले अहिले कारोबार बन्दको कुरा उठाईएको हैन । यो धितोपत्र बोर्डले जारी गरेको धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को ब्यवस्था बमोजिम पूर्ण रुपमा कानुनी आधारमा उठाईएको आवाज हो । सो निमायवलीको नियम २१ मा वकाईदाले प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थितिमा नेप्सेले धितोपत्र बोर्डलाईै जानकारी गराएर केही निश्चित समयका लागि कारोबार रोक्न सक्ने ब्यवस्था छ । यसका लागि बोर्डलाई जानकारी गराए मात्र हुन्छ, अन्तिम स्वीकृति नै लिईरहनु पर्ने देखिन्न ।

यस्तो छ ब्यवस्था

यति पर्याप्त कारणहरु हुँदा हुँदै पनि कसैले शेयर बजार बन्द गर्नुहुन्न, भन्छ भने उ कुत्सित अभिप्रायबाट ग्रसित छ भन्नैपर्छ । के बुझ्नुपर्छ भने पूँजी बजार कुनै ब्यक्ति वा समूहको लागि हैन, आम सर्बसाधारण लगानीकर्ताको लागि हो, देशका लागि हो र पूँजी निर्माणका लागि हो, बिनासका लागि हैन ।

केहीलाई चरम आर्थिक संकट पर्ला, कोरोना संक्रमण भई उपचार गराउँन अरु उपाय नभएपछि आफुसँग भएको शेयर बेचेर भए पनि उपचार गराउँछु भन्ने सोच्ला, यो एक पीडादायी अबस्था हुनेछ र उसको उपचार र संकट समाधानमा सरकार, नातेदार, चिने जानेका वा सदिच्छा राख्ने सबैले सहयोग गर्नुपर्छ । यस्तो मानवीय संकटको बेलामा एकले अर्कोलाई सहयोग गर्न हच्किनु हुन्न ता कि कसैले शेयर बेत्न नपाएका कारण बाँच्न पाउने अधिकारबाट बंचित हुनु नपरोस । तर संकटको बेलामा नागरिकका अधिकारहरु कटौति हुन्छन् भन्ने कुरा हेक्का पनि राख्नैपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here