कल्पना खड्का ।

बैंक तथा बित्तीय संस्थाहरुले राष्ट्र बैंकले गरेको अनिबार्य ब्यवस्था अनुसार आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत बराबरको डिबेन्चर बिक्री गर्नुपर्ने नियम पुरा गरेर आफ्नो पूँजी कोष बलियो बनाउँने होडबाजी तीब्र भएको छ ।

एकपछि अर्को बाणिज्य बैंकले डिबेन्चर बिक्री खोल्दै गर्दा अब फाईनान्स कम्पनीहरु पनि १२ प्रतिशत माथिको ब्याज दर तोकेर डिबेन्चर बिक्रीमा जुटेका छन् ।

पछिल्लो समयमा लक्ष्मी बैंकले १० प्रतिशत ब्याजको दुई अर्बको डिबेन्चर बिक्री सक्दा त्यो भन्दा अगाडि नै प्रभु बैंकले १०.२५ प्रतिशत ब्याज दरको डिबेन्चर सफलापुर्वक बिक्री गरिसकेको थियो । उता सनराईज बैंकले बिक्रीमा ल्याएको तीन अर्बको डिबेन्चर भने बिक्री हुन कठिनाई परेर मंसिर १९ गतेसम्म अवधि थपिएको छ ।

आईसीएफसी फाईनान्सले १२ प्रतिशत ब्याजमा २० करोडको डिेबन्चर बिक्रीका लागि धितोपत्र बोर्डमा आबेदन दिँदा नबिल बैंकको २ अर्ब, कुमारी बैंकको तीन अर्ब, नेपाल एसबीआई, सिटिजन्स र कृषि बिकास बैंक बैंक प्रत्येकको साढे दुई अर्बको दरले डिबेन्चर बिक्रीको लाईन लागेको छ । यही लाईनमा चाँडै नै गुडविल फाईनान्स पनि चर्को ब्याज दर प्रस्ताब गर्दै २५ करोडको डिबेन्चर बिक्रीको तयारीमा जुटेको छ ।

त्यसैगरी सानिमा बैंकले पनि चार अर्बको डिबेन्चर बिक्री गर्ने भन्दै रेटिङ गराईसकेको छ ।

अहिलेसम्म एनआईसी एशिया बैंकले सबैभन्दा धेरै डिबेन्चर बिक्री गरेको छ ।

यसअघिका केही डिबेन्चरहरुमा आबश्यक आबेदन नपरेपछि पछिल्लो समयमा बैंक तथा बित्तीय संस्थाहरुले संस्थागत लगानीकर्ताहरुको रकम लगानी बढाई सबै डिबेन्चर बिक्री गराउने रणनीति अख्तियार गरेका बताईएको छ । बीमा कम्पनी लगायतका संस्थागत निक्षेपकर्ताले बैंकमा विगतमा चर्को ब्याजमा राखी म्याद पुगेका फिक्स्ड र कल  डिपोजिटमा रकम राख्नु भन्दा डिबेन्चरमा दीर्घकालीन रुपमा बढी ब्याज पाईने हुँदा उनीहरु त्यसतर्फ आकर्षित हुन थालेका छन् । अहिले संस्थागत लगानीकर्ताको मुद्धती निक्षेपमा बाणिज्य बैंकले ९ प्रतिशत भन्दा तलको ब्याज दिईरहेका छन् ।

डिबेन्चरमा सर्बसाधारण लगानकिर्ताहरु भने त्यति आकर्षित भईसकेका पाईन्न । शेयर बजारमा पाईरहेको लाभांश भन्दा बढी लाभ पाईने भए पनि डिबेन्चरको दोस्रो बजारमा कारोबार सहज नभईसकेकाले सर्बसाधारणको ध्यान पुग्न नसकेको हुनसक्छ । एक हजार दरको कम्तिमा २५ कित्ता किन्नुपर्ने नियमले समेत साना लगानीकर्ताहरुलाई तान्न सकेको छैन, शेयरको आईपीओमा एक हजार रुपैयाँले समेत आबेदन गर्न सकिने हुँदा यसमा सहभागिता बढी छ तर पनि हाईड्रोका आईपीओहरु बिक्न छाडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here