तिलक कोइराला ।

शेयर बजारमा लगातार भईरहेको बाणिज्य बैंकहरुको शेयर मूल्य बृद्धिले उत्साहको माहौल सिर्जना गरेको छ ।

बजारमा धेरै हिस्सा ओगट्ने बाणिज्य बैंकहरुको शेयरमा लगातार खरिद चाप आएर दैनिक कारोबार रकम एक अर्ब बढीको कारोबार हुन थाल्नुले बजारलाई नयाँ दिशा निर्देश गर्ने आँकलनहरु हुन थालेका छन् । अब नयाँ लगानी बजारमा कति भित्रन्छ र लगानीकर्ताले कसरी लगानी ब्यवस्थापन गर्छन भन्ने कुरा महत्वपूर्ण हुन गएको छ, जसले बजारको उचाई मापनलाई सहज पार्छ ।

नेप्से कति बढ्ला र बजार कहाँ पुग्ला हैन, लगानीकर्ताले कस्ता कम्पनीको शेयर धारण गरेका छन,कति लाभ छ् र त्यसको आगामी प्रगति कस्तो हुन्छ भन्ने नै सर्बथा मुख्य कुरा हो । निश्चित रुपमा बाणिज्य बैंकहरुले गत बर्षको नाफाबाट लाभांश वितरणको प्रस्ताब गरे र मूल्य समायोजन भयो, लगातार बढ्दा पनि त्यो बिन्दुसम्म बाणिज्य बैंकको शेयर मूल्य अझै पुगेको छैन । मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहेका बाणिज्य बैंकहरुको शेयरमा मूल्य बढ्ने अझै प्रशस्त ठाँउ देखिन्छ । लाभांशको हिसाबले बाणिज्य बैंक, बिकास बैंक र फाईनान्सहरुको शेयरमा लगानी सुरक्षित पनि हो ।

यसो भन्दैमा बाणिज्य बैंकको शेयर मूल्यमा करेक्शन आउँदैन र लगानीकर्ताहरुले पोर्टफोलियो बदल्दैनन् भनेर कसैले ठेक्का लिन सक्दैन । कतिपय बाणिज्य बैंकहरुको शेयर मूल्य १० प्रतिशत हाराहारी सम्ममा बढिसकेको अबस्था हुँदा चार दिन अघि सस्तोमा किन्नेहरुले बेच्न आउँदैनन् भन्ने ग्यारेन्टी गर्न सकिदैन ।

पुस मसान्त आउँने लाग्दा शेयरको मूल्य बढेर धेरै कारोबार हुनुलाई शंकाको नजरले हेर्ने र अर्थमन्त्री खतिवडाको बहिर्गमनको कुरालाई जोडेर हेर्नेहरु पनि छन् ।

अहिलेको अबस्था विश्लेषण गर्दा कतिपयले शेयर धितो कर्जा प्रयोजनका लागि बाणिज्य बैंक र समायोजित मूल्य भन्दा तल गएका कम्पनीका शेयर खरिद गरेकाले मागकै अबस्था बलियो होला भन्न सकिन्छ , बैंकहरुले गाठी र घर कर्जा प्रबाह गर्न नसकेकाले शेयर धितो कर्जा प्रबाह बढ्ने आँकलन पनि गरिएकै छ तर लगानीकर्ताको मनोबल कतिखेर बदली हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । साना कम्पनीको शेयर कर्नरिङ गर्नेले मूल्य थेग्ने प्रयास गर्लान् तर ठूला कम्पनीमा आपुर्ति बढ्न थाल्दा फरक अबस्था देखिनसक्छ ।

अरु कम्पनीको शेयर मूल्य त घट्दो बजारमा पनि बढिरहेकै थिए । त्यसलाई अहिले महत्वपूर्ण मानिएको छैन ।

कम पूँजीगत लाभ हुने कम्पनीको शेयर बिक्री गरेर बढी पूँजीगत लाभ हुने कम्पनीमा पोर्टफोलियो परिवर्तन गर्ने लगानीकर्ताहरु बजारमा सक्रिय रहिरहेका हुन्छन् । अहिले बाणिज्य बैंकको शेयर मूल्य बढ्दा सुसुप्त रहेका त्यस्ता लगानीकर्ताहरु सक्रिय हुँदा पोर्टफोलियो परिवर्तनको असर पनि बजारमा देखिनसक्छ ।

याद राख्नु पर्ने कुरा के हो भने शेयर बजारमा शेयरको मूल्य एकोहोरो घट्ने वा बढ्ने मात्र भईरहदैन, घटबढ भईरहन्छ । यही घटबढको निरन्तरता नै शेयर बजार हो । नाफा हुँदा नाफा सुरक्षित गर्ने वा आफु सहज अवस्थामा रहने र शेयरको मूल्य घट्दा किन्ने र घाटा हुँदा धैर्य गर्ने कलाले नै शेयर बजारमा लगानीकर्तालाई जोखिमबाट बचाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here