शुष्मा ढुंगाना, नेपाली शेयर बजार क्षेत्रमा लगानी गर्ने महिलाहरुमा जागरुक लगानीकर्तामा पर्नुहुन्छ । शेयर बजारमा लगानी गरेका कयौं ब्यक्तिहरुले घाटा लागेको भन्ने गुनासो गरिरहेको बेला ढुंगाना चाँही शेयर बजारमा लगानी गर्दा आफलाई घाटा नभएको तर्क गर्नुहुन्छ ।

हालै शेयर बजार सुधार र बिस्तारका लागि भएको आन्दोलनबाट उदाएको शेयर लगानीकर्ता दबाब समूहकी प्रथम उपाध्यक्ष ढुंगाना शेयर बजारमा सुरक्षित लगानी गर्नुपर्नेमा जोड दिनुहुन्छ । प्रस्तुत छ , शेयर लगानी डटकमकी दीपा डुम्रेले लगानीकर्ता ढुंगानासँग गरेको कुराकानी ।

शेयरबजारमा तपाई कहिलेदेखि लाग्नुभयो?

म सेयरबजारमा लागेको करिब ५ वर्ष भन्दा धेरै समय भयो । मलाई यकिन मिति त थाहा छैन तर मेरो प्रथम आईपीओ चाँही कमर्ज एण्ड ट्रष्ट बैंकमा भरेको हुँ । मेरो शेयर बजार प्रबेश त्यहीबाट भएको हो ।

के कुराले वा घटनाले तपाईलाई शेयर बजारमा लाग्न प्रेरित गर्यो ?

त्यस्तो घटना भन्ने केही छैन । मेरो साथीले शेयर बजारमा लगानी गर्नुहुन्थ्यो र उहाँको गतिविधि देखेर मलाई पनि शेयरबजार प्रति रुचि बढ्न लाग्यो । साथीले राम्रो हुन्छ भन्नुभयो र आईपीओ भर्नुपर्छ भन्नुभयो । आईपीओ खुलेको बेलामा भर्ने हो भन्नुभयो र साथीमार्फत नै शेयर बजारमा लागेको हुँ ।

शेयरबजारमा लागेर तपाईले गुमाउनुभए कि कमाउनुभयो ?

मैले शेयरबजारमा लागेर केही पनि गुमाएकी छैन, उल्टो कमाएको नै छु भन्नुपर्छ किनभने पहिलाबाट नै आईपीओहरुमा अलि धेरै रकम राख्दा पहिले धेरै नै पर्थ्यो । । त्यति खेरि नै  १० लाखबाट माथि हाल्दा प्यान नम्बर चाहिन्थ्यो, आफ्नो स्रोत खुलाउन पर्थ्यो । त्यसो गर्न नसकिने हुनाले  १० लाख भन्दा तल ९ लाख ९९ हजार रुपैयाँको आबेदन गर्थै ।

आईपीओबाट शुरु गरेर सिक्दै अगाडि बढें । बिस्तारै दोस्रो बजारका बारेमा पनि थाहा हुँदै गयो । अनि शेयरको मूल्य बढ्दा बेच्ने, घट्दा किन्ने गर्ने बानी बसालें । शेयरको मूल्य बढ्दा कहिल्यै महंगो मूल्यमा गएर किनिनँ अनि बेच्ने बेलामा पनि मौका चुकाईन । खराब कम्पनीमा लगानी गरेको छैन, जे जति छन्, राम्रा कम्पनीमै लगानी छन् । त्यसैले मलाई फाईदा नै भएको छ । तर शेयरको मूल्य तलमाथि त भईरहन्छ, क्षणिक रुपमा कहिले अलि घाटा परे जस्तो होला, समग्रमा भन्दा म नाफामै छु । त्यसमाथि मेरो त्यति ठूलो लगानी पनि छैन, सानै पोर्टफोलियो छ ।

शेयरबजार जोखिमको क्षेत्र हो त ?

शेयर बजार केही जोखिमको क्षेत्र त हो तर कम्पनीको अबस्था अध्ययन गरेर, सस्तो  मूल्य भएको राम्रा-राम्रा कम्पनीमा लगानी गर्यो भने धेरै जोखिम पनि हुन्न । नजानीकन, अध्ययन नै नगरिकन, अरुको लहै लहैमा लागेर मात्रै लगानी गर्यौं भने धेरै जोखिम पनि हुनसक्छ । कम्पनीको ब्यवसाय कस्तो छ, कति आम्दानी गरेको छ, पहिले कति लाभांश दिएको छ, शेयरको मूल्य कति महंगो, सस्तो छ, पीई रेसियो कति छ, संचालकहरु कस्ता छन्, राम्रो, नराम्रो सबै कुरा हेर्नुपर्छ । हामीले पहिला शेयरमा लगानी गर्दा पुरै डायरीमा रातभरि कम्पनीको अबस्था उतारेर लगानी सम्बन्धी निर्णय गर्दथ्यौं । प्रतिशेयर आम्दानीको आधारमा पीई रेसियो कसरी निकाल्ने भनेर रातभरि नै मेहनत गर्दथ्यौं । त्यतिबेला अहिलेको जस्तो कम्पनीको बित्तीय विवरण अनलाईनमा हेर्ने सुविधा पनि थिएन । राम्रो अध्ययन गरेर कम्पनिको अबस्था बुझेर लगानी गर्दा शेयर बजार राम्रो छ । धेरै जोखिम छैन नै भन्छु ।

शेयर बजारमा धेरै लगानीकर्ताहरुले लगानी गुमाए भन्ने हल्ला छ नि ? तपाइँ फेरि धेरै जोखिम छैन, मैले त कमाएँ भन्नुहुन्छ ।

शेयरबजारमा धेरै लगानीकर्ताहरुले सम्पत्ति गुमाए भन्दापनि उहाँहरु कुन समयमा बजार प्रवेश गर्नुभयो ? अध्ययन गरेर गर्नुभयो अथवा अरूको हल्ला र लहै लहैमा लागेर प्रवेश गर्नुभयो ? । शेयरबजारमा गुमाउने वा कमाउने भन्ने त आफुमा नै भर पर्ने हुन्छ । यदि राम्रो कम्पनीमा उहाँहरुले लगानी गर्नुभएको छ र प्रतिफल राम्रो दिने खालको छ भने आँत्तिनु पर्दैन । शेयर बजार तलमाथि भईरहन्छ, आज बढेको शेयरको मूल्य भोलि घट्न पनि सक्छ । राम्रो कम्पनीको सस्तो शेयरमा सुरक्षित लगानी गर्ने र धैर्यता राख्ने हो भने शेयर बजारबाट गुमाईदैन । अहिले गुमाईएको छ भने पनि भोलि कमाईन्छ ।

शेयर बजारमा सुरक्षित किसिमले लगानी गर्न के गर्नुपर्ला

सुरक्षित किसिमले लगानी गर्न पहिले त कम्पनीको अवस्था अध्ययन नै गनुपर्छ । कस्तो खालको कम्पनि हो, कसरी चलेको छ, कति लाभांश दिएको थियो, कति देला, शेयरको मूल्य महंगो छ कि सस्तो ? यस्ता कुराहरु हेर्नुपर्छ । शेयरको भाउ आएको बेलामा बेच्न पनि जान्नुपर्छ । एउटा मात्रै कम्पनीमा हैन, राम्रा ५- ७ वटा कम्पनीहरु छानेर लगानी गर्नुपर्छ, धेरै ऋण खोजेर लगानी गर्नुहुन्न । यस्तै तरिकाहरु नै हुन् ।

यस क्षेत्रमा आउन चाहने नयाँ लगानीकर्ताहरुलाई तपाईंले के कस्ता सल्लाह दिनुहुन्छ ?

यस क्षेत्रमा आउने नयाँ लगानीकर्ताहरुका लागि म प्रथमतः आईपीओबाट नै शुरु गर्नुहोस् भन्न चाहन्छु किनकि मैले पनि आईपीओबाट नै शुरु गरेको हो । आईपीओमा पहिला त अलि धेरै नै पथ्र्यो तर अहिले १० कित्ता भन्दा पर्दैन । तै पनि आईपीओबाट नै शुरु गर्नु उचित हुन्छ । त्यसपछि अध्ययन गरेर बिस्तारै सेकेण्डरी मार्केटमा प्रबेश गर्नुपर्छ । कम्पनीको अबस्था बुझेर मात्र लगानी गर्नुपर्छ ।

तपाईंहरुले हालै शेयर मूल्य बढाउन आन्दोलन पनि गर्नुभयो भन्ने चर्चा छ नि ?

केही गलत सोच भएकाहरुले हाम्रो दबाब समूहले मंसिर १० गतेदेखि थालेको आन्दोलनलाई शेयरको मूल्य बढाउँन आन्दोलन गरेको भन्दै छन् । उनीहरुको गलत प्रचारबाजीको चक्रमा तपाइँ पनि पर्नु भयो जस्तो छ ।
वास्तवमा हाम्रो दबाब समूहले गरेको आन्दोलन पूँजी बजारको सुधार र बिस्तारका लागि हो । सरकार र नियमनकारी निकायले तीन चार बर्ष पहिले नै गर्छु भनेका काम किन भएन, तत्काल गर भन्ने दबाब दिनलाई हो । पूँजी बजारको सुधार र बिस्तार भयो भने शेयरको मूल्य बढ्छ कि घट्छ भन्ने चिन्ता कसैले पनि लिनु पर्दैन । पहिले काम हुनु पर्यो भन्ने हो तर काम नगर्नेहरुले आफ्नो बचाउ गर्न हामीलाई उल्टो आरोप लगाई दिए ।

शेयर बजारको नीति नियम, पुर्वाधार र प्रविधि चाहियो भन्ने आन्दोलनलाई बदनाम गर्ने तत्वहरुले गलत हल्ला फैलाए ।

आन्दोलनको उपलब्धि के भयो त नि ?

हाम्रो आन्दोलनको उपलब्धी धेरै मात्रामा हासिल भईसकेको छैन । बल्ल केही कामहरु गर्नलाई दबाब सिर्जना भएको छ । अर्थ मन्त्रालयले समितिले समिति गठन गर्नु, ५८ बुँदे सुझावहरु प्रस्तुत हुनु, राष्ट्र बैंकले केही कुराको कार्यान्वयन थाल्नु यसका प्रारम्भिक संकेत हुन् तर पुरै उपलब्धि हासिँल हुनलाई समय लाग्छ । हामीले लगातार दबाब बनाई राख्नुपर्छ । दबाब र आन्दोलन विना यो देशमा परिवर्तन संभवै छैन जस्तो लाग्छ । नम्र भएर सोझो तरिकाले भनेको कुरा कसैले पनि सुन्दैन तर पनि हामीले रिले अनशनदेखि आमरण अनशनसम्म गर्यौं । ईतिहासमै शेयर बजार सुधार र बिस्तारका लागि यो पहिलो घटना हो । हामीले थालेको अभियान निरन्तर रहन्छ ।

तपाईहरुलाई नेता बन्न आन्दोलन गरेको भन्ने आरोप थियो, हालै दबाब समूहको समिति गठन पनि गर्नुभयो, तपाईं उपाध्यक्ष नि बन्नुभयो । अब आरोप पुष्टि भएन र ?

होइन, नेता बन्नलाई हामीले आन्दोलन गरेको होइन । यहाँ पनि गलत बुझाई छ । हाम्रो दबाब समूह आन्दोलनको उपज हो, दबाब समूह कहीँ दर्ता भएको थिएन र यसलाई दर्ता नगरी खुला समूहको रुपमा राख्ने भन्ने नै धेरै साथीहरुको सोच थियो तर बीचमा कुरा के आईदियो भने सरकारसँग वार्तामा जाँदा वा कहीं गएर आधिकारिक प्रतिनिधित्व गर्नुपर्दा दर्ता खोजिदो रहेछ । त्यही भएर भेला गरेर समिति गठन गरियो र दर्तामा जाने निर्णय भयो ।

हामीलाई लगानीकर्ताको भेलाले नै कामहरु गर्न खटाएको छ र त्यही अनुसार पदमा राखेको छ । यो हाम्रो ब्यक्तिगत चाहनाले गठन गरिएको समिति हैन, लगानीकर्ताहरुको खुला भेलाबाट चयन भएको समिति हो र लगानीकर्ताको आवाज बोल्ने समिति हो ।

नेता बन्नलाई विल्कुलै हैन । दबाब समूहमा रहेका धेरै साथीहरु विभिन्न संघ, संगठनमा आबद्ध छदैछन् । साथीहरु विभिन्न ठाउँमा आफै नेता हुनुहुन्छ, कुनै संस्था दर्ता गरेर, चुनिएर नेता बन्नै पर्दैन ।

उपाध्यक्षहरु पनि धेरै रहेछन्, तपाइँ प्रथम उपाध्यक्ष भएर अब के गर्नुहुन्छ ?

अबश्य नै हो, हाम्रो संगठनमा चार जना उपाध्यक्ष छौ । देश संघीय मोडलमा गएको हुनाले हामीले पनि सबै प्रदेश समेट्ने गरी समितिको आकार अलि ठूलो बनाएका छौ । हामीमाथि जिम्मेवारी थपिएको छ । हिजोसम्म आफ्नो मात्रै अधिकार र हितको कुरा गरिन्थ्यो भने अब हरेक लगानीकर्ताका आवाजहरुलाई हामीले उठाउनु परेको छ । समग्र पूँजी बजारको सुधार र बिस्तारको जिम्मेवारी काँधमा बोकेर हिड्नु परेको छ । लगानीकर्ता साथीहरुलाई चेतनशील र जागरुक बनाउँदै पूँजी बजारमा हुनुपर्ने कामहरु चाँडै गराउँन भुमिका खेल्छौ ।

शेयर लगानीकर्ता दबाब समूहले अब लगानीकर्ताहरूको हकहितमा के कस्ता कामहरु गर्छ ?

हामी लगानीकर्ताहरूको हकहितका लागि नै खटिरहेका छौ । हामीले अगाडि सारेका मागहरु, सरकार र नियमनकारी निकायहरुले गर्नुपर्ने कामहरु केही शुरु भएका छन्, केही कहिले शुरु हुन्छ भन्ने नै संकेत पाउन सकिएको छैन । पूँजी बजार सुधार र बिस्तारका कामहरु चाँडै गर्नुपर्छ भन्ने कुरामै बढी ध्यान दिन्छौ र आम लगानीकर्ता साथीहरुमा जागरण ल्याउने भुमिका पनि खेल्छौ ।

नेपालको शेयर बजार सुधारका मुख्य बाधकहरू को – को हुन ?

नेपालको शेयर बजार सुधारका मुख्य बाधकहरू यिनै हुन् भनेर किटान नगरौ तर सरकार र नियमनकारी निकायहरुले समयमा काम गरेका छैनन् । अब उनीहरुलाई के भन्ने ? शेयर बजारमा चलखेल गर्ने, सर्बसाधारण लगानीकर्तामा अन्योल बढाउने, बजार सुधार र बिकास हुन नदिने तत्वहरु बाधक हुन् । पूँजी बजारको साँचो लगानीकर्ताको हातमा पुर्याउँन नदिने तत्वहरु बाधक हुन् । कुनै ब्यक्ति र समूहलाई तोक्न चाहन्नौ ।

लगानीकर्ताहरुका अरु पनि संघसंगठनहरु छन नि, तिनीहरूसँग चाँही कस्तो व्यवहार गर्नुहुन्छ ?

हो, पहिलेदेखि नै संचालनमा रहेका अरु संघ संगठनहरु पनि छन् । उनीहरुसँग हाम्रो हार्दिकतापूर्ण सम्बन्ध रहन्छ । उहाँहरुले पनि गर्ने लगानीकर्ता र पूँजी बजारकै लागि हो भने हामीले पनि त्यही हो । कसैले पनि ब्यक्तिगत र समूहगत स्वार्थ बोकेर हिड्नु भएको छैन भने हाम्रा चासोका बिषयहरु मिल्छन् र हातमा हात मिलाएर पूँजी बजार सुधार र बिकासका लागि पहल गर्छौ । कसैलाई छोईछिटो हाल्दैनौ तर उहाँहरुको स्वार्थ अर्कै छ र हामीसँग मिल्दैन भने अर्कै कुरा हो । लगानीकर्ताको हित, पूँजी बजारको सुधार र बिकासको स्वार्थमा काँधमा काँध मिलाएर लगाडि बढ्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here