तिलक कोइराला ।

नेपाल धितोपत्र बोर्डले बैसाख ३० गते मंगलबारदेखि शेयर बजार पुनः खोली दिनको दुई घण्टा कारोबार गराउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएपछि शेयर कारोबारीहरु बजारबाट सस्तोमा शेयर उठाउने रणनीति निर्माणमा लागेका छन् ।

विहान ११ बजेदेखि अपरान्ह एक बजेसम्म हुने कारोबारमा शुरुको अबस्थामा खरिदको तुलनमा आपुर्ति बढी हुने गरी कारोबारलाई आफ्नो पक्षमा पार्न कारोबारीहरुले प्रारम्भिक रणनीति बनाएको बुझिएको छ । बैसाख २८ गतेदेखि नै कारोबार खुलेको भए त्यसपछिको बुधबारसम्म आपुर्ति नै धेरै देखाएर बजारबाट सस्तोमा राम्रा कम्पनीको शेयर उठाउने रणनीति खेलाडीहरुले बनाएका थिए तर धितोपत्र बोर्डले त्यसको दुर्ई दिनपछि मात्र बजार खोलेर थोरै समय कारोबार गराउने निदैृशन दिएकाले खेलाडीहरुको पनि रणनीति बदलिएको बताईन्छ ।

शुरुका दिनहरुमा पहिले शेयर किनेर सेटलमेन्ट नगरेका लगानीकर्ताहरुको शेयर ब्रोकरहरुले बेचिदिने र बक्यौता असुल्ने भएकाले आपुर्तिकै चाप देखिने र मूल्य घट्ने आँकलन कारोबारीहरुले गरेका छन् । शेयर खरिद गर्न चाहने लगानीकर्तालाई ब्रोकरहरुले पहिले पैसा जम्मा गर्न लगाउने र त्यसपछि मात्र लिमिट दिने भएकाले सर्बसाधारण लगानीकर्ताहरुले अनलाईन प्रणाली प्रयोग गरेर पनि सहजै खरिद गर्न मुस्किल पर्नसक्छ । अनलाईन प्रणालीको युजर आईडी र पासवर्ड लिएका लगानीकर्ताले पनि आफैले खरिद गर्न खोज्दा पनि ब्रोकरले लिमिट दिनैपर्छ । टेलिफोन गरेर शेयर खरिद गर्न आदेश दिए पनि ब्रोकरले सेटलमेन्टमा हुने समस्या देखाउँदै शुरुमा पैसा नै जम्मा गर्न लगाउने संभावना छ किनभने शेयर किनेको नगद लगानीकर्ताले समयमा नै भुक्तानी नगरेका कारण ब्रोकरले हैरानी ब्यहोर्नु परेको बताईरहेका छन् । कतिपय लगानीकर्ताको शेयर ब्रोकरको पुल एकाउन्टमै रहेकाले पनि ब्रोकरलाई बिक्री गरेर रकम असुली गर्न सजिलो छ । शेयर बिक्रीको आदेश दिने लगानीकर्ताहरुको पनि सहजै बिक्री गरिदिन सक्छन् । बिक्री भएको शेयरको हस्तान्तरण लगानीकर्ताले नगरेमा २० प्रतिशत क्लोज आउछ चार्ज असुल्ने ब्यवस्था छदैछ ।

कारोबारीहरुले शुरुकै दिनदेखि मूल्य बढाएर शेयर थुपार्ने रणनीति भने बनाएका छैनन् किनभने जतिसक्दो घटाएरै धेरै भन्दा धेरै शेयर जम्मा पार्नुपर्ने छ । शुरुमा खरिद चाप नदेखाएर बिक्री चाप नै बढी देखिने छ । यस्तो अबस्थामा सर्बसाधारण लगानीकर्ताले आँत्तिएर घाटा खाई सस्तो मूल्यमा शेयर बिक्री गर्नु भने घातक हुनसक्छ । बरु रकम जोहो गरेर सस्तो मूल्यमा शेयर उठाउँन भने नचुक्नु नै बेश हुन्छ ।

खेलाडीहरुले चैत्रको पहिलो साता भित्रमा ७ देखि १० अर्बको शेयर उठाईसकेपछि अनेक हल्ला गर्दै शेयरको भाउ बढाउने खेल खेल्न सक्ने संभावना पनि छ । कारोबारीहरुले सबै कम्पनीको शेयर भन्दा पनि क्षेत्रगत र समूहगत कम्पनीका शेयरहरुमा खेल्नसक्छन् ।

एक चरणको शेयर खरिद सकिएपछि बजेटमा आउने नयाँ कार्यक्रम र अनेक हल्ला गर्दै लगानीकर्ताहरुलाई उत्साहित पार्ने रणनीति खेलाडीहरुले अपनाउँन सक्छन् । अहिलेको शेयर बजारमा ब्रोकरहरु सबैभन्दा प्रभावशाली खेलाडी भएकाले उनीहरुले ठूला कारोबारीहरुका लागि पनि काम गर्दा बिस्तारै शेयर बजारमा नयाँ माहौल देखिनसक्छ । जेठको दोस्रो सातासम्म लकडाउन खुकुलो भएर राजधानी बाहिर गएका लगानीकर्ताहरु पनि ओईरिई सक्ने संभावना छ ।

कोरोना संक्रमणको प्रभाव र लगातारको लकडाउनले ठूला उद्योग ब्यवसायमा तत्काल धेरैै लगानी जाने संभावना नरहेको र अल्पकालीन लाभको स्वाद लिएकाहरुले शेयर बजारमै लगानी बढाउने अबस्थामा अहिले घटेको सस्तो भाउमा शेयर नपाउने संभावना पनि हुन्छ । तर हरेक कम्पनीहरुको अबस्थामा कोरोना संकटले असर पारेकाले कारोबारीहरुले सर्बसाधारण लगानीकर्तालाई प्रभाव पार्न अनेक हथकण्डा अपनाउन सक्छन् ।

शेयर बजार जोखिमसँगै अवसरको क्षेत्र पनि भएकाले बजार प्रबेश गर्ने हरेक लगानीकर्ताले जोखिमबहन क्षमता बलियो बनाएर आफ्नै अध्ययन, विश्लेषणबाट लगानी गर्नु एकदम महत्वपूर्ण छ । यहाँ कारोबारीहरुले गर्ने चलाखीहरुलाई एकदम गहन रुपमा मुल्यांकन गरी जोखिम ब्यवस्थापन गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here