तिलक कोइराला ।

नेपालमा शेयर बजारको समाचार लेख्ने पत्रकारहरुका लागि नै शेयर बजार “आँखा नभएकाले हात्ती छामे जस्तो” भएको देखिन्छ । बिषयबस्तुको सही पहिचान गरी गहिराईसम्म पुगेर  आम लगानीकर्तालाई सचेत पार्ने किसिमले समाचार तथा विचारहरु पस्कन नसक्दा त्यसको सिधा असर शेयर बजारमा पर्ने गरेको छ ।

कतिपय पत्रकारले शेयर बजारको संबेदनशिलता र लगानीकर्ताको मनोबलमा पर्ने असरबारे विचारै नगरी पत्रिका तथा अनलाईनहरुबाट समाचार प्रबाह गर्दा बजारमा ठूलै उथलपुथल हुने गरेको छ भने कतिपय अन्जानमा हुने गल्तिले पनि लगानीकर्तामा भागदौड सिर्जना गर्ने गरेको छ ।

भुलबश भएका गल्तिहरु सुधार्ने र ईमानदारितासाथ प्रष्ट पार्ने एउटा पाटो हो भने बुझ्दै नबुझी र नियतबश लेखिने कुराहरुले लगानीकर्तामा गहिरो नकारात्मक छाप पार्ने गर्दछ । अझ अनलाईन वा बिद्युतीय संचार माध्यमको शीघ्र प्रभाव लगानीकर्तामा पर्छ, तत्काल भागदौड सिर्जना गराईदिन्छ । सामाजिक संजालले पनि छिटो प्रभाव छोड्छ । कुनै पत्रिका र अनलाईन पोर्टलको एउटा समाचार लाखौं लगानीकर्ताको खर्बौको सम्पतिमा क्षति पुग्ने वा कुनै अमुक ब्यक्तिहरुलाई लाभ पुग्ने हतियार बन्नु हुँदैन भन्ने मान्यता दह्रोसँग नेपाली पत्रकारितामा स्थापित गर्नु आबश्यक भईसकेको छ ।

घटना र उदाहरण

तीन बर्ष अघि एउटा पत्रिका र केही अनलाईनले शेयर बजारमा १३ प्रतिशत भ्याट लाग्ने भन्दै समाचार प्रबाह गरे । समाचारको पेट बोली र आशय नै यस्तो थियो कि पुरै शेयर कारोबार रकममा १३ प्रतिशत भ्याट रकम थपिने भयो भन्दै लगानीकर्ताहरु शेयर बिक्री गर्न भागदौड गर्न थाले । तर कर कार्यालयका अधिकारीहरुसँग सम्पर्क गरी बुझ्दा के प्रष्ट भयो भने पुरै कारोबार रकममा १३ प्रतिशत भ्याट हैन, शेयर दलालहरुले संकलन गरेको कमिशन रकममा चाँही १३ प्रतिशत भ्याट लाग्ने चर्चा गरिएको थियो, त्यसको पनि कुनै ठोस प्रस्ताब तयार भएकै थिएन । हल्लै हल्लामा जसले आत्तिएर शेयर बेचे, उनीहरुले गुमाए, पछि हल्ला हावादारी भएको प्रमाणित भएपछि बजार सम्हालियो । अहिले त्यो भ्याटको कुरा नै सदाका लागि समाप्त भईसकेको अबस्था छ तर त्यसकै बहानामा शेयर बजार प्रभावित पार्दा लगानीकर्ताको मनोबल नै नकारात्मक बनेर खर्बौको क्षतिले पुर्याएको घाउ निको हुन सकेको छैन ।

केही संचार माध्यमले बिज्ञापन नदिएको झोकमा फलानो बैंक अब ध्वस्तै हुन्छ भनी हेडलाईन समाचार बनाए, बिज्ञापन पाएपछि सिलसिलेवार ती समाचारहरु एकाएक बन्द भए । यहाँ पनि आर्थिक पत्रकारिताको गलत अभ्यास देखियो ।

एक बैंकका प्रमुख कार्यकारीलाई कुनै संचार माध्यमका तर्फबाट सहयोग नगरे केटीसँग नाजायज सम्बन्ध कायम गरेको फोटो सार्वजनिक गरिदिने धम्की दिए । भलाद्मी पाराका ती प्रमुख कार्यकारीलाई लाग्यो कि आफुले कुनै गल्ति नगर्दा पनि कसैसँग संयोगबश संगै बसेको फोटो खिचेको रहेछ भने बेईज्जत गर्न पनि सक्छ, त्यसैले लफडा नगरौं ।

कुनै एक अनलाईले हालै लेखेको थियो, फलानो बैंकमा पैसा राख्नु भएको छ ? तपाँइँको पैसा क्षणभरमैै खाताबाट हराउँननसक्छ, होसियार ।

यी निकृष्ट आर्थिक पत्रकारिताका उदाहरण हुन् ।

गल्तिले पनि हुनसक्छ

एउटा अनलाईनमा मौद्रिक नीतिको प्रत्यक्ष समाचार अद्यावधिक गर्ने क्रममा मार्जिन कर्जाको बारेमा समाचार प्रस्तोताले गभर्नरले बोलेको कुरा नबुझेर भुलबश गलत शब्दावली प्रयोग गर्दा १५ मिनेटमा शेयर बजार प्रभावित भयो र पछि समाचार सच्याउँदासम्म शेयर बजारमा केही लगानीकर्ताले क्षति भोगिसकेका थिए । मौद्रिक नीति प्रस्तोता गभर्नरको कुरा सही ढंगले पत्रकारले ठम्याउँन नसक्दा गल्ती समाचार गएको थियो । त्यस समाचार प्रस्तोता पत्रकारले जिम्मेवारीबोध गर्दै पछि सार्वजनिक क्षमायाचना समेत गरेको थियो । त्यस्तै लघुवित्तको चुक्ता पूँजी बढाउने सवालमा पत्रकारले सुत्रको हवाला दिदै गलत समाचार अनलाईन र सामाजिक संजालमा पस्किदा पनि शेयर बजारका लगानीकर्ताले क्षति ब्यहोरे ।

शेयर बजारका बारेमा लेख्ने पत्रकारले लाखौं लगानीकर्ताको लगानीप्रति जिम्मेवारीबोध नगर्दा सही कुरालाई पनि गलत ढंगले प्रस्तुत गर्ने गरेको पाईन्छ । जस्तो कुनै कम्पनीले हकप्रद बिक्री गर्ने निर्णय गरेको हुन्छ, त्यसलाई कम्पनीले लगानीकर्तालाई हकप्रद दिनेभयो भन्दै समाचारमा प्रस्तुत गरिन्छ ।

भ्रम पार्ने कुरा

एक संचार माध्यमको समाचार शिर्षक र पेटबोली

वास्तवमा कम्पनीले हकप्रद लगानीकर्तालाई मायाँ गरेर दिन लागेको नभई शेयर बेचेर पैसा तान्न लागेको हो भन्ने कुरा बुझाउँन नसक्दा शेयर बजारमा गएको तीन बर्षमा लगानीकर्ताले ठूलो क्षति भोग्नु पर्यो । हकप्रदमा उचालिँदा ११ खर्ब भन्दा बढीको क्षति शेयर बजारले ब्यहोर्नु परेको अबस्था छ । यसमा हकप्रद दिने भयो भन्दै लगानीकर्तालाई उचाल्ने पत्रकार र त्यसमा बहकिने लगानीकर्ता उत्तिकै जिम्मेवार छन् ।

एफपीओ बिक्री गर्ने भयो र एकैचोटी धेरै बोनस पाईने भयो भन्दैमा उचालिएर शेयर किन्नु पनि घातक नै थियो । कतिपय राम्रा कम्पनीको शेयरमा पनि यही बहानामा उचालिँदा लगानीकर्ता फसे, त्यसमा मिडिया पनि उत्तिकै जिम्मेवार छ ।

कुनै कम्पनी वा अमूक ब्यक्तिबाट प्रभावित भएर स्वार्थबश लेखिने समाचार त झन् शेयर बजारका लागि धेरै घातक हुन्छ । कुनै शेयरको भाउ बढाउँन वा घटाउँन बगे्रल्ती खुलेका अनलाईनहरुमा समाचार पस्कने क्रम अहिले बढ्दा शेयर बजारका बारेमा बुझ्दै नबुझेका वा अलि अलि बुझेका लगानीकर्ताहरु धेरै जोेखिममा परेका छन् । त्यसलाई सामाजिक संजालमा हल्ला गर्नेहरुले अरु चर्काईदिने गरेको अबस्था छ । विभिन्न समूह र फोरमहरु सक्रिय छन् ।

लेख्ने भन्दा पढ्ने बिज्ञ छन्

बैकिड., शेयर बजार र अर्थतन्त्रका बारेमा समाचार लेख्दा पत्रकारमा धेरै बिज्ञता चाहिन्छ, आफुभन्दा धेरै बिज्ञहरुले यो समाचार पढ्दैछन् भन्ने हेक्का राखेर सबै कुरा बुझेर मात्र समाचार लेख्नुपर्छ भन्ने ज्ञान भएन भने धोका पाईन्छ । यहाँ बिज्ञ कोही छैन, सबैले सिक्दै गरेको मात्र हो । अहिले कतिपय लगानीकर्ता कम्पनी र शेयर बजारको बारेमा धेरै अध्ययन गर्ने भईसकेका छन्, अलिकति गल्ति भेटियो कि समाचार लेख्नेलाई सामाजिक संजालमा नाँँगेझार पारिहाल्छन् । गलत नियतले लगानीकर्तालाई उराल्ने र थचार्ने नियतले समाचार लेख्ने र पस्कनेहरु अब झस्कनुपर्ने भईसकेको छ, नत्र उनीहरुले नै दुख पाउँछन् ।

बार्गेनिड., ब्ल्याकमेलिड.को रोग

आर्थिक समाचारको अनुगमन र नियमन गर्ने कुनै निकाय भईदिएको भए धेरै पत्रकारले जेलको चिसो कोठामा जीवन ब्यतित गर्नु परिसकेको हुन्थ्थ्यो तर कुनै निकायले नियमन नगर्ने हुँदा जसले जे गरे पनि हुँदै आएको छ ।

कम्पनी तथा ब्यक्तिहरुको बारेमा सकारात्मक वा नकारात्मक समाचार लेख्ने लेखाउने कुरामा आर्थिक लगानी र बार्गेनिड., ब्ल्याकमेलिड.को रोगले ठूलो प्रभाव पार्ने गरेको छ । जसले राम्रो आर्थिक सहयोग गरेको छ, उसको नकारात्मक कुरा भए पनि नलेख्ने र जसले आर्थिक सहयोग गरेको छैन, उसका नराम्रा कुराहरु खोजी खोजी लेख्ने, राम्रोलाई नराम्रो बनाउने, आरोप लगाईएको पक्षको भनाई नराख्ने, उल्टै धम्क्याउने रोगले नेपालको बैंकिड. र शेयर बजारसम्बन्धी समाचारलाई पनि नराम्ररी ग्रसित बनाएको देखिन्छ । जसले धम्की दिदैन र ब्ल्याकमेलिड. गर्दैनन्, त्यस्ता मिडियालाई नपत्याउने प्रबृत्ति कम्पनीका संचालक र कर्मचारीहरुममा पनि उत्तिकै रहेको पाईन्छ, वास्तवमा दुबै खराब हुन् ।

आर्थिक पत्रकारको दायित्व र जिम्मेवारी आम सर्वसाधारण र लगानीकर्ताको हितमा कम्पनीको सुधारका लागि सही सत्य सूचना प्रबाहमा हुनुपर्छ, न कि कुनै ब्यक्ति वा कम्पनीले बर्षौदेखि कमाएको प्रतिष्ठा, ईज्जत र मान सम्मान ध्वस्तै पार्ने नियतले एउटा समाचार काफी होस् । नाम अमृतको राखेर बिषै विष ओकल्ने आर्थिक पत्रकारिताले समग्र पत्रकारिता क्षेत्रकै बदनाम गरिरहेको छ । बिज्ञापनलाई समाचार बनाउनेहरुको पनि उत्तिकै बिगबिगी छ ।

कुनै कम्पनी वा ब्यक्तिबाट नाजायज फाईदा उठाउँन चार पाँच वटा संचार माध्यमको ब्ल्याकमेलिड. समूह बनाउने अनि सकेसम्म पैसा झार्ने प्रबृत्ति नेपालको आर्थिक पत्रकारितामा राम्रै जरा गाडेर बसेको छ । ठूला संचार माध्यमको ठूलै कुरा हुन्छ, सानाको सानै कुरा तर विकृति भयंकर छ । यस्तो विकृति रहेको बुझेका कम्पनीका संचालक वा कर्मचारीहरु पनि सकेसम्म हरेक समाचारलाई आर्थिक बिषयसँग जोडेर मिलाउँन खोज्छन् । अनि, सही सत्य समाचार पनि पैसा पाएन होला, लेख्यो भन्ने नियतले चर्चामा आउँछ । त्यो पनि घातक छ ।

जब कुनै ब्यक्ति वा कम्पनीका बारेमा एकोहोरो समाचारहरु आईरहेका हुन्छन् भने त्यहाँ कही गडबडी छ भनेर बुझ्नैपर्ने हुन्छ । गल्ति र कमजोरीलाई सुधार्न नचाहने कम्पनीका संचालक वा कर्मचारीको प्रबृत्ति पनि हुनसक्छ वा अरुको गल्ति देखाएर कुनै मोलमोलाई चलिरहेको पनि ठान्न सकिन्छ । यस्तो द्रब्य पिचास पत्रकारिताबाट आर्थिक पत्रकारिताको प्रतिष्ठा स्थापित गर्न सकिन्न । कमजोरीलाई पैसामा मिलाउँन खोज्ने कम्पनी संचालक र कम्पनीको कमजोरीमा आफ्नो स्वार्थको खेती गर्नेहरु दुबैबाट बैंकिड. र शेयर बजारका सरोकारवालाहरु सतर्क हुनैपर्छ । कुनै बैंकका संचालक वा कर्मचारीले गल्ति गर्यो भने सुधार्न सकिन्छ तर त्यसका बचतकर्ताहरुमा भ्रम र आतंक फैलाएर बैंककै साख गिराउन खोज्ने गरी अहिले चलाईएका कतिपय अभियानहरु गलत छन् ।

सही पत्रकारले अडान लिनसक्छ, कम्पनी सुध्रिन बाध्य हुन्छ

एउटा संचार माध्यममा कुनै बैंकको गलत कृयाकलापका बारेमा समाचार लेखिएको थियो- त्यही संचार माध्यममा पहिलेदेखि नै त्यसको बिज्ञापन प्रबाह पनि भईरहेको थियो । बैंकले बिज्ञापन हटाउँ कि समाचारको खण्डन गर्नुहुन्छ भनेर संचार माध्यमका सम्पादकलाई धम्की दिएछ । सम्पादकले जब बिज्ञापन हटाउनुस तर गलत कुरालाई सही हो भनेर खण्डन गर्दैनौ भन्ने अडान लिए, त्यसपछि बैंक आफ्ना कमजोरी सुधार्न बाध्य भयो । पत्रकारले सही ढंगको पत्रकारिता गरेको खण्डमा यसरी सुधार हुन संभव छ भन्ने उदाहरणहरु पनि छन् । नेपालको शेयर बजारमा रहेका खराब कम्पनीहरुलाई सुधार्न पत्रकारले भुमिका खेल्नसक्छ तर आम लगानीकर्ताको स्वार्थको दृष्टिले मात्र चल्नुपर्छ ।

खराब कम्पनीहरुलाई लगानीकर्ताको हितमा सुध्रिन बाध्य पार्नेपर्छ, यसमा कर्नै किसिमको मोलाहिजा र सम्झौता हुनसक्दैन तर सर्बसाधारणलाई गुमराहमा पार्ने गरी लगानीकर्ताको हित विपरितका कुराहरु ओझलमा पार्नु कदापी स्वीकार्य हुनसक्दैन ।

नेप्से नै सबथोक हो भन्ने भ्रम

शेयर बजारको घटबढ्को बिषयलाई पनि कतिपय आर्थिक पत्रकारले गलत किसिमले प्रस्तुत गर्ने गरेको देखिन्छ । आज नेप्से झिनो अंकले बढ्यो, दोहोरो अंकले बढ्यो, फलानो कम्पनीका लगानीकर्ताले कमाए वा गुमाए जस्ता कुराहरु संचार माध्यममा बढी आईरहेको पाईन्छ ।

शेयर बजारको सूचक घट्बढ् भईरहन्छ, यो सामान्य कुरा हो । कुनै दिन कयौं कम्पनीहरुको शेयर मूल्य घटे तर नेपाल टेलिकमको शेयर मूल्य ७० रुपैयाँले बढिदियो भने पनि नेप्से सूचक बढेको देखिनसक्छ तर कुनै दिन धेरै कम्पनीको शेयर मूल्य सामान्य रुपमा बढ्यो भने पनि नेपाल टेलिकम र बजार पूँजीकरण धेरै भएका अरु एक दुईवटा कम्पनीको शेयर मूल्य घट्यो भने पनि सूचकमा गिरावटको अबस्था देखिनसक्छ । नेप्से बढ्दा पनि कयौं राम्रा कम्पनीहरुको शेयर मूल्य घटेको वा स्थिर रहेको हुनसक्छ । त्यसैले नेप्सेमा घट्बढ नै सबैथोक हैन भने। बुझ्नुपर्छ । तर कयौं पत्रकार र लगानीकर्ताहरु नेप्से सूचकलाई सबथोक रहेको भ्रम पालिरहेका छन् ।

कुनै दिन कुनै सानो कम्पनीको १०० कित्ता शेयर कारोबार भएर मूल्य भने सबैभन्दा बढी १० प्रतिशत हाराहारीमा बढेको हुनसक्छ । यस्तोमा सबैभन्दा धेरै पलानो कम्पनीका लगानीकर्ताले कमाए भनेर समाचार लेख्ने पत्रकारहरु हावादारी नै हुन् । कुनै एकदुई जना लगानीकर्ताले साना कम्पनीको शेयर मिलेमतोमा किनबेच गरेर मूल्य उचालेका वा थचारेका हुनसक्छन् र यस्तोमा फलानो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए वा गुमाए भन्नु वेकार र लगानीकर्तालाई भ्रमित पार्ने कुरा हो ।

शेयर बजारमा हुने घट्बढ्लाई मात्र समाचारको केन्द्र बनाउने तर कस्ता कम्पनीको मूल्य कहाँ छ, कस्ता कम्पनीमा जोखिम छ भनेर लगानकिर्तालाई सचेत पार्ने मिडियाहरु कमै मात्र देखिएका छन् । खराब, एकदम कमजोर, लाभांश दिन नसक्ने कम्पनीहरुका बारेमा लगानीकर्तालाई सचेत पार्ने किसिमले संचार माध्यममा कमै समाचार आउने गरेका छन् । कतिपय पत्रिकाले कम्पनी विश्लेषणको नाममा पानाभरि छाप्ने सामाग्रीहरु पनि आर्थिक रुपमा लगानी गरिएको कारणले आउने गरेको गुनासाहरु छन् । त्यहाँ कम्पनीको संस्थागत सुशासनको पाटो र कमजोरीहरु कमै औल्याईएका पाईन्छन् ।

भाषण पत्रकारिताको प्रभाव

कतिपय हावादारी नेताहरुले अब शेयर बजार बढ्छ वा घट्छ भनिदिन्छन् तर शेयर बजारको पूर्वाधार बिकास र सुधार गर्ने काम फिटिक्कै गर्दैनन् । पत्रकारहरुले तिनै नेताको भाषणलाई भंगेरे टाउके अक्षरमा ठूलो हेडलाईन छापिदिन्छन् र बजारलाई प्रभावित पार्छन तर शेयर बजारको बस्तुगत अवस्था विपरित खालको हुन्छ, उल्टो असर परिरहेको अबस्था छ । ती आर्थिक पत्रकारले शेयर बजारमा सुधार र बिस्तारका लागि आबश्यक यी यी काम तपाइँले किन गर्नु भएन भनेर अर्थमन्त्री, गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका प्रमुख र बीमा समितिका अध्यक्षलाई र्याखर्याख्ती पारेको अबस्था कहिल्यै छैन । भन्नुभयो र बताउनुभयो पत्रकारिताको हावाले आर्थिक पत्रकारलाई पनि उत्तिकै ग्रसित पारेको छ ।

स्वार्थ समूहको प्रभावबाट बच्नु

शेयर बजारमा क्रियाशील विभिन्न स्वार्थ समूहले यो समाचार लेखिदिनोस्न्, यसो गर्दिन्छु, उसो गर्दिन्छु भनेर पत्रकारलाई प्रभावित पार्ने खतरा जहिले पनि हुन्छ, अति सावधानी पनि आबश्यक छ । एउटा समाचारले खराब कम्पनीमा लाखौं लगानीकर्ताले जोखिमपूर्ण लगानी नगरुन् र एउटा समाचार लुकाउँदा सही कम्पनीमा लगानी गर्नबाट लाखौं लगानीकर्ता बंचित नहोउन भन्नेमा सदैव सर्तकता जरुरी छ । आखिर पत्रकारिता आम जनताको भलाई र हितका लागि हो, कुनै पत्रकारको पेटपाल्ने अस्त्र मात्र हैन । आफुलाई घाटा हुने भए पनि पत्रकारले सही समाचार लेख्नैपर्छ । समाचार लेखेर मूल्य बढाई शेयर बेच्न जाने र कुनै कम्पनीको मूल्य घटाउने समाचार लेखेर शेयर किन्नु अपराध नै हो ।

अनुभव पनि चाहिन्छ

दैनिक आर्थिक समाचार लेखिरहने कतिपय आर्थिक पत्रकारहरु यस्ता पनि छन्, जसले शेयर बजारमा १० कित्ता पनि शेयर किनेर लगानी गरेका छैनन् र कम्पनीहरुको आधारभुत अबस्थाबारे जानकार पनि छैनन् । प्रसंग आउँदा शेयर बजारमा कसरी लगानी गर्ने होला, कुन कुन कम्पनीको शेयर किन्दा फाईदा होला, राईट कति दिन्छ भनेर सोधी आफ्नै बेईज्जत गर्छन । शेयर बजारमा धेरै अध्ययन, विश्लेषण, जोखिमबहन क्षमता, धैर्यता र सही समयमा सही निर्णय गर्नसक्ने ज्ञान चाहिन्छ नत्र जत्ति गहन आर्थिक पत्रकारिता गर्ने भए पनि घाटा र जोखिम ब्यहोर्न परेको हुन्छ भने सतही आर्थिक पत्रकारको के कुरा ।

कुनै पनि समाचारको मात्र भर नपर्नु – आफ्नै अध्ययन, विश्लेषण मुख्य कुरा

शेयर बजारका लगानीकर्ताले कुनै संचार माध्यम वा सामाजिक संजालको शीर्षक मात्र हेरेर, त्यहाँ लेखिएको कुरा पत्याएर कुनै पनि शेयर किनबेच गर्नु हानिकारक छ । संचार माध्यमहरुमा आउने कुराहरु सही भए नभएको रुजू गरी त्यसले पार्नसक्ने प्रभावको आँकलन गरेर मात्र शेयर बजारका लगानीकताहरु चल्नुपर्छ । कसैले लेखिदियो वा हल्ला चलाईदियो भने सतही टिप्पणी गर्दै आतंकित र उत्साहित भएर किनबेच गर्ने लगानीकर्ताहरु जहिले पनि जोखिममा पर्छन । कुनै पनि समाचार वा सामाजिक संजालका पोष्टहरुलाई पत्याउनु अघि आफुले पर्याप्त अध्ययन विश्लेषण गर्नैपर्छ र कम्पनीहरु र सम्बद्ध निकायबाट रुजु गराएर मात्र पत्याउनुपर्छ । फलानोले लेखेको वा भनेको भरमा मात्र पत्याएर लगानी गर्नु धेरै जोेखिमपूर्ण छ ।

3 COMMENTS

  1. Splendid work Tilak Jee. Thank you very much for such a wonderful, realistic and contemporary issues driven article. For me, this is the best article among the last 100 articles written on the Nepalese Capital Market. Good job and keep it up.

  2. nice, Lovely article, hope sharelagani.com be out of bias article, few days ago, i read news on sharelagani.com about best 5 shares to buy on top list on the basis bonus share they need to full fill capital,,,,only on the basis of capital requirement of few amounts , the shares cannot be on the top buy list excluding other shares…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here