तिलक कोइराला ।

कोरोना भाईरसका कारण विश्वमै महामारी फैलिएर कयौं देशका केन्द्रीय बैंकका गभर्नरहरु भटाभटी बिशेष योजना र राहत प्याकेजहरु घोषणा गरिरहेका छन् । अमेरिकादेखि भारतसम्मका केन्द्रीय बैंकहरुले आफ्नो अर्थ ब्यवस्थालाई धरासायी बन्न बाट जोगाउँन दिन -रात नभनी राहत प्याकेजहरु घोषणा गर्दैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन वा भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री  सितारमन नै किन नहुन, कोरोनाबाट नागरिकलाई बचाउँँन मात्रै हैन,अर्थ ब्यवस्थालाई प्राण दिन उत्तिकै क्रियाशील छन् जति क्रियाशील छन्, उत्तिकै त्यहाँका केन्द्रीय बैंकका गभर्नरहरु पनि हरेक पलको स्थिति आँकलन गर्दै नयाँ रणनीतिहरु अख्तियार गरिरहेका छन् ।

अर्थमन्त्री खतिवडा भन्सार विभागको कार्यक्रममा । तस्बिर – रोशन सापकोटा,रासस

नेपालको सन्दर्भमा भने विडम्वना नै मान्नुपर्छ । अरुले हेर्दा अति जान्ने सुन्ने र बिज्ञ ब्यक्ति डा. यूवजराज खतिवडा अर्थमन्त्री छन् तर देशको केन्द्रीय बैंक पूर्ण कारीकारी गभर्नर नपाएर यस्तो संकटको बेला आफै छटपटाईरहेको छ । कोरोना महामारीका कारण सम्पूर्ण अर्थब्यवस्थामै गहिरो संकट आउने आँकलन भईरहेको बेला केन्द्रीय बैंक पूर्ण कार्यकारी अधिकारसहितको गभर्नर नपाएर आफै छटपटाउनु भनेको उसबाट तत्काल बित्तीय क्षेत्रले राहत प्याकेजका लागि शीघ्र कदम चालिने अपेक्षा गर्नु अर्थहिन हुनु हो ।

निजी क्षेत्र अर्थतन्त्र बचाउँने राहत र बिशेष योजना माग गरिरहेका छन् तर हाम्रो राष्ट्र बैंक कतिसम्म कमजोर र अन्योलग्रस्त भएको छ भने उपप्रधानमन्त्री नेतृत्वको कोरोना नियन्त्रण विशेष समितिले गरेको निर्णय समेत कार्यान्वयन कसरी गर्ने भन्ने मसो पाएको छैन ।

राष्ट्रबैंकका गभर्नर डा. चिरन्जिवी नेपालको पदावधि कहिले सकिदै छ भन्ने कुरा विज्ञ अर्थमन्त्रीलाई अहिले आएर थाहा भएको पक्कै हैन । उनी अर्थमन्त्री हुनु अगाडि नै नेपालको गभर्नर पद कहिले सकिन्छ भन्ने कुरा निश्चित थियो । दुई बर्ष भन्दा पहिलेदेखि अर्थमन्त्रीको पद सम्हाल्दै आएका खतिवडाले किन राष्ट्र बैंकको त्यो महत्वपूर्ण पदमा सक्षम र उपयुक्त ब्यक्तिको छनौट गराउँन सकेनन् भन्ने कुरा एकदम शंकाको बिषय हो । नेपालको पदावधि एक बर्ष बाँकी हुँदा नै उनलाई राजीनामा गराउन दबाब सिर्जना भएकै थियो भने अहिले नेपालले छाडेको कयौं दिन वित्दा र देश संकटमा पर्दा समेत किन त्यो पद खाली राखियो ? खतिवडा आफै राष्ट्र बैंकको क्याडर र गभर्नरसमेत भईकेका ब्यक्ति भएकाले अरुले उनलाई गभर्नर नियुक्तिको महत्व सम्झाईरहनु पर्ने बिषय पक्कै हैन । केन्द्रीय बैंक सरकारको आर्थिक सल्लाहकार समेत हो र मौद्रिक नीति तय र कार्यान्वयनमा उसको मुख्य भुमिका हुन्छ ।

डेपुटि गभर्नर चिन्तामणि शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिईएको छ र उनले राष्ट्र बैंक संचालक समितिको अध्यक्षको भुमिका पनि निर्वाह गर्दै आएका छन् । सबैलाई थाहा छ, डा. खतिवडाको ईच्छा र आदेशविना केही समयदेखि राष्ट्र बैंक कार्यालय परिसरको रुखहरुको पात पनि हल्लिदैन किनभने खतिवडाले आफ्ना ज्वाइँदेखि अनेक संयन्त्र त्यहाँ फिट गराईसकेका छन् । यसरी सम्पूर्ण संयन्त्र नै उनको नियन्त्रणमा छ त गभर्नर नियुक्तिमा किन बिलम्ब भयो ? रहस्य यहीँ छ ।

यो पनि सबैलाई थाहा भएको कुरा हो कि डा. चिरन्जिवी नेपालले पूर्ण गभर्नरको भुमिका खेल्दाखेल्द राष्ट्र बैंंकले जारी गर्ने मौद्रिक नीतिको ड्राफ्ट नै अर्थ मन्त्रालयमा मगाएर हेरी आबश्यक संशोधनपछि जारी गर्न लगाईएको थियो । डा. नेपालले जति आफु स्वायत्त र स्वतन्त्र रहेको दावी गरे पनि उनीमाथि खतिवडाको छाँया नियन्त्रण थियो नै । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको शाखा कार्यालय जस्तो बनाउने मनसायका साथ खतिवडाले काम गरेको कुरा स्पष्ट नै छ तर पनि नयाँ गभर्नरको नियुक्तिमा के कुराले बाधा सिर्जना गरेको हो ?

यो पनि सबैलाई थाहा भएको अर्को कुरा हो कि प्रधानमन्त्री केपी ओलीका सबैभन्दा विस्वासपात्र डा. खतिवडा नै हुन् । त्यही कारण पार्टी भित्र ब्यापक विरोध हुँदाहुँदै पनि ओलीले खतिवडालाई दोेहोर्याएर अर्थमन्त्री बनाए र संभवत पार्टीको केन्द्रीय सचिवालयको बहुमतले अश्वीकार गरेको भए पनि राष्ट्रिय सभाको सदस्यमा खतिवडालाई नै राष्ट्रपतिबाट मनोनीत गराउँने प्रयत्न फेरि पनि हुनेछ ।

यति शक्तिशाली अर्थमन्त्री भएर पनि खतिवडाले गभर्नर पद किन खाली राखे होलान् ? यो प्रश्न सत्ताधारी नेकपाका नेता र कार्यकर्ताले गर्नु पर्दैन ? के नेकपा खतिवडाको बपौति हो र जे मन लाग्यो त्यही गर्ने ? गभर्नर नियुक्तिको प्रक्रिया तत्काल अगाडि किन बढाईदैन ? दुई तिहाई बहुमतको सरकार भएको बेलामा पनि राष्ट्र बैंकको एउटा गभर्नर नियुक्त गर्न किन सत्ताधारी पार्टी असफल ?

धेरैले सोचेका छन्, प्रधानमन्त्री ओलीबाट पुस्तक बिमोचन गराएर हालका कायम मुकायम गभर्नर शिवाकोटीले गभर्नर पद पक्का गराईसकेका छन् । यदि यसै हो भने उनलाई पूर्ण अधिकारसहितको गभर्नर बनाउँन किन ढिलाई ? शिवाकोटीमा गभर्नर चलाउने क्षमता छ कि छैन भन्ने अलग पाटो हो तर उनलाई नै नियुक्त गर्ने हो भने ढिलाई गर्नुको तुक छैन । अहिले गहिरिदै गईरहेको संकट पार लगाउँन केन्द्रीय बैंकले ब्यापक तयारीका साथ योजना पस्कनु एकदम जरुरी भईसकेको छ, त्यसका लागि पूर्ण कार्यकारी गभर्नर चाहिन्छ । हैन, पूर्ण अधिकारसहितको गभर्नर चाहिँदैन भने अर्थ मन्त्रालयबाटै राष्ट्र बैंकका काम कारबाहीलाई निर्देशित गरी तत्काल राहत प्याकेज ल्याईयोस । आखिर सबैलाई थाहा छ, राष्ट्र बैंकमा सरकारको पुरा नियन्त्रण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here