तिलक कोइराला ।
शेयर बजारमा लगानी गरी सजिलै पैसा कमाउँन सकिने सुत्रहरुका बारेमा समय समयमा विद्धान र विश्लेषकहरुको प्रस्तुति हेर्न र पढ्न पाईएकै छ । शेयर बजारमा लगानी गरी कसरी सजिलै पैसा गुमाउँन सकिन्छ भन्ने बारेमा सर्बसाधारणलाई जानकार बनाउँने सुत्र प्रस्तुत गर्नेहरुको भने चरम अभाव देखिएको छ । त्यही अभाव पुरा गर्न बजारमा लगानी गरी सजिलै पैसा गुमाउँन सकिने सुत्रहरु यहाँ प्रस्तुत गरिएका छन्:

शेयर बजारमा सजिलै पैसा गुमाउँन सकिने सुत्रहरु

१. आफैले अध्ययन विश्लेषण र निर्णय नगरी सामाजिक संजाल, अनेक खालका स्वार्थकेन्द्रित ब्यक्ति र समूहहरुलाई सोध्नुपर्छ । उनीहरुले जे भन्छन्, त्यही अनुसार लगानी गर्नुपर्छ । बजारमा स्वार्थ समूहले चलाउने हल्लालाई मुख्य आधार र विस्वास मानी लगानी गर्दै जानुपर्छ । आफुले अध्ययन, विश्लेषण र निर्णय गर्ने कष्ट कत्ति पनि गर्नुहुन्न नत्र सुरक्षित लगानी हुन्छ र लगानी डुब्ने संभावना कम भएर जाने खतरा हुन्छ ।

२. सकेसम्म नेगेटिभ ( ऋणात्मक) नेटवर्थ भएका कम्पनीहरु खोज्नुपर्छ ।

३. कहिल्यै लाभांश नदिने कम्पनीहरुमा लगानी गर्दा सजिलै लगानी डुबाउँन सहयोग पुग्नसक्छ ।

४. संस्थागत सुशासन अत्यन्तै दयनीय रहेका कम्पनीहरुमा लगानी गरेर पैसा डुबाउँदा विछट्टै मज्जा आउँछ । सधैं विवाद र चर्चामा आईरहने, बेलैमा साधारणसभा नगर्ने, नियमनकारी निकायहरुकोे कारबाहीमा बेला बेलामा परिहने, शंकाष्पद कारोबार भएका, केही सिमित ब्यक्तिको हातमा मात्र शेयर रहेका, मूल्य अति महंगो भएका कम्पनीको शेयरमा सकेसम्म लगानी खन्याउनुपर्छ ।

५. नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा प्रबाह गर्न नपाईने भनी सूचीबद्ध गरेका र बैंकहरुले धितो राखेर कर्जा नदिने कम्पनीहरुको शेयर उठाउँनुपर्छ । यसो गर्दा आफुलाई आपत् परेको बेला त्यो शेयर राखेर कर्जा पनि पाईदैन र डुबेर छटपटाउँन अरु सजिलो हुन्छ ।

६. सबैभन्दा धेरै हकप्रद शेयर बिक्रीमा ल्याउने कम्पनीको शेयर सकेसम्म उचालिएर किन्नुपर्छ । जति धेरै प्रतिशत हकप्रद बिक्रीमा ल्याउने घोषणा भयो, त्यति धेरै उचालिएर महंगो मूल्यमा शेयर किन्नुपर्छ । हकप्रद भनेको कम्पनीले शेयरधनीलाई मायाँ गरेर सस्तोमा शेयर दिने हैन, उसलाई थप पूँजीको आबश्यकता भएकाले शेयर बेच्न लागेको हो भनी बुझ्नु हुँदैन । हकप्रदले शेयरको संख्या थपिएपछि प्रति शेयर आम्दानी कम हुन्छ र लाभांश दर पनि घट्छ । हकप्रद किन्दा लगानीकर्ताले थप लगानी गर्नुपर्छ र हकप्रदपछि मूल्य समायोजन र बजारमा शेयरको संख्या बढ्न गई आफुले पहिले किनेको शेयरको मूल्य उल्लेखनीय रुपमा घट्नसक्छ र सजिलै डुब्न सकिन्छ ।

७. कम्पनीले थप नयाँ साधारण शेयर (एफपीओ) को सार्वजनिक निश्काशन गरेर पूँजी, साधारण शेयर संख्या बढाउने निर्णय गर्नासाथ उचालिएर त्यही कम्पनीको शेयर दोस्रो बजारबाट महंगोमा किन्नुपर्छ । एफपीओपछि बजारमा शेयर संख्या बढेपछि आफुले किनेको शेयरको मूल्य थप घट्नसक्छ र डुब्नलाई सहयोग पुग्छ ।

८. कम्पनीले लाभांश वा सम्पति बेच्ने घोषणा गर्नासाथ वा अपुष्ट हल्ला बेस्सरी चल्दा सर्किट लागेर मूल्य बढेको दिनमा सकेसम्म महंंगोमा शेयर किन्ने मौका गुमाउनु हुन्न किनभने त्यही दिन पहिले सस्तोमा शेयर किनेर बसेका र फाईदा भएकाहरुले महंगोमा शेयर बेच्ने मौका छोपेका हुन्छन् । सजिलै डुब्न चाहनेहरुलाई यस्तो बेलामा लगानी गर्दा अपूर्व अवसर प्राप्त हुन्छ ।

९. खेलाडी लागेकै शेयरमा लगानी गर्नुपर्छ र उनीहरुले मूल्य उचाल्दै गएर माथि पुर्याई बेचेर बाहिर ननिस्किदासम्म शेयर धारण गरिरहनुपर्छ । जब खेलाडीले सबै शेयर बेचेर नाफा सुरक्षित गरी बाहिर निस्कन्छन् र शेयरको मूल्य धाम्नै नसकिने गरी घट्न थाल्छ, अनि आफुले महंगोमा किनेको शेयर बेच्न थाल्नुपर्छ । त्यो बेला आफुले महंगोमा किनेको शेयर नबिके रुवाबासी गर्नुको मज्जा नै बेग्लै हुन्छ । शेयरको मूल्य बढ्दासम्म उचालिएर किन्ने र घट्न थालेपछि घाटा खाएर बेच्ने गर्नुपर्छ किनभने यसो गर्दा सधैं गुमाईरहने अवसर सिर्जना हुन्छ । मूल्य धेरै बढ्दा किन्ने र धेरै घट्दा बेच्ने सुत्र नै सही सुत्र हो भनेर घाटाको ब्यापार गर्नेहरुको लागि सही सुत्र हो ।

१०. शेयर बजार माग र आपुर्तिको नियम अनुसार चल्छ भन्ने कुरा, लगानीकर्ताको मनोबल, कम्पनीको अवस्था, देशको अर्थतन्त्र, राजनीति, राष्ट्रिय आपत् विपत्को प्रभाव लगायतका बिषयमा रत्तिभर पनि ख्याल गर्नुहुन्न किनभने यी त लगानी सुरक्षाका लागि पो हुन् त । कम्पनीको अबस्था र आफ्नो जोखिमबहन क्षमता हैन, नेप्से सूचक र होहल्ला हेरेर लगानी गर्दा डुब्न अरु सहज हुनसक्छ ।

११. आफ्नो जोखिमबहन क्षमता नहेरी अन्धाधुन्ध रुपमा शेयर बजारमा लगानी गर्नुपर्छ र फर्सतमा पछुताउने अवसर सिर्जना गर्नुपर्छ । शेयर बजारमाा डुबेर पछुताउनु पनि शिक्षा लिने एउटा चरण हो भनेर बुझ्नुपर्छ ।

१२. शेयर बजारमा लगानी गर्नेहरुले सही कम्पनी, सस्तो र राम्रो शेयर किनी धैर्यता भने राख्नै हुन्न । यसो गरे त सुरक्षित लगानी भईहाल्छ ।

१३. शेयर बजारमा आफ्नै पैसा हैन, महंगो ब्याजमा ऋण काढेर ल्याएको पैसा खराब कम्पनीहरुमा उचालिएर लगानी गर्नुपर्छ । एकातिर चर्को ऋणको सावाँ ब्याज तिर्नुपर्ने र अर्कोतिर शेयर बजारमा हुने घाटा सहनुपर्दा मर्नु न बाँच्नुको अबस्था सामना गर्दा बेग्लै मज्जा आउँछ । आफुले किनेको शेयरमा नाफा भए बेचेर पहिले ऋण तिर्नुको सट्टा झन् खराब कम्पनीमा लगानी बढाउँदै जानुपर्छ, अन्तिममा ऋण दिने साहु नै खोज्दै मसानघाटसम्म किन नआओस् ।

यी सुत्रहरु शेयर बजारमा लगानी गरी पैसा गुमाउँन चाहनेहरुका लागि मात्रै हुन्, सुरक्षित लगानी गरी कमाउँन चाहनेहरुका लागि अलग्गै सुत्रहरु छन्, जसलाई पछि प्रस्तुत गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here