सेयर बजारका लगानीकर्ताको मनोबल किन बन्दैछ कमजोर ?

0
1650

देशमा स्थायी सरकार बन्ने पक्का भएर बित्तीय अवस्था राम्रो हुनमा सघाउ पुग्ने वातावरण बने पनि सेयर लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा सेयर बजारले एकपछि अर्को गिरावटको सामना गर्नु परेको छ ।

प्रतिनिधि सभाको चुनाव मार्फत बाम गठबन्धनले बहुमत पाएको समाचार आउन थालेपछि गिर्दै गएको बजारमा मंगलबार एकैदिन धेरै कम्पनीको सेयर मूल्य घटेर नेप्से बन्द भयो ।

मंगलबार कारोबार बन्द हुने समयमा कारोबारमा आएका १५७ मध्ये १०९ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा १७.५४ अंकको गिरावट सामना गर्नु पर्यो । कारोबार रकमको हिसाबले राष्ट्रिय बीमा कम्पनी र प्राईम लाईफको संस्थापक सेयरको रकम घटाउँदा ५७ करोड हुन आउँछ, जुन नराम्रो हैन तर आम रुपमा हेर्दा बजारमा किन्ने भन्दा बेच्नेकै पल्लाभारी छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बेच्नेहरु बढेका छन् र त्यसले सेयर बिक्रीको मानसिकता बिकास गरिरहेको पाईन्छ ।

राजनीतिक र आर्थिक अबस्था राम्रो हुँदा पनि सेयर बजारमा त्यसको छाया नदेखिने रहेछ भन्ने यसबाट ब्झ्न सकिन्छ तर तल झरेको सस्तो भाउमा राम्रा कम्पनीहरुको सेयरमा लगानी विविधिकरण गरी दीर्घकालीन लगानी गर्नेहरुलाई यस्तो बजारले अवसर दिएको मान्नुपर्छ ।

महंगा सेयर हैन, राम्रा कम्पनीका सस्ता सेयर, एउटै कम्पनीको मात्र एकैपटक हैन, कम्तिमा १० वटा कम्पनीका सेयर बजार घटाईसँगै किनेर बस्नेलाई आगामी महिनाहरुमा पछुताउनु पर्ने अबस्था आउँदैन । माग र आपुर्तिको खेल र सेयरको मूल्य कति बढ्ला भनेर सेयर बजारमा लगानी गर्न आउनेहरुलाई भने बजारको घटाईले सचेत गराएको बुझ्नुपर्छ । कम्पनीले आगामी दिनमा दिने लाभांशले मूल्य खाम्छ कि खाम्दैन र त्यस कम्पनीको बृद्धिको अवस्था मापन गरी लगानी गर्न भने जान्नुपर्छ ।

केही लगानीकर्ताहरु सरकार कस्तो बन्छ र त्यसले लिने नीति कस्तो होला भन्ने पखाईमा रहेकाले पनि बजारमा उत्साहको माहौल नभएको हो । तर कम्पनीहरुको आधारभुत अबस्था र अन्य कुराहरु बिचार गर्दा बजारबाट आँत्तिनुपर्ने अबस्था छैन । पूँजी बजार सुधार र बिस्तारको काम अब तीब्र हुने र त्यसलाई आधार दिन आर्थिक बिकासले भुमिका खेल्ने हुँदा दीर्घकालीन लगानीकर्ताका लागि बजारमा अवसरै अवसर छ ।

मंगलबार सेयर बजार सूचक १५१०.२१ बिन्दुमा झर्दा समग्र बजार पूँजीकरण १७ खर्ब ५४ अर्बमा सिमित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here