तिलक कोइरालाको विश्लेषण ।

शिवम सिमेन्टको गत सातादेखि लगातार मूल्य उचालिएर २८ लाख ६ हजार कित्ता शेयर किनबेच भई जेठ ६ गते सोमबार मूल्य घटेर कारोबार बन्द भयो ।

कम्पनीले स्थानीयबासी र सर्बसाधारणमा आफ्नो चुक्ता पूँजीको १२ प्रतिशत अर्थात ५२ लाख कित्ता शेयर बिक्री गरेकोमा ४७ लाख कित्ता सर्बसाधारणको हातमा पुगेको थियो । त्यस मध्येको २८ लाख कित्ता दोस्रो बजारमा कारोबारमा आएको नभई कयौं चरणमा खरिद बिक्री भएर जेठ ६ गते सोमबारसम्म २८ लाख कित्ता किनबेच भएको देखिएको हो । दोस्रो बजारमा वास्तविक रुपमा खरिद बिक्री भएको शेयर संख्या १३ लाखसम्म हुनसक्ने र त्यही शेयर दोहोरिएर कारोबार हुँदा २८ लाख कित्ता कारोबार भईसकेको देखिएको आँकलन गरिएको छ ।

लगानीकर्ताले तल्लो मूल्यमा किनेको शिवमको शेयर मूल्य बढेर नाफा भएपछि बेचेर फेरि माथिल्लो मूल्यमा पटक पटक किनबेच गरेको प्रशस्त देखिन्छ । एउटै शेयर पटक पटक घुमेको छ र कुनै पनि एक ब्यक्तिको हातमा ५० हजार कित्ता भन्दा बढी शेयर छैन भन्ने देखिन्छ ।

जानकारहरुका अनुसार कम्पनीहरुले आईपीओमा बिक्री गरेका शेयर मध्ये ३३ प्रतिशत शेयरहरु बिभिन्न कारणले तत्काल दोस्रो बजारमा किनबेचमा आउने गरेका छैनन् । शिवमको पनि त्यही अबस्था हुनसक्छ ।

शेयर बजारका लगानीकर्ताहरुले शिवमको शेयरमा दिनदिनै उचालिएर खरिदबिक्री गरेका छन् । प्रिमियमसहित ३०० रुपैयाँ प्रतिकित्तामा आईपीओमा आएको शेयर मूल्य केही दिनमा नै ६ सय ७८ रुपैयाँसम्म पुगेर जेठ ६ गते अघिल्लो दिनको अन्तिम मूल्य भन्दा ५.४१ प्रतिशतले घटेर बजार बन्द भएको थियो ।

दोस्रो बजारमा प्रतिकित्ता ६ सय ६४ रुपैयाँमा पहिलो कारोबार खुलेपछि लगातार अत्यधिक अंकले घटेर प्रतिकित्ता ३०५ रुपैयाँसम्म झरेको त्यसको मूल्य केही सातामै त्यसको दोब्बर भन्दा बढी ६७८ रुपैयाँसम्म पुगेको हो । सरी तीब्र उतार चढावको श्रृंखला रहेको शिवमका बारेमा अहिले सकारात्मक वा नकारात्मक टिप्पणी गर्नुको कुनै तुक छैन ।

कारोबारका हरेक दिन त्यो शेयर किनबेच गर्नेमा शेयर दलाल नम्बर ५८ नासा सेक्युरिटिजमा आबद्ध लगानीकर्ताहरु नै रहे । जेठ ६ गतेको कारोबारमा भने नासामा आबद्ध लगानीकर्ताहरुले कस्सिएर शेयर बेचे भने किन्नेमा अरु नै दलालका लगानीकर्ता बढी थिए ।

हेर्नुहोस् मेरोलगानी डाटा एनलाईटिक्सको यो विवरणः

बैसाख महिनाको अन्तिम साता शिवम सिमेन्टको तेस्रो त्रैमासिक बित्तीय विवरण प्रकाशित भएपछि लगानीकर्तामा शिवमको शेयर किन्ने लहर अरु तीब्र बनेको थियो । शिवमको बित्तीय विवरणलाई शेयरलगानी डटकमले यसरी प्रस्तुत गरेको थियो ।

शेयरको मूल्य अचाक्ली बढेको शिवम सिमेन्टसको यस्तो प्रगति हेरेर के निर्णय गर्ने ?

केही अनलाईन मिडियाहरुले शिवमको शेयर मूल्य उचालिनुमा त्यसका संचालक अल्का गोयल र उनका श्रीमान संदिप जलानलाई आरोप लगाएका छन् तर अल्का गोयल शिवमको संचालक निर्वाचित भएपछि उनले पहिले किनेको २५ हजार कित्ता शेयर स्वतः रोक्का भएको बताईएको छ भने संदिप जलानले आफ्नो नाममा कुनै शेयर नकिनेको प्रष्टिकरण दिएका छन् । ५८ नम्बर ब्रोकरमार्फत शेयर किनबेच गर्ने जलान सो दलालको संचालक र शेयरधनी दुबै नरहेको नासा सेक्युरिटिजले जनाएको छ । तर जलानले शेयर कारोबार गर्ने नासाबाटै शिवमको धेरै कारोबार हुनुलाई बाघ आउँनु र बाख्रा हराउनुको रुपमा अर्थ लगाउनेको पनि कमी छैन । तर शिवमको शेयर कुनै दलालले किनेको नभई लगानीकर्ताले किनबेच गरेको बुझ्नुपर्छ । किनबेच गर्न पाउनु लगानीकर्ताको नैसर्गिक अधिकार हो ।

शेयर बजार माग र आपुर्तिमा चल्छ र कुनै पनि शेयरको मूल्य बजारले नै निर्धारण गर्छ । जब शिवमको शेयरमा बेच्ने भन्दा किन्ने धेरै भए, मूल्य बढ्यो र जब फाईदा गरेर बेच्नेहरु धेरै आए, किन्ने कम भयो -मूल्य घट्यो -सामान्य रुपमा लिनुपर्छ । यो बजारमा नियमित चलिरहने प्रक्रिया हो ।

शेयर बजारमा लगानी गर्ने हरेक लगानीकर्ताले कम्पनीको अबस्था, बजारको माहौल र आफ्नो जोखिमबहन क्षमता हेरी लगानी गर्ने हुँदा कसैको बहकाउमा शिवमको यति धेरै कारोबार भएको हो भन्ने आरोपको आधार कमजोर छ । दैनिक रुपमा सयौं लगानीकर्ताले तीन- चार लाख कित्ता शेयर खरिदबिक्री गरेको र प्रायः सबै दलालहरुले शिवमलाई नै केन्द्रित गरेको देखिएको अबस्थामा कुनै ब्यक्ति र दलाल कम्पनीलाई दोषारोपण गर्नुको कुनै औचित्य छैन । कसैले गलत हल्ला फैलाएको प्रमाण भए धितोपत्र बोर्ड लगायतका निकायले कारबाही गर्न कुनै कसर बाँकी राख्नु पनि हुन्न ।

शिवम सिमेन्टको शेयर कारोबारमा सर्बसाधारण लगानीकर्ताहरुले स्वतःस्फुर्त सहभागिता जनाएको देखिन्छ । पहिले शिवमको आईपीओमा आबेदन गर्न डराउने र नकारात्मक टिप्पणी गर्नेहरु पनि पछिल्लो समय मूल्य उचालिन थालेपछि सकेसम्म उचालिएर शिवमको शेयर किन्ने लहर चलेको देखियो । शेयरको मूल्य माथि चढ्दै गएपछि जोखिमको मात्रा पनि बढ्ने हुँदा शेयर लगानीकर्ताले कति जोखिम लिने भन्ने कुरा विशुद्ध रुपमा उसको स्वतन्त्रता र लगानीको अधिकार हो तर यसो भन्दैमा खराब कम्पनीमा धेरै लगानीकर्ता फसेर पुरै शेयर बजारलाई संकटग्रस्त बनाउने अवस्थामा त्यो सार्वजनिक सरोकार र बहसको बिषय बन्नसक्छ । तर शिवमको शेयर किन वा नकिन भनेर आदेश दिने हैसियत कसैले राख्दैन । शेयर बजारमा लगानी गर्ने सबैले कम्पनीको अबस्था र तथ्य विवरणमा आधारित रहि आफ्नो अध्ययन, विश्लेषणले लगानी सम्बन्धी निर्णय गर्नुपर्छ । आफुले जोखिम कति लिनसक्छु भन्ने यकिन गरेर नै लगानी गरेको हो भने न सकारात्मक हल्लाले उचालिनुपर्छ, न त नकारात्मक टिप्पणीले हच्किनु नै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here