नेपाल राष्ट्र बैंकले ब्यक्तिगत शेयर धितो कर्जाको हकमा प्रयोजन नखुलाईएको हकमा मात्र ५० लाख रुपैयाँको सिमा लाग्ने स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले शेयर खरिदको प्रयोजन खुलाएर लिईने शेयर धितो कर्जामा रकमको कुनै सिमा नतोकिएको स्पष्ट पार्नुभयो ।

ढकालले भन्नुभयो, “प्रयोजन नखुलाएर लिईने आवधिक ब्यक्तिगत शेयर धितो कर्जामा मात्र ५० लाखको सिमा तोकिएको हो, प्रयोजन खुलाएर लिईने ब्यक्तिगत शेयर धितो कर्जाको सवालमा कुनै परिवर्तन भएको छैन, जति पनि कर्जा लिन सकिन्छ ।”

राष्ट्र बैंकले सोमबार बैक तथा बित्तीय संस्थाहरुलाई नयाँ मौद्रिक नीतिमा आधारित रहि निर्देशन जारी गरेपछि एकीकृत निर्देशनको बुँदा नम्बर २३ मा गरिएको संशोधनले अन्योल सिर्जना गरेको थियो । केही अनलाईन मिडियाले शेयर धितो कर्जा लगायत सबै प्रकारका ब्यक्तिगत कर्जाको सिमा ५० लाख रुपैया ता्ेकिएको भन्दै समाचार प्रबाह गरेपछि अन्योल बढेको थियो ।

सो निर्देशनले प्रयोजन नखुलेका आवधिक ब्यक्तिगत कर्जाहरुको सवालमा ५० लाखको सिमा तोक्दै थप परिभाषित गरेको छ ।

प्रयोजन नखुलाई सिमा भन्दा बढी कर्जा लिएकाहरुले पनि ५० लाख रुपैयाको सिमा भित्र आफ्नो कर्जालाई ल्याउन २०७९ असार मसान्तसम्म अर्थात दुई बर्षको समय पाएकाले तत्काल उनीहरुलाई केही असर पर्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here