नेप्सेको घटाई-बढाई हैन, कम्पनीको आधारभुत अबस्था र सेयर मूल्य हेरेर लगानी गरौं 

0
1071

तिलक कोइराला । 

नेपालको सेयर बजारका केही लगानीकर्ताहरुको पहिलो प्रश्न हुन्छ अब नेप्से कति घट्ला र बढ्ला ? दिनहुँ सामना गर्नुपर्ने यस्ता प्रश्नबाट वाक्क नै हुनुपर्ने अबस्था छ । १० कित्ता सेयर किन्नेदेखि हजारौं कित्ता सेयरमा करोडौ लगानी गर्नेको समेत यस्तै प्रश्न बारम्बार दोहोरिएको हुन्छ ।

नेपालका केही सेयर लगानीकर्ताहरु कम्पनीको आधारभुत अबस्था र सेयरको मूल्य कति सस्तो छ भन्ने कुरालाई ख्यालै नगरी नेप्सेको घटबढलाई मात्रै हेरेर लगानी गरिरहेका छन् । नेप्से बढ्यो भने जतिसुकै खराब कम्पनीको सेयर पनि आँखा चिम्लिएर महंगो मूल्यमा किन्ने र मूल्य घटेपछि नेप्से घट्यो भन्दै रोई कराई गर्ने प्रबृत्ति उनीहरुमा छ ।  लगानीकर्ताहरुमा सुरक्षित र दीर्घकालीन लगानी गर्ने बानी नबसेसम्म यस्ता रोईकराईहरु जारी नै रहनेछन् ।

सेयरको मूल्य घट्बढ हुँदा नेपाल स्टक एक्सचेन्जको सूचक नेप्सेमा घटबढ् हुन्छ र बजारको प्रबृत्ति पनि यही हो कि तलमाथि भईरहन्छ । सेयर बजार कहिल्यै पनि एउटा सिधा रेखामा हिड्दैन । घट्नु र बढ्नु सेयर बजारको सुन्दरतम पक्ष नै हो । तर नेप्से घट्दा पनि राम्रा कम्पनीको मूल्य धेरै घटेको हुन्न र नेप्से बढ्दा पनि बजारमा धेरै सेयर रहेका, राम्रा र सस्ता कम्पनीको सेयर मूल्य धेरै बढेका हुन्नन् । यसको मतलव आधारभुत अबस्था राम्रो रहेका, बजारमा धेरै संख्यामा सेयर रहेका र धेरै लगानीकर्ताको हातमा सेयर भएका कम्पनीहरुको सेयर मूल्यमा एक प्रकारको स्थिरता कायम भएको पाईन्छ ।

नेप्से धेरै अंकले घट्यो भनेर अरु आतंकित भईरहेको बेलामा पनि कतिपय लगानीकर्ताले धारण गरेको सेयर मूल्यमा ठूलो परिवर्तन नभएको हुनसक्छ र लगानी विविधिकरण गरिएको अबस्थामा धेरै घाटा नलागेको पनि देख्न सकिन्छ ।

सेयर बजारको बिकास र बिस्तार हुँदै जाँदा धेरै कम्पनीहरुको सेयर मूल्यमा खेल गर्नसक्ने अबस्था त अन्त्य भएको छ तर पनि अझै केही साना र कमजोर कम्पनीहरुमा सेयर ब्यापारीहरुको कार्टेलिड., कर्नरिड.का कारण बजार आक्रान्त छ ।

बजारमा केही लाख वा केही हजार कित्ता सेयर रहेका, केही सिमित लगानीकर्ताको हातमा सेयर भएका र आधारभुत अबस्था अत्यन्त कमजोर रहेका कम्पनीहरुको सेयर मूल्यमा छिटो र धेरै उतार चढाव भएको पाईन्छ । त्यस्ता कम्पनीमा लगानी गर्नेहरु जहिले पनि जोखिममा छन् ।

नेप्सेको घटाई र बढाई हेरेर खराब कम्पनीको उचालिएको सेयरमा लगानी गर्नेहरुले अन्ततः खाने घाटा नै हो । एउटाले अलि सस्तोमा किनेर अलि महंगोमा बेच्यो भने फस्ने अर्को लगानीकर्ता हो । तर आधारभुत अबस्था राम्रो रहेको कम्पनीको सस्तो सेयरमा लगानी गर्नेहरुले अहिले मात्रै हैन, दीर्घकालसम्म कमाउँछन् । जस्तो नेपाल ईन्भेष्टमेन्ट बैंकको सेयरमा आज भन्दा  तीन बर्ष पहिले लगानी गरेकाहरु कसैलाई पनि घाटा छैन र आगामी कर्यौं बर्षसम्म घाटा खानु पर्दैन तर नेशनल हाईड्रोमा उचालिएर सेयर किनेका लगानीकर्ताहरुले बर्षौसम्म खाने घाटै घाटा नै हो ।

सेयरको मूल्य कति बढ्ला भनेर हैन, त्यो कम्पनीको आधारभुत अबस्था कति बलियो छ ? कति लाभांश पाईएला र त्यो लाभांशले सेयरको मूल्यलाई खाम्छ कि खाम्दैन भन्ने बिचार गरेर लगानी गरियो भने नेप्से घटे पनि पछुताउनु पर्दैन । मूल्य बढ्यो भने बेचेर आफुलाई आबश्यक परेको आर्थिक आबश्यकता पुरा गरे भईहाल्यो, मूल्य केही घट्यो भने पनि त्यसले दीर्घकालसम्म दिने लाभांशको हिसाब गर्दा फाईदा नै हुन्छ ।

नेप्सेमा हुने दैनिक १५-२० अंकको गिरावट र बृद्धि कुनै समाचार नै हैन । सुचिकृत कम्पनीहरुको मूल्य तलमाथि भईरहन्छ र त्यसले समग्र सूचकमा असर पार्छ, यो सामान्य कुरा हो । हिजो पनि हामीले खाना खाएका हुन्छौ, आज पनि खाँदैछौ र भोलि पनि खाने नै छौ भने त्यो कसरी समाचार हुन्छ ? हामीले तीनदिनदेखि खाना खाएका छैनौ वा खान पाएनौ भने बल्ल अरुका लागि समाचार बन्नसक्छ ।

यस्ता लगानीकर्ताहरु पनि छन् जो आफुले अलिकति पनि अध्ययन विश्लेषण गर्दैनन्, ठूला कारोकारीले के भन्छन् र कस्तो हल्ला चलाउँछन् भनेर कुरेर बस्छन्, अनि हल्लामा बहकिन्छन् र फस्छन् । फसेपछि आफैले गल्ति महसुस गर्ने हैन, नेप्से, धितोपत्र बोर्ड, संचार माध्यम र अरुलाई धारेहात लगाएर गाली गर्छन् । अर्काथरी लगानीकर्ता विभिन्न सामाजिक संचाल र अनलाइनहरुको समाचारको शीर्षक मात्रै पढेर सेयर बजारमा छिर्छन, लगानी गर्छन र पछुताउँछन् । प्रतिसेयर आम्दानी ५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०० गुणा भएको कम्पनीको सेयरमा उचालिएर लगानी गर्नेलाई बुद्धिमान कसरी भन्ने ? तर जो अध्ययन विश्लेषण गरेर, आफ्नो लगानी र जोखिमबहन क्षमता हेरेर बजारमा आएका छन्, भागदौड गर्नेमा उनीहरु कमै छन् ।

पूँजी आधार राम्रो भएका र ब्यवसाय बिस्तार गरिरहेका सुरक्षित कम्पनीहरुमा लगानी विविधिकरण गर्नु र नेप्सेको घटाई र बढाईलाई सामान्य रुपमा लिएर बजारमा अभ्यस्त हुनसक्नु नै असल लगानीकर्ताको सफलता हो ।

सेयरको प्राबिधिक बिश्लेषणको नाममा नेप्से यहाँ पुग्छ र त्यहा पुग्छ भनेर हल्ला गर्ने, आफुले सेयर किनेर बेच्ने बेलामा अब बजार बढ्छ भन्ने, एउटै कम्पनीको सेयर सकेसम्म किनेर सेयरको ब्यापार गर्न खोज्ने, साना कम्पनीहरुमा कर्नरिड. गर्दै अरुलाई उचालेर सेयर किनाउने र भाउ बढाउने, आज सस्तोमा किनेर भोलि भाऊ बढाएर बेच्ने जुक्ति निकाल्दै सेयर दलाल र केही समूह परिचालन गरी हल्ला गराउने ठूला खेलाडीहरुको चंगुलबाट सर्बसाधारण लगानीकर्ताहरु भ्रममुक्त हुनैपर्छ । नत्र, तातो हावाबाट भागेका लगानीकर्ताहरु भुंग्रोमा पर्नेछन् ।

निर्वाचनको माहौल चलिरहँदा गठबन्धनको बहुमतको सरकार बन्यो भने सेयर बजार ध्वस्त हुन्छ भन्दै हल्ला गर्नेहरु बजारमा सल्बलाउन थाल्नेछन् । केही नाफाखोर सेयर ब्यापारीहरुको यस्तो अनाबश्यक हल्लामा किन्चित पनि बिचलित नभई राम्रो र बलियो कम्पनीको सस्तो सेयरमा दीर्घकालीन लगानी गर्नुहोस् । बृद्धि र बिकास हुँदै गरेको अर्थतन्त्र र सेयर बजारमा अहिले राम्रो कम्पनीमा लगानी गर्नेहरुले दीर्घकालमा पछुताउनु पर्दैन । हैन, त्यस्तै हल्लाखोरको पछि लाग्नु नै हुन्छ भने राम राम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here