तिलक कोइराला ।

शेयर बजार कमाउँने र गुमाउँने उत्तिकै संभावना भएको क्षेत्र हो । यहाँबाट पैसा कमाउँन जत्ति गाह्रो. छ, गुमाउँन उत्ति नै सजिलो छ । अझ नेपालको शेयर बजारमा रहेको जोखिमको अबस्था विश्लेषण गर्ने हो भने लहै लहै र हल्लाका भरमा उचालिएर लगानी गर्न आउने लगानीकर्ताहरु कहिल्यै उठ्न नसक्ने गरी आफ्नो भए भरको सम्पति गुमाएर बाहिरिनु पर्ने अबस्था झन् गंभीर बनेको छ ।

खास गरी साना कम्पनीहरुको उचालिएको शेयर मूल्यमा उचालिएरै लगानी गर्ने साना लगानीकर्ताहरु जोखिमको उच्च स्थानमा छन् । साना पूँजीका लघुवित्त, बीमा कम्पनी र उत्पादन तथा अन्य बर्गका कम्पनीहरुको उचालिएको शेयरमा लगानी गरेर कति फसेका छन्, त्यसको यकिन तथ्यांक त निकालेपछि मात्र थाहा हुन्छ तर विगतको पश्चातापपूर्ण अभिब्यक्तिका स्वरहरु सुन्ने हो भने समस्या चर्को छ भन्ने अनुभुति हुन्छ ।

शेयर बजारका खेलाडीहरुले बजारबाट छिटो नाफा कमाउँन थोरै चुक्ता पूँजी भएका, कारोबारमा आउँने थोरै साधारण शेयर भएका र सबृसाधारण लगानीकर्तालाई कुनै बहानामा लठ्ठ पार्न सक्ने त्यस्ता कम्पनी खोजिरहेका हुन्छन्, जहाँ दुई चार करोड रुपैयाँ लगानी गर्दा त्यत्ति नै नाफा होस् । जहाँ हान्दा बढी उफ्रिन्छ, खेलाडीहरुले त्यहीँ प्रहार गर्छन र त्यसको मार सर्बसाधारण साना लगानीकर्ताले खेप्नुपर्छ तर विडम्वना साना लगानीकर्ताहरु त्यही मार थापेर रमाईरहेका छन् ।

ठूला खेलाडीहरुले पहिले नै आफुलाई चाहिने मात्रामा साना र लक्षित कम्पनीका्े शेयर उठाईसकेपछि बजारमा हल्ला गर्न थाल्छन्, अनेक बहानाबाजी शुरु हुन्छ र सर्बसाधारण लगानीकर्ता त्यस्तै हल्ला र बहानाबाजीको पछाडि लागेर उचालिई उचालिई शेयर किन्छन् । जब त्यो कम्पनीको शेयरमा सर्बसाधारण लगानीकर्ताहरुको खरिद चाप थामिनसक्नु गरी बढ्छ, तब खेलाडीहरुले शेयर बेचेर बाहिर निस्कन्छन् र शेयरको मूल्य तीब्र रुपमा घट्न थाल्छ । त्यसपछि मात्र सर्बसाधारण साना लगानीकर्ताले आफु फसेको अनुभुति राम्ररी गर्छन, त्यसबेलासम्म धेरै ढिलो भईसकेको हुनेछ । साना तथा खराब कम्पनीको शेयरको मूल्य जब तीब्र रुपमा बढिरहेको हुन्छ, त्यसबेला त्यस्तो कम्पनीमा लगानी नगर्नुस भन्ने सल्लाह दिँदा सर्बसाधारण लगानीकर्ताहरु नै त्यस्तो सल्लाह दिने माथि जाईलाग्छन् र सुरक्षित लगानीका लागि पे्ररित गर्नेहरु मुख छोपेर हिड्नुपर्ने अबस्था आउँछ ।

सर्बसाधारण लगानीकर्ता मध्ये कतिपय अहिले पनि दुई चार करोडवाला लघुवित्तको आईपीओ परेन भन्दै रोईलो गरिरहेका भेटिन्छन् । दुई करोडवाला कम्पनीको केही लाख कित्ता आईपीओ बजारमा बिक्री गर्न अनुमति दिने र दुई लाख भन्दा बढी आबेदकलाई १० कित्ताको चिठ्ठा प्रथामा बाँडफाँड गराउने धितोपत्र बोर्ड नै दोस्रो बजारमा शेयर कर्नरिड.को नाईके हो भन्ने कुरामा अब कसैले पनि विमति राख्नु आबश्यक छैन । तर १० कित्ता शेयर पर्यो वा परेन भनेर खुशियाली र विस्मात मान्नेहरुको जमात नहटेसम्म कसैको केही लाग्दैन ।

कुनै कम्पनीले आफ्नो चुक्ता पूँजी बढाउने कुनै उपाय नभएपछि बाध्य भएर कयौं गुणा हकप्रद बेच्ने निर्णय सार्वजनिक गर्छ, सर्बसाधारण लगानीकर्ताहरु त्यस्तै कम्पनीहरु खोज्दै मूल्य उचालेर शेयर किन्न तछाड मछाड गर्छन् । जब खेलाडीहरुले उचालिएको मूल्यमा शेयर बेचेर सर्बसाधारण लगानीकर्तालाई मुर्गा बनाउँछन्, अनि थाहा हुन्छ, त्यस्तो शेयरमा को को फस्यो भन्ने कुरा । यहाँ लगानीकर्ता यतिसम्म मुर्ख छन् कि कम्पनीले हकप्रद बेच्ने निर्णय फिर्ता लिन खोज्दा उल्टै ढुंगामुढा गरेर हकप्रद बिक्री गर्नेपर्छ भन्दै नारा लगाउँछन् । दोस्रो बजारमा हकप्रदको नाममा उचालिएर शेयर किन्नु र हकप्रद शेयर किन्न फेरि पैसा जुटाउनु जस्तो दिक्दार लाग्दो खेलमा लागिरहेका त्यस्ता सर्बसाधारण लगानीकर्तालाई देखेर जाने बुझेकाहरुलाई दया लाग्नु स्वभाविक हो । हकप्रद बिक्रीका लागि शेयरधनी किताब बन्द हुँदा मूल्य समायोजन हुन्छ, शेयरको मूल्य घट्छ, हबप्रद सुचिकृत भएर आएपछि शेयरको आपुर्ति बढी हुन्छ र मूल्य घटछ् अनि शेयर पूँजी धेरै बढाएपछि कम्पनीले सोही अनुपातमा आम्दानी बढाउँन सक्दैन र प्रतिशेयर आम्दानी कम हुन्छ अनि लाभांश पनि थोरै पाईन्छ भन्ने कुरा पनि धेरैलाई बुझाउँन सकिएको अबस्था छैन ।

नेपाल धितोपत्र बोर्डले तत्काल दोस्रो बजारमा हस्तक्षेप गरी कम्तिमा एक करोड कित्ता दोस्रो बजारमा बिक्री योग्य साधारण शेयर ( ट्रेडेवल शेयर) सुचिकृत नभएका कम्पनीहरुको शेयर मूल्य एक दिनमा दुई प्रतिशत भन्दा बढी बढ्न वा घट्न नपाउँने नियम लागु नगर्ने हो भने सर्बसाधारण लगानीकर्ता अनेक बहानामा फसेर नेपालको शेयर बजारलाई विकृत बनाईदिने खतरा छ । यो नियम लागु गर्दा केही सर्बसाधारण लगानीकर्ताहरुले नै जुलुस निकालेर धितोपत्र बोर्ड घेर्न बेर छैन तर बोर्डले बुझाउँन सक्नुपर्छ, यो नियम उनीहरुकै लगानी सुरक्षाका लागि हो ।

सही आवाज उठाउँदा उल्टै प्रहरी लगाएर थुन्ने र शक्ति प्रयोग गर्ने धितोपत्र बोर्डका पदाधिकारीहरुबाट यस्तो क्रान्तिकारी र सर्बसाधारण लगानीकर्ताको हित रक्षा हुने नियम लागु गर्ने हिम्मत आउँला भन्ने कुरामा धेरै शंका छ । तर पनि निमायकको रुपमा रहेको बोर्डबाट सर्बसाधारण लगानीकर्ताको सम्पति सुरक्षाका लाथि तत्काल यस्तो काम हुनुपर्छ भन्ने आवाज उठाउनु एकदम सान्दर्भिक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here