तिलक कोइराला ।

अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरन्जिवी नेपाल बेला बेलामा सार्वजनिक मञ्चहरुमा भाषण गर्दै भन्ने गर्छन कि शेयर बजार नबढ्नु पर्ने कुनै कारण छैन, किन बढ्न सकेको छैन अचम्मको कुरा छ ।

कुनै समय शेयर बजारका लगानीकर्ताको मनोबल हदैसम्म खस्काउने र शेयरमा लगानी गर्नेहरुलाईं हतोत्साहित पार्ने भाषण गर्ने अर्थमन्त्री खतिवडालाई पनि अहिले शेयर बजार बढिदेओस भन्ने लागेको छ । पहिले बैंकमा निक्षेप राखेर ढुक्कको ब्याज खाउँ भनी भाषण गर्ने अर्थमन्त्री खतिवडा अहिले अब महंगो ब्याज पाईँदैन, शेयर बजारमा लगानी गर्नुहोस् भन्न थालेका छन् । आफ्नो नाममा शेयर बजारका कम्पनीको एक कित्ता शेयर नभएका खतिवडालाई एकाएक शेयर बजार बढोस भनी चाहनु जाग्नुको अरु केही कारण नभएर पूँजी बजार खस्कदा उनीमाथि परेको आन्तरिक र बाह्य दबाब नै मुख्य हो भनी बुझ्नुपर्छ ।

गभर्नर नेपाल त झन् ब्यवहारले उल्टो गरे पनि मुखले शेयर बजार बृद्धिका लागि धुप हाल्दै आएकै हुन् । तर यिनीहरुको भाषणवाजी र चाहनाले मात्रै शेयर बजारमा शेयरको मूल्य बढ्ने हैन, आधारभुत अबस्थामै ठूलो परिवर्तनको खाँचो छ ।

शेयर बजारमा शेयरको मूल्य बढ्नलाई बाधा सिर्जना गर्ने मुख्य चार कारणहरु छनः ती हुन एफपीओ, आईपीओ, राईट र बोनस ।

एफपीओ कसरी बाधक ?

शेयर बजार उचाईमा रहेको बेला तीन बर्ष अघि जब कम्पनीहरुले प्रिमियममा शेयर बिक्री गर्ने लहर ल्याउन शुरु गरे, धेरै लगानीकर्ताहरुको पैसा त्यसमा फस्न पुग्यो । थप नयाँ साधारण शेयर अर्थात एफपीओले दोस्रो बजारलाई संकटतिर धकेल्न शुरु गरेको थियो । भलै लगानीकर्ताहरु शुरुका दिनहरुमा एफपीओ भन्दै उचालिएर शेयर किन्दै थिए ।

राष्ट्रिय बाणिज्य बैंकले बिक्री गरेको नेपाल ईन्भेष्टमेन्ट बैंकको शेयर, शिखर ईन्स्योरेन्स, नेपाल लाईफ, स्टान्डर्ड चार्टर्ड, नेपाल एसबीआई बैंक, प्रिमियर ईन्स्योरेन्स, पोखरा फाईनान्स, बुटवल पावरलगायतका कम्पनीहरुमा एकातिर प्रिमियमसहितको मूल्य तिरेर लगानीकर्ताले अर्बौ फसाए भने अर्कोतिर ती शेयरले बजारमा आपुर्ति बढाईदिँदा मूल्यमा अकल्पनीय गिरावट आयो । एफपीओ किन्ने र दोस्रो बजारबाट शेयर किन्ने दुबै खाले लगानीकर्ताले दोहोरो मार खेपे । एफपीओको कारण पहिले नै आईपीओमा शेयर हात पारेका र संस्थापकहरुलाई फाईदा हुन गयो अर्थात कम्पनी मोटाए, दोस्रो बजारका लगानीकर्ता दुब्लाए । शेयर कित्ता धेरै भयो, लगानी गरेको भन्दा पैसा कम भएर गयो ।

दोस्रो बजारमा आउनुपर्ने अर्बौ रकम एफपीओमार्फत कम्पनीमा पूँजीकृत हुँदा दोस्रो बजारलाई मार पार्यो र शेयर बजार दुब्लायो । एफपीओमार्फत संकलन गरेको प्रिमियमबाट बोनस खाँदा हात्तीको मुखमा जिरा हुन पुग्यो ।

राईटले गरायो धेरैलाई टाईट

शेयर बजारलाई संकटग्रस्त पार्ने र माथि उठ्नै नदिने अर्को कुरा राईट अर्थात हकप्रद नै हो । नेपाल राष्ट्र बैंकले जब बैंकहरुको चार गुणा पूँजी बृद्धिको नाममा जथाभावी हकप्रद बिक्री गर्न कम्पनीका संचालकहरुलाई खुला छाडिदिएर नीतिगत भ्रष्ट्राचार गर्यो, त्यो नै शेयर बजारमा अकल्पनीय क्षतिको अर्को कारण थियो ।

यही लेखक हो, जसले मेरोलगानीको सम्पादक हुँदा ७५ अर्बको हकप्रद आउँदैछ भनेर गभर्नरको ध्यानाकर्षण गराएको थियो । त्यतिबेला उनले यस्तो आधारसहितको समाचारलाई हावादारीको संज्ञा दिएका थिए तर शेयर बजारलाई संकटको डिलमा पुर्याउने नै त्यो राष्ट्र बैंकको गल्ति मुख्य कारक थियो भन्ने कुरा अहिले प्रमाािणत भएको छ ।

शुरुका दिनहरुमा हकप्रद भन्दै उचालिने लगानीकर्ताहरु पनि कम्ता दोषी हैनन् । कम्पनी जत्ति नै खराब भए पनि जत्ति धेरै प्रतिशत हकप्रद शेयर बिक्रीको घोषणा गर्यो, लगानीकर्ताहरु त्यत्ति नै धेरै उचालिने रोग फैलिएको थियो । हकप्रदमा उचालिन हानिकारक हो भनेर लेख्दा कयौं पटक धम्कीको सामना पनि गर्नु परेको थियो ।

पूँजी बृद्धि गरेर बैंकहरुलाई बलियो र जोखिमबहन गर्नसक्ने बनाउने सोच राम्रै थियो । तर त्यसलाई प्राप्त गर्न गलत बाटो अपनाईयो । हकप्रदको नाममा शेयरको मूल्य उचालेर माथि पुर्याई संस्थापकहरुले शेयर बजारमा साधारण शेयर महंगोमा बेचे र आफुले हकप्रद खरिद गर्ने पैसा जुटाए । कतिपयले अर्को बैंकबाट विभिन्न शीर्षकमा कर्जा बनाएर हकप्रद भरे र जसले भर्न सकेनन्, त्यो शेयर दोस्रो बजारमा लिलाममा बेचेर बोनस खाने पैसा जुटाए । यसले शेयर बजारमा धेरै आपुर्ति बढाईदियो र बित्त बजारमा तरलता संकटलगायतका  बिकृति पनि ल्यायो । राष्ट्र बैंकले यस्ता विकृतिहरुप्रति आँखा चिम्लनु स्वभाविक थियो किनभने विकृतिको वाहक उ नै थियो ।

हकप्रदमा उचालिदा लगानीकर्ताको हातमा शेयर संख्या धेरै भयो तर अहिले लगानी गरेको रकम भन्दा दुई तिहाई कम सम्पति लिएर बस्नु परेको अबस्था छ । कतिपय कम्पनीको शेयर किन्नेले त ९० प्रतिशतसम्म आफ्नो लगानी डुबाएका छन् । उनीहरुलाई अब उठ्न गाह्रो छ ।

हकप्रदको गलत बाटो समात्दा कतिपय कम्पनीहरुले अहिलेसम्म लिलाममा शेयर बिक्री गर्न नसकेर थला परेका छन् भने पूँजी पुर्याउँन संभावना कमजोर भएको छ । यसले समग्र ब्यवसायमै हानेको देख्न सकिन्छ ।

राष्ट्र बैंकले गल्ति गरेकै थियो, बीमा समितिले पनि त्यस्तै नीतिगत भ्रष्टाचार गरेर बीमा कम्पनीहरुको चुक्ता पूँजी चार गुणाले बढाउने र जत्ति पनि हकप्रद बिक्री गर्न पाउने नीति ल्याएर राष्ट्र बैंककै सिको गर्यो । बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाइँ राष्ट्र बैंकबाटै काजमा आएका हुनाले उनले पहिलेको गल्तिको सिको गर्नु स्वभाविक मान्न सकिए पनि शेयर बजारप्रति यो अर्को घात थियो ।

कतिपय रोगी बीमा कम्पनीहरुलाई सुधार्नुको सट्टा चापागाइँले नयाँ बीमा कम्पनीहरुलाई उल्टै लाईसेन्स दिएर संख्या बढाए, यसमा ठूलो नीतिगत भ्रष्टाचार भयो । अहिले पनि कयौं रोगी बीमा कम्पनीहरु छन्, बीमा समितिले सुधार्ने हैन, कहाँबाट पैसा आउँछ भनेर झार्ने खेती नै गरिरहेको भान हुन्छ । नयाँ बीमा कम्पनीहरुमा संस्थापक शेयर हाल्न पनि दोस्रो बजारमा शेयर बिक्री गर्नेहरुको ओईरो नै लाग्यो ।

आईपीओले खियायो शेयर बजार

शेयर बजारमा आएको भयंकर गिरावटबाट आँत्तिएर लगानीकर्ताहरु भाग्दै गर्दा यो देशका निमायकहरुको दिमागमा यस्तो जुक्ति फुर्यो कि भए भरका कम्पनीहरुको प्राथमिक शेयर बिक्रीमा ल्याईदिए बजारलाई अरु खस्काउँन सकिन्छ । ठूला ठूला आईपीओहरु आउने तयारी हुँदै गर्दा अर्थमन्त्री खतिवडाले झन् अर्बौ अर्बका कम्पनीहरुलाई शेयर बजारमा ल्याउने उद्घोष गरे । काम लाग्ने होस् वा नलाग्ने नै किन नहोस् आईपाीओको ओईरोले दोस्रो बजारलाई माथि उठ्न दिएन मात्रै हैन, भईरहेका कम्पनीहरुको शेयर मूल्य समेत पातालमा पु्र्याईदियो । स्थापित हाईड्रोपावर कम्पनीहरुले अहिले शेयर बजारमा आईपीओको बाढीको सामना गर्दा खराब अबस्था ब्यहोर्नु परेको छ र आईपीओकै मूल्यमा शेयर झरेको छ । यही अबस्था रहे अब आईपीओ समेत बिक्न सक्ने देखिन्न ।

आईपीओको बाढी अहिले तत्काल रोकिनेवाला छैन किनभने माथिल्लो तामाकोशीले शेयर बजारमा ल्याउने बाढीको प्रभाव आँकलन हुँनै बाँकी हुँदा मध्य भोटेकोशी, रसुवागढी, सान्जेन मात्रै हैन जीवनमा कहिल्यै लाभांश दिन नसक्ने कयौं कम्पनीहरु पनि शेयर बिक्रीको तयारीमा जुटिरहेका छन् । शिवम् सिमेन्टस् जस्ता प्रिमियममा शेयर बिक्री गर्ने अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्षका प्रिय अरु कम्पनीहरु आउनेवाला छन् ।

बीमा समितिका अध्यक्षले लाईसेन्स दिएका १३ वटा नयाँ बीमा कम्पनी र पुनर्बिमा कम्पनीको ठूलो कित्ता आईपीओ बिक्रीमा आउँदा अहिलेका बीमा कम्पनीहरुको शेयर मूल्य कति दुब्लाउला भन्ने आँकलन गर्नु पनि एकदम जरुरी छ । अरु सिमेन्ट कम्पनीहरु, सेवा क्षेत्रका कम्पनीहरु, केबलकारहरु, कृषि क्षेत्रका कम्पनीहरु कति कित्ता शेयर कति प्रिमियममा बेच्न आउँलान् ? अहिले कल्पनासम्म गरौं ।

दोस्रो बजारलाई मजबुत र नियमनका आधारहरु बलियो नबनाई शेयरको बाढी मात्रै ल्याउने मुर्खता गरिएको छ । नियमनकारी निकायहरुको यही मुर्खताले शेयर बजारमा लगानी गर्दै आएकाहरु घरको न घाटको भएका छन् । शेयर बजारमा जोखिम हुन्छ भन्ने सुत्र घोकाउँदैमा नियमनकारी निकायहरुले आफ्नो दायित्व र कर्तब्य पुरा भएको ठानिरहेका छन् तर त्यो मुर्खता नै हो ।

बोनस शेयरमा उचालिनु पनि भयो घातक

शेयर बजारमा आपुर्ति बढाएर मूल्य तल झार्ने काममा बोनस शेयरको पनि ठूलो हात छ । कम्पनीहरुले पूँजी बृद्धिको चापमा परेर सकेसम्मको बोनस शेयर जारी गरे । त्यसले बजारमा शेयरको मूल्य समायोजन गरिदियो भने आपुर्ति बढी हुँदा मूल्य अरु खस्कियो । पूँजी बढाए अनुसारको खुद नाफा बढाउँन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानीमा ठूलो गिरावट आयो र त्यसले लगानीकर्तामा निराशा उत्पन्न गराउँन मद्धत गर्यो । पहिले राम्रा भनिएका एभरेष्ट, स्टान्र्डर्ड चार्टर्ड जस्ता बैंकका दोस्रो बजारबाट शेयर किनेका शेयरधनीले नै बोनस शेयरको लोभ गर्दा थाम्न नसकिने घाटा खानु परेको अबस्था छ । जत्ति धेरै बोनस शेयर वितरणको घोषणा गर्यो, त्यति धेरै उचालिएर शेयर किन्दा खानु परेको घाटाले शिक्षा त अबश्य दिएको होला तर लगानीलाई नाफामा पुरयाउँन अरु धेरै समय लाग्छ ।

यी चार कारणहरु मात्रै नभई अरु कयौं कारणहरु छन्, जसले शेयर बजारप्रति आम लगानीकर्तामा निराशा बढाईदियो र तीन बर्षदेखिको गिरावट जारी छ ।

उसो भए शेयर बजार उठ्न अरु कति समय लाग्ला ?

शेयर बजारमा माग र आपुर्तिले ठूलो भुमिका खेल्छ । कम्पनीको अबस्था, अर्थतन्त्र, राजनीति, पूँजी बजारमा हुने सुधार, प्रविधि, सरकारको नीति, नियमनकारीहरुको कृयाकलापलगायतले लगानीकर्ताको मनोबल विकासमा महत्वपूर्ण आधार दिन्छ । शेयर बजार यस्तो ठाउँ हो जहाँका लगानीकर्तामा अरु ठोस कारण नभए पनि मनोबैज्ञानिक असरले ठूलो भुमिका खेल्छ ।

अहिले पूर्ण अनलाईन कारोबार प्रणाली लागु हुँदै गरेको अबस्थाले केही आशा जगाएको भए पनि हिजो शेयर दलालको कार्यालयमा देखिने थामिनसक्नुको भीड हराएको बेला छ र भागेका लगानीकर्तालाई फेरि बजारमा फर्काउन ठूलै मेहनतको आबश्यकता देखिन्छ ।

बाणिज्य बैंकहरुले राम्रो प्रगति विवरण पस्केको कुराले पनि शेयर बजारलाई उत्साहित पार्न नसक्नु लगानीकर्ताको सिमितता नै हो । नयाँ सामुहिक लगानी कोषहरु आउँन नसक्ने अबस्था विद्यमान छ भने तत्काल अरु संस्थागत लगानीकर्ता छिर्ने पनि संभावना देखिएको छैन । ब्यक्तिगत पुराना लगानीकर्ताहरु ऋणमा चुर्लम्मै डुबेका र बैंकलाई ब्याज तिर्नुका साथै मार्जिन बुझाउँदा बुझाउँदै थकित भईसकेकाले थप लगानी उनीहरुबाट हुनसक्दैन । अनलाईनको कारणले नयाँ लगानीकर्ता कति भित्रिन्छन् भन्ने कुरा एउटा आशाको दियो त बलेको छ तर त्यसले शेयर बजारलाई पुरै उज्यालो पार्ने हैसियत अहिले राख्दैन ।

शेयर बजारमा हुने आईपीओ, एफपीओ र राईटको आपुर्ति कम्तिमा ६ महिना रोक्ने र थप लगानीकर्ता भित्र्याउन सरकारले नै पहल गर्ने हो भने चाँडै नै शेयर बजार उठ्नसक्छ । शेयर बजारमा भएभरका कम्पनीको शेयरहरु थुपारेर मात्र पूँजी बजारको बिस्तार र बिकास हुन्छ भन्ने नीति निर्माताहरुको दिमाग परिवर्तन नभएसम्म पूँजी बजार माथि उठ्न गाह्रो छ ।

यो देशको धितोपत्र बोर्ड जीवनभर लाभांश दिन नसक्ने कम्पनीलाई पूँजी बजारमा ल्याएर बहादुरीको गाथा गाउँछ भने उसबाट पूँजी बजार सुधार र बिकासको काम हुन्छ भन्नु ब्यर्थ हो । उसले चाहेमा नयाँ लगानीकर्ता नथपिएसम्म अर्थात कम्तिमा ६ महिना कुनै पनि शेयरको आपुर्ति शेयर बजारमा नथप्ने, गैरआवासीय नेपाली र संस्थागत लगानीकर्तालाई शेयर बजारमा आउँन तत्काल ढोका खोल्ने एक रातमा निर्णय हुनसक्छ तर गर्दैन । बरु कम्पनीको शेयर बिक्री भएन भने रातारात निर्णय गरेर नियम परिवर्तन गर्छ र बजारले थेग्नै नसकिने गरी आपुर्ति बढाईदिन्छ । यस कारण पनि अर्थमन्त्री खतिवडाको बुद्धि फिरेर फरक्कै फर्किएको हो भने पूँजी बजार सुधार तथा विस्तारको अग्रगामी कदम उनैले चाल्नुको अहिले निकै सान्दर्भिकता छ । अरु उपाय छैन

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here