चैत्र १० गतेदेखि देशब्यापी रुपमा लडकडाउन शुरु भएपछि शेयर बजार पनि बन्द भएकोमा केही ललगानीकर्ता र आफुलाई विश्लेषक बताउनेहरुले बजार बन्द गर्न पाईदैन, अदालतमा मुद्धा हाल्छौ भन्दै उधुम मच्याए । यो उधुम त्यसै मच्चिएको थिएन, अर्थमन्त्री डा. युवराज खतिवडा र नेप्सेका अधिकारीहरुहरुले नै त्यसरी उफ्रिनेहरुलाई आड दिएका थिए । संक्रमण फैलिनबाट रोक्न सरकारले कडा प्रतिबन्धहरु लागु गर्दै गर्दा जबरजस्ति बजार खोलेर १९ करोडको कारोबार गराउने नेप्सेको रबैयाले नै यो कुरा प्रष्ट पार्छ ।

लक डाउन जारी रहेकै बेला शेयर बजार खोल्नुपर्छ भन्दै केही लगानीकर्ता र विश्लेषकहरुले अभिभानै चलाए । बैसाख २५ गते धितोपत्र बोर्डले नयाँ नियम लागु गरेर बैसाख २८ गतेदेखि शेयर बजार सम्बद्ध संस्थाको कार्यालय खोल्ने र बैसाख ३० गतेदेखि नियमित शेयर कारोबार चालु राख्ने निर्णय भयो । बैसाख ३० र ३१ गते शेयर बजारमा जुन दृश्य देखियो त्यसपछि बजार खोल्नुपर्छ भन्नेहरुको भागाभाग शुरु भयो र अहिले ती हल्लाखोरहरु चुपचाप लुकेका छन् । शेयर बजारलाई बन्धक बनाउँन पाईन्न भन्दै उफ्रिने तिनै थिए, जो आज बेपत्ता छन् ।

अरु देशको शेयर बजार खुलेको छ, नेपालमा मात्रै किन बन्द भन्दै प्रश्नहरुको बाढी ल्याउनेहरु पनि थिए तर उनीहरुले विदेशको जस्तै नीति, नियम पुर्वाधार र प्रविधि यहाँ थियो कि थिएन भन्ने विचारै गरेनन् । घरैमा बसेर शेयर कारोबार गर्छौ भन्नेहरुले भारतमा २० बर्ष अघि प्रयोगमा आईसकेको प्रविधि समेत नेपालमा नभएको कुरा यादै गरेनन् । एकोरोहोरो लगानीकर्ताको सम्पति बन्धक भएको, शेयर बेचेर लकडाउनमा गर्जो टार्न नपाएको, अधिकार हनन् भएको भन्नेहरुले जब १० कित्ता पनि शेयर बेच्न सकेनन् जब रुवाबासी गर्न थालेका थिए ।

२०७५ साल असार भित्र गरिसक्नुपर्ने पूँजी बजारलाई नीति नियम, पुर्वाधार र प्रविधिपूर्ण बनाउने काम किन अहिलेसम्म पनि नगरेको भनेर सम्बन्धित सरकारी निकायहरुलाई सोध्ने हिम्मत कारोबार अधिकार हनन् भएको भन्नेहरुसँग छ कि छैन ? त्यही काम नहुँदा अहिले लकडाउनमा शेयर बजार पनि ठप्प छ र खोल्दा पनि जोखिम झन् धेरै छ ।

धितोपत्र बोर्डले जुन नयाँ नियम ल्याएर शेयर बजार खोलेको थियो, त्यो सही थियो तर तिनै जो पहिले बजार खोल्नुपर्छ भनी उफ्रेका थिए, उनीहरुले बोर्डको नयाँ नियमलाई असफल पार्ने भुमिका खेले । ती मध्येका केहीले अहिले बोर्डको नयाँ नियमै संशोधन गर्नुपर्छ भनेर मागदावी पेश गरेका छन् ।

कोरोना संकट र लकडाउनमा पनि शेयर बजार खोल्नुपर्छ भनी हत्ते गर्नेहरुले अहिले हितग्राही र बैंक खाता ईन्टिग्रेशन, बजारलाई बजेट मार्फत राहत प्याकेज र लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम ल्याऊ भनेर सरकारलाई दबाब दिनुपर्ने बेला हैन ? जुन बेला दबाब सिर्जना गर्नुपर्ने हो, त्यो बेला कुना पसेर लुक्ने अनि कुबेलामा बजार खोल्नुपर्छ भन्ने ?

खरिदकर्ता र बिक्रीकर्ताहरुको पर्याप्त उपस्थिति हुने र प्रविधिको सही उपयोगद्धारा सहज अबस्था सिर्जना गरेर मात्र बजार खोल्नुपर्छ । अहिले शेयर बजारका लागि राहत प्याकेज नल्याई बजार खोल्दा फेरि बैसाख ३० र ३१ गतेको घटना दोहोरिन्छ । त्यस्तो हुन नदिन सबै लगानीकर्ता र समबद्ध पक्षहरुको सशक्त दबाब आबश्यक छ । शेयरको मूल्य घट्न थालेपछि रोईकराई गर्ने र बढ्न थालेपछि हा हा र हु हु गर्दै उचालिने हैन, बजारलाई सही दिशा दिन बेलैमा पहल गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here