अत्यधिक सेयर आपुर्ति र लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा लगातार गिरावट आएको सेयर बजार सोमबार २५ अंकले तल रह्यो । अधिकांश कम्पनीको सेयर किन्ने भन्दा बिक्री गर्ने लगानीकर्ताको हतारोले सेयरको भाऊ अप्रत्याशित रुपमा गिरायो ।

मंगलबारको सरकारी बिदापछि आज खुल्ने सेयर बजारमा लगानीकर्ताको मनोबल बलियो बन्ला कि कमजोर नै रहला भन्ने कुराले बजारको घटाईको गति निर्धारण गर्ने देखिन्छ । बिहीबार निजामति कर्मचारीलाई बिदा भएकाले नेप्सेको कार्यालय पनि बन्द रह्यो भने यससाता सोमबार र बुधबार गरी दुईदिन मात्र सेयर बजार खुलेको हुनेछ । यसले साताको सेयर कारोबारको रेकर्डलाई पनि प्रभावित पार्ने नै भयो ।

कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम तीब्र बन्दै गर्दा बैंकहरुमा तरलता बढेर सेयर धितो कर्जा लिन लगानीकर्तालाई फोन आउन थालेको सूचनाले मनोबल उकास्न कस्तो भुमिका खेल्ला भन्ने कुरा महत्वपूर्ण छ ।

सेयर बजार झरेको अबस्थामा पनि ८० ९० करोड रुपैयाँको किनबेच हुनुले लगानीकर्तासँग सेयर किन्ने पैसा नै नभएको भने हैन भन्ने देखिन्छ । बजार सुधारिएर बढ्न थाल्यो भने कारोबार रकम बढ्छ भन्ने कुरा पनि यसले देखाएको छ ।

कुनै कुराले लगानीकर्ताको मनोबल बलियो बनायो भने गिरेको बजारमा सस्तोमा राम्रो कम्पनीको सेयर उठाउनेहरुबीच तछाड मछाडको संभावना देखिन्छ । अहिलेको अबस्थामा खासगरी सस्तो मूल्यमा आएका बाणिज्य बैंकहरुको सेयर किन्नेहरुलाई धेरै जोखिम छैन ।

नयाँ लगानीकर्ता यही मौकामा सुरक्षित लगानी गर्न छिरे र पुराना तथा ठूलाले पनि सेयर उठाउँन थाले भने बजारलाई ठूलो आधार मिल्नेछ । तर सबै कुरा यहाँ आँकलन गरे अनुसार नै हुन्छ भनेर कसैले भन्न सक्दैन ।

सेयर बजारमा गरिने धेरै आँकलन अनुमानमै सिमित रहने गरेका छन् । अझ नेपालको जस्तो हावादारी सूचना र हल्लाको भरमा कुद्ने बजारमा त झन् केही भन्न सकिन्न । जस्तो अबस्थामा पनि सेयरको भाऊ हदैसम्म सस्तिएको बेलामा राम्रा कम्पनीहरु छानेर बिबिधिकरणसहित दीर्घकालीन लगानी गरिएमा भने जोखिमबाट बच्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here