तिलक कोइराला ।

शेयर बजारमा लगानी गरिरहेका र गर्न चाहनेहरुले प्रायः जसो सोध्ने प्रश्न हो- कुन कम्पनीको शेयरमा लगानी गर्ने होला ?

फोटो; ईन्टरनेटबाट साभार गरिएको हो ।

आफैले अध्ययन विश्लेषण गरेर लगानी सम्बन्धी निर्णय गर्न नसक्ने वा नचाहनेहरुका लागि यस्ता प्रश्नको सहारा लिनु बाध्यता पनि हुनसक्छ । अरुको सल्लाह र लहै लहैमा लाग्नेहरु अक्सर फस्ने गर्छन । लगानी धेरै जोखिमपूर्ण पनि हुनसक्छ ।

कुन कम्पनीमा लगानी गर्ने होला भनी प्रश्न गर्नेहरुका लागि यहाँ एकमुष्ठ रुपमा जवाफ दिने प्रयास गरिएको छ ।

अहिले नेपालको शेयर बजारमा मुख्य गरी तीन थरी कम्पनी छन् ।

१. लाभांशमा आधारित ढुक्कको कम्पनी

शेयर बजारमा यस्ता कम्पनीहरु अहिले पनि थुप्रै छन्, जसको शेयर मूल्य अति सस्तो छ, ढुक्कले लाभांश पाईन्छ र मूल्य घटेर खत्तमै होला भन्ने डर पनि छैन ।

यस्ता कम्पनी छानेर लगानी गर्नसके लगानीकर्तालाई बजारको घटबढ्बाट हुने ठूलो जोखिमबाट बचाउँन सकिन्छ ।

शेयरको मूल्य केही घट्यो भने पनि कम्पनीले दिने लाभांशले बैंकको ब्याज मज्जाले धान्छ । यस्तो शेयर बैंकमा धितो राखेर कर्जा लिँदा पनि बढी रकम पाईन्छ र मूल्य धेरै घटेर मार्जिन कल आउने संभावना पनि कम छ ।

यस्ता कम्पनीहरुको बित्तीय अबस्था एकदम राम्रो छ, संस्थागत सुशासन राम्रो छ, चुक्ता पूँजी र जगेडा कोष पनि बलियो छ र क्रमबद्ध प्रगति गर्दै आईरहेका छन् । यस्ता कम्पनीहरुको जोखिमबहन क्षमता पनि बलियो भएकाले लगानीकर्तालाई जोखिमको ठूलो भार पनि बोक्नु पर्दैन ।

बजारमा शेयरको आपुर्ति अधिक र खेलाडीहरु नलागेको हुनाले आकस्मिक रुपमा शेयरको मूल्य भने नबढ्न सक्छ किनभने खेलाडीहरु यस्ता शेयरमा कमै लाग्छन् तर समग्र बजारमा ठूलो बढोत्तरी भयो भने यसको पनि मूल्य बढ्छ । यस्तो बेला पूँजीगत लाभको अवसर पनि छोप्न सकिन्छ ।

२. खेलाडीहरुले खेल्ने कम्पनी

बजारमा यस्ता कम्पनी पनि थुप्रै छन्, जसलाई खेलाडीहरुले खेलाईरहन्छन् । कम्पनीको बित्तीय अवस्था मध्यमस्तरको वा ठीकै  वा शंकाष्पद रहे पनि खेलाडीहरुले कुनै बहानामा यस्ता कम्पनीको शेयर मूल्य घटाउने र बढाउने खेल खेलिरहेका हुन्छन् ।

कम्पनीको बित्तीय अबस्था, लाभांश क्षमता, संस्थागत सुशासन लगायतका कुरले शेयरको मूल्य बढाईलाई आधार दिदैनन् तर यस्तै कम्पनीको शेयर मूल्य धेरै बढिरहेको हुन्छ र घट्न थाल्दा पनि मुटु नै कमाउँने गरी घट्छन् । के कारणले मूल्य घट्यो र के कारणले मूल्य बढ्यो भनेर पत्ता लगाउँन निकै मुस्किल पर्छ तर घट्बढ् भईरहेको हुन्छ । यसको भित्री कारण भने खेलाडीको हातमा धेरै शेयर हुनु नै हो ।

खेलाडीहरुले के गर्छन भने बजारमा थोरै कित्ता शेयर भएका र केही करोड रुपैयाँ लगानी गर्दा मूल्य उचाल्न सकिने यस्ता कम्पनीहरु छनौट गर्छन र आफुले शेयर किनिसकेपछि अनेक हल्ला गर्दै मूल्य उचाल्छन् ।  मूल्य उचालेर माथिल्लो बिन्दुमा पुर्याउँछन् र आफुसँग भएको शेयर बेचेर बाहिर निस्कन्छन् । खेलाडीहरुले बेचिसकेपछि यस्ता कम्पनीहरुको शेयर मूल्य घट्न थाल्छ र फेरि पुरानै बिन्दु वा त्यो भन्दा तल आउँछ अनि फेरी खलाडीहरु छिर्छन र शेयर किनेर मूल्य उचाल्छन् । यो खेल निरन्तर चलिरहन्छ ।

खेलाडीहरुले लाभांश नै नपाउने कम्पनीहरुमा पनि खेल्छन तर कुनै बहानाबाजीमा मात्र तर अक्सर केही लाभांश पाउने र बजारमा शेयर आपुर्ति कम रहेका कम्पनीहरु नै बढी लक्षित गरिरहेका हुन्छन् । “जहाँ हान्दा बढी उफ्रिन्छ, त्यही हान्ने” प्रबृत्ति खेलाडीहरुको हुन्छ । छिटो पूँजीगत लाभ लिनु नै एक मात्र ध्येय हुन्छ ।

मूल्य धेरै तलमाथि भईरहने कम्पनीको १८० दिनको औसत मूल्य कम हुने हुँदा बैंकमा धितोमा राख्दा कम कर्जा पाईनुका साथै मार्जिन कलको सामना गर्नुपर्ने जोखिम पनि धेरै हुने हुन्छ ।

यस्ता कम्पनीहरुको शेयरमा मूल्य सस्तिएको बेला लगानी गरी खेलाडीहरुले शेयर बेच्नु भन्दा अगाडि नै बेचेर पूँजीगत लाभ सुरक्षित गर्ने हो भने मौका पनि छोप्न सकिन्छ तर यो काम धेरै जोखिमपूर्ण छ । कुनै समयमा अलिकति समयको तलमाथि भयो भने जीवनभर पछुताउनु पनि पर्छ । त्यसैले यस्ता कम्पनीको शेयरमा मूल्य उचालिएको बेलामा लगानी गर्नु सिधै डुब्नु हो ।

३. कामै नलाग्ने खराब कम्पनी

शेयर बजारमा यस्ता केही कम्पनीहरु पनि छन् जसले न लाभांश दिन्छन्, न त यसमा खेलाडीहरु नै लाग्छन् ।

संचित घाटामा रहेका, बर्षौसम्म लाभांश दिन नसक्ने, संस्थागत सुशासन अति कमजोर रहेका, भबिष्यमा बृद्धि र बिकासको संभावना अलिकति पनि नभएका, शेयरको मूल्य बढ्ने हैन, घट्ने संभावना रहेका, बैंकमा धितो राखेर कर्जा पनि नपाईने यस्ता कम्पनीहरुको शेयरमा लगानी गर्नु बेकार छ । जति सस्तोमा पाए पनि यस्ता कम्पनीहरुको शेयरमा लगानी गरी कुर्नु गोरु ब्याउँछु भनेर पर्खनु जस्तै हो । पैसा र समयको बर्बादी र तनाब मात्रै खेप्नुपर्छ ।

समग्रमा भन्दा शेयर बजार जोखिमको क्षेत्र हो । यहाँ लगानी गर्नेले धेरै होस वा थोरै, जोखिम त लिनैपर्छ । सकेसम्म कम जोखिम लिएर धेरै फाईदा हाँसिल गर्नुको मज्जा बेग्लै छ । केही ब्यक्तिले शेयर बजारबाट कमाउँछन्, धेरैले गुमाउँछन् भन्ने यथार्थ हुँदाहुदै पनि नेपालको शेयर बजारमा सुरक्षित लगानी गर्नेहरुले कमाउँनसक्ने संभावना धेरै छ । यसका लागि लगानी कौशल, धैर्यता र जोखिमबहन क्षमता भने हुनैपर्छ ।

शेयर बजारमा लगानीकर्ता स्वयंको अध्ययन, विश्लेषण र निर्णयमा आधारित भएर लगानी गर्ने स्वतन्त्रता रहने हुँदा यही र यस्तै कम्पनीमा लगानी गर्नु भन्न मिल्दैन तर लाभांश र पूँजीगत लाभ दुबैलाई हेरी लगानी विविधिकरण गर्नु भने उचित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here