सरकार १५औं पञ्च बर्षिय योजनालाई अन्तिम रुप दिने तयारीमा जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार र विहिबार बस्ने राष्ट्रिय विकास परिषदको वैठकले १५औं पञ्च बर्षिय योजनालाई अन्तिम रुप दिने तयारी छ । होटल सोल्टीमा आयोजना गरिएको वैठकमा मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, संसदीय समितिका सभापति, नेपाल राष्ट्र बैङ्कका गभर्नर तथा विज्ञहरुसहित ३ सय ५० जनाको सहभागिता रहने छ ।

१५औं योजना सम्पन्न हुने क्रममा ५५ खर्ब रुपैयाँको अर्थतन्त्र निर्माण र प्रति ब्यक्ति आय १५८३ अमेरेकी डलर पुर्याउने महत्वाकांक्षी लक्ष्य योजनामा राखिएको बुझिएको छ । आधार मस्यौदा पत्रमा आगामी ५ वर्षभित्र ९७ खर्ब ७७ अर्ब ७५ करोड लगानी गर्ने योजना समेटिएको छ । राष्ट्रिय आयोगका उपाध्यक्ष प्राडा पुष्प कँडेलले निकै मिहेनेत र तथ्यसँग खेलेर योजना तयार गरिएको भनदै योजनामा दीर्घकालीन सोच, लक्ष्य र रणनीति समावेश गरिएको बताउनु भएको छ । विकास परिषद्को वैठकबाट पारित हुने योजना अनुसार नै आगामी बजेट निर्माण गरिने छ ।

मस्यौदा अनुसार ९७ खर्ब कुल लगानी मध्ये सरकारले ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैंयाँ लगानी गर्ने र बाँकी ५६ खर्ब ८३ अर्ब ८८ करोड निजी क्षेत्रबाट जुटाइने छ । यस्तै, सहकारी मार्फत ४ खर्ब १९ अर्ब ३१ करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ । १५औं योजना लागू भएपछि आर्थिक वर्ष २०८०।८१ मा कुल गार्हस्थ उत्पादनको आकार ५५ खर्ब १६ अर्ब पुग्ने र प्रतिव्यक्ति आम्दानी १५८३ डलर पुग्ने दाबीसहितको प्रक्षेपण गरिएको छ । उक्त लक्ष्य प्राप्ती गर्नका लागि बार्षिक आर्थिक वृद्धिदर औसतमा ९ दशमलव ३ प्रतिशत हुनुपर्ने छ ।

आर्थिक वर्ष २०८०।८१ मा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २२ दशमलव १ प्रतिशत, उद्योगको योगदान २० दशमलव ३ प्रतिशत र सेवा क्षेत्रको योगदान ५७ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरिएको छ । पाँच वर्षे योजनाकालमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौं–तराई फास्टट्रयाकसहित १७ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उक्त अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएका अन्य आयोजनाहरुमा सिक्टा सिंचाई, बबई सिँचाई, रानीजमरा कुलरिया सिँचाई, भेरी बबई डाईभर्सन, गौतम वुद्ध विमानस्थल, पोखरा विमानस्थल, पुष्पलाल मध्यपहाडी लोकमार्ग, कोशी लोकमार्ग, कालगण्डकी करिडोर, कर्णाली करिडोर, हुलाकी राजमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत, लुम्बिनी विकास कोष, विद्युत प्रसारण रहेका छन् ।

त्यस्तै बुढीगण्डकी, पश्चिम सेती, पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई मधेश संरक्षण र पूर्व पश्चिम रेलवे तथा उपत्यका मेट्रो विकास आयोजनाका कामहरु सोही अवधिमा अघि बढाउने लक्ष्य पनि राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here