तिलक कोइराला ।

शेयर बजारमा तहल्का मच्चाउँदै ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांशसहित १०० प्रतिशत लाभांस एक महिना अगाडि पारित गरेको हिमालयन डिष्टीलरीमा शेयरधनीलाई वितरण गर्ने पैसा नभएर हाहाकार मच्चिएको छ ।

कम्पनीले गत पुस १ गते नै साधारणसभा गरी लाभांश प्रस्ताब पारित गरेकोमा आज माघ ३ गते एक महिना  दुई दिन नाघ्दासमेत शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउँन सकेको छैन । यसरी साधारणसभाले पारित गरेको आकर्षक लाभांश शेयरधनीलाई दिन नसक्नुमा कम्पनीको खातामा नगद नहुनु नै मुख्य कारण रहेको खुलेको छ ।

साधारणसभाको प्रस्ताब

त्यसमाथि कम्पनीले ५० प्रतिशत बोनस र ५२.६३ प्रतिशत नगद गरी १०२.६३ प्रतिशत लाभांश घोषणा गरेकोमा पछि घटाएर ५० प्रतिशत बोनस र  करसहित ५० प्रतिशत नगद गरी १०० प्रतिशत बनाएर धोका दिएकै थियो ।

शेयरधनीलाई पैसा दिन कम्पनीकै शेयर बेच्दैछन् मालिक

हिमालयन डिष्टीलरीले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउँने पैसा नभएपछि त्यसमा मुख्य शेयरधनी विजय शाह र नातेदारहरुले आफ्नो नाममा रहेको हिमालयन डिष्टीलरीकै शेयर धमाधम दोस्रो बजारमा बिक्री गर्दै गर्दैछन् । शेयरको मूल्य बढाउँदै बिक्री गर्ने रणनीति उनीहरुले लिएको देखिएको छ । माघ २ गते बिहीबार मात्रै उनीहरुले दुई वटा ब्रोकरबाट एक लाख कित्ता शेयर बेचेका छन् । ब्रोकर नम्बर ५३ बाट ६६ हजार कित्ता र ब्रोकर नम्बर ४४ बाट ३४ हजार कित्ता शेयर बिक्री भएको छ ।

हेर्नुहोस् कारोबार बिबरणः

http://nepalstock.com.np/floorsheet

माघ २ गतेको कारोबारमा मूल्य बढाएर बजारमै शेयर बेचिएको छ, कुनै म्याचिङ भएको हैन । कुल एक लाख १५ हजार कित्ता किनबेच भएकोमा एक लाख कित्ता संस्थापकहरुले नै बेचेको स्रोतको भनाई छ ।

कम्पनी र शेयर रजिष्ट्रारको जुहारी

हिमालयन डिष्टीलरीका कम्पनी सचिव नेत्र तिमिल्सिनाले पुस २६ गते नै शेयर रजिष्ट्रार नबिल ईन्भेष्टमेन्ट बैंकिङलाई नगद लाभांश वापतको पैसा पठाईसकिएकाले उसले शेयरधनीको खातामा हाल्न ढिलाई गरेको आरोप लगाए ।

उनले भने- हामीले शेयर रजिष्ट्रार नबिल ईन्भेष्टमेन्टलाई नगद लाभांश वापतको पैसा पठाईसकेका छौ, उसले ढिलाई गरेकाले शेयरधनीको खातामा नगएको हुनसक्छ ।

नबिल ईन्भेष्टका कर्मचारी मनिषा दाहालले भने कम्पनीले नै पैसा पठाउन ढिलाई गरेकाले शेयरधनीको खातामा पैसा पठाउँन ढिलाई भएको प्रतिउत्तर दिईन ।

उनले भनिन् – हामीले हैन, कम्पनीले नै पैसा पठाउँन ढिलाई गरेको र चेक बाउन्स भएकोले हो । अब सोमबारसम्ममा शेयरधनीको खातामा पैसा जानसक्छ ।

कतिपय कम्पनीहरुले साधारणसभाले पारित गरेकै दिन नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएका छन् भने हिमालयन डिष्टिलरीको एक महिना नाघ्दा पनि नगद लाभांश पठाउँन नसक्नु शेयर रजिष्ट्रार र कम्पनी दुबैको बदमासी हो ।

संस्थापक शेयरधनीले शेयर बेचेको पैसा कसरी जम्मा हुन्छ कम्पनीको खातामा ?

कम्पनीका संस्थापक शेयरधनी विजय शाहलगायतले बिहीबार बिक्री गरेको एक लाख कित्ता शेयर वापतको १२ करोड भन्दा बढी रकम कम्पनीको खातामा पुगेपछि मात्र हिमालयन डिष्टीलरीका सर्बसाधारण शेयरधनीले नगद लाभांश पाउनसक्ने देखिएको छ । कम्पनीका संस्थापक शेयरधनीको हिस्सामा अझै २१ लाख भन्दा बढी कित्ता रहेकाले बिहीबार बिक्री गरिएको शेयर वापतको रकमले दोस्रो बजारमा शेयर किनी धारण गरेकाहरुलाई नगद लाभांश वितरण गर्न भने रकम पुग्छ ।

बिहीबार बिक्री गरिएको शेयरको सेटलमेन्ट सोमबार हुने र सोही दिन ब्रोकर कम्पनीले दिने रकम कम्पनीको खातामा पुगेमा शेयरधनीले आफ्नो बैंक खातामा नगद लाभांश प्राप्त गर्नसक्छन् । तर संस्थापक शेयरधनीले बिक्री गरेको आफ्नो स्वामित्वको शेयरको पैसा कसरी कम्पनीको खातामा जान्छ भन्ने कुरा रहस्यमय देखिएको छ ।

कम्पनीको नाफा र बित्तीय विवरण नै शंकाष्पद

३८ करोड चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीले गोल्डन ओक जस्ता रक्सी बेचेर गत बर्ष ५३ करोड खुद नाफा गरी प्रति शेयर आम्दानी १३८ रुपैयाँ गरेको देखाएको थियो । उसको जगेडा कोषमा ६० करोड १५ लाख रुपैयाँ रहेको एन अमात्य एण्ड कम्पनीका मनिष अमात्यले गरेको लेखापरीक्षण प्रतिबेदनमा उल्लेख छ ।

पहिलो त्रैमासको प्रतिबेदनमा नाफा

यति धेरै रकम आम्दानी गर्ने कम्पनीको बैंक खाता र नगदमा भने जम्मा ४१ लाख रुपैयाँ छ भने विजय शाहको कम्पनी जेजीआई डिष्ट्रिब्युशनसँग ४१ करोड लिनुपर्ने देखाईएको छ ।

६ अर्ब ३८ करोड आम्दानी गरेर कम्पनीले कमाउँने करोडौ खुद नाफा रकम कहाँ गयो भन्ने कुरा निकै रहस्यपूर्ण छ । जबकि कम्पनीले यस आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड खुद नाफा गरेको देखाएको छ ।

रक्सी उत्पादन गर्ने एउटा, नाफा खाने विजय शाहको निजी कम्पनी

हिमालयन डिष्टीलरीले विभिन्न ब्राण्डका रक्सीहरु उत्पादन गर्छ तर त्यसलाई बिक्री गरेर नाफा खाने र रकम समेत समयमा नबुझाउनेमा विजय शाहको निजी कम्पनीहरु हुने गरेका छन् ।

हेनुहोस् संस्थापकहरुका निजी कम्पनी जसले हिमालयन डिष्टीलरीका सबै काम कब्जा गरेका छन्ः

लेखापरीक्षण प्रतिबेदनको यो अंश हेरौं

अझ उदेक लाग्दो कुरा यो पनि छ कि पुस १ गते भएको साधारणसभाले विजय शाहका तिनै प्राईभेट कम्पनीहरुलाई रक्सीको आम्दानीमा मोज गर्ने जिम्मेवारी फेरि सुम्पेको छ ।

हिमालयन डिष्टिलरीका संचालक समितिमा को छन् ?

हिमालयन डिष्टिलरीमा सर्बसाधारण शेयरधनीको तर्फबाट समेत संचालक रहे पनि संस्थागत सुशासन अति कमजोर छ ।

कम्पनीको लेखा समिति समेत छ तर त्यो नाम मात्रको रहेको उसको बित्तीय विवरण हेर्दा स्पष्ट हुन्छ । उनीहरुले बैठक भत्ता वापत प्रत्येक पटक १० हजार रुपैयाँ लाजै नमानी पचाईरहेका छन् ।

प्रत्यक्ष नियमनकारी निकाय नहुँदा बदमासी

कम्पनीले गत बर्ष अन्तरिम लाभांश भन्दै बीचैमा ६८ रुपैयाँ प्रतिकित्ता बाँडेको थियो । कम्पनीको शेयरधनी कोषमा रकम नै नभईकन अन्तरिम लाभांशको नाममा संस्थापकहरुले रकम कुम्ल्याएको र त्यही बहानामा शेयर बजारमा शेयरको भाउ महंगो बनाएर सर्बसाधारण ठगेको देखिन आएको छ ।

कुनै प्रत्यक्ष नियमनकारी निकाय नभएकाले उसले गर्ने लाभांश प्रस्ताबहरु संचालक समिति र साधारणसभाले पारित गरे मात्र हुने अबस्था छ । कम्पनीको आम्दानी र खर्चमा समेत मनलाग्दी गरिएको पाईन्छ । सर्बसाधारणमा शेयर जारी गरेको पब्लिक कम्पनी भए पनि संस्थापकहरुले प्राईभेट कम्पनीमा भन्दा चर्को मनलाग्दी गर्दै आएका छन् ।

सशीन जोशी मुर्ति हुन कि रमिते ?

एनआईसी र नबिल बैंकमा लामो समय काम गरेर पाको बैंकरको रुपमा स्थापित भएका सशीन जोशी अहिले हिमालयन डिष्टीलरीका प्रमुख कार्यकारी छन् । उनको भुमिकालाई लिएरु प्रश्न उठेको छ, उनी मुर्ति हुन् कि रमिते ?

खतरा यहानिर छ

प्रत्यक्ष नियमनकारी निकाय नभएका यस्ता कम्पनीहरुले सर्बसाधारणमा आईपीओ जारी गरेको तीन बर्षपछि संस्थापकले पनि आफुखुशी रुपमा दोस्रो बजारमा साधारण सरह शेयर बेचेर बाहिरिन सक्ने अबस्था छ, यसले सर्बसाधारणको लगानीमाथि जोखिम उत्पन्न गराएको छ ।

कम्पनीले आकर्षक लाभांश घोषणा गरेर लोभ्याएपछि सर्बसाधारण लगानीकर्ताहरु भने महंगो मूल्यमा शेयर किन्दै जाने तर संस्थापकहरु भने आफ्नो हिस्साको शेयर बिक्री गर्दै गएर कम्पनीले पारित गरेको लाभांश वितरण गर्न समेत नसक्ने अबस्थामा पुग्ने हो भने यो निकै खतरनाक अबस्था हो ।

हिमालयन डिष्टीलरीले उत्पादन गर्ने रक्सी बिक्न छाड्यो वा कम्पनीको भबिष्य नै संकटमा पर्यो भने सर्बसाधारणले समाउने ठाउँ कही हुन्न ।

नोटः यो समाचार लगानीकर्ताको हितका लागि प्रबाह भएकाले सबै प्रमाणहरु सुरक्षित राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here