सेयर बजारलाई आड दिन अब मार्जिन कर्जाको सिमा ७० प्रतिशत बनाउनु अपरिहार्य

0
3414

-तिलक कोइराला ।

सेयर बजार आफैमा अति संबेदनशील क्षेत्र हुँदै हो, एकपछि अर्को घटना र बिषयबस्तु थपिएर नकारात्मक मानसिकता बलियो बन्दै जाँदा लगानीको वातावरणलाई अरु कमजोर बनाईदिन्छ ।

बजारमा आपुर्ति थामिनसक्नु गरी बढ्ने र बढाउने भुमिका नियमनकारी निकायहरुले खेल्दा माग बढाउने एउटै काम भएको छैन । केही समय यता बजारमा एक जना नयाँ लगानीकर्ता थपिएका छैनन् बरु सेयर बिक्री गर्नेको चाप नै बढेको देखिन्छ । नियमनकारी निकायहरुले गर्छु भनेर आफैले समयसिमा तोकेका अनलाईन कारोबार प्रणाली, बैंकलाई ब्रोकर लाईसेन्स, गैरआवासीय नेपाली र विदेशी संस्थागत लगानीकर्ताको सेयर बजारमा प्रबेश जस्ता महत्वपूर्ण कामहरु हुन नसक्दा अहिलेको विकराल अबस्था आएको हो ।

स्टान्डर्ड चार्टर्ड र नेपाल टेलिकमको हालै भएको ठूलो कारोबारमा ती कम्पनीले घोषणा गरेका आकर्षक लाभांशको कारणले धेरैले सेयर किने भन्ने मात्रै हैन, महंगोमा सेयर बेचेर बाहिर निस्कनेहरुले आफुले जितेको भन्ने ठानेका छन् । बजारमा माग भन्दा आपुर्ति बढ्दा दीर्घकालीन लगानी गर्ने भन्दै फाट्टफुट्ट किन्नेहरुले मात्रै बजार धान्न सक्दैनन् । सेयरको जुन मात्राको आपुर्ति छ, माग पनि त्यही अनुसार भएमा मात्र बजार संतुलित हुन्छ ।

बजारमा पहिलेदेखि नै अधिक आपुर्ति रहेको अबस्थामा भ्याट आतंक थपियो, त्यसलाई प्रयोग गरेर लगानीकर्ताको मानसिकता अरु कमजोर बनाईयो । सेयर किन्न गएका कतिपयलाई अब भ्याट लाग्छ भन्दै फकाईयो ।

त्यसपछि बाम आतंक सुरु भयो, बाम सरकार आयो भने के हुन्छ, थाहा छैन, सरकार बनेपछि लगानी गर्नुहोला ..भन्दै लगानीकर्ताहरुलाई अलमलमा पारियो ।

अब अहिले ब्याज दर र लगानीयोग्य रकमको आतंक सुरु भएको छ । घट्दो रेमिट्यान्स आप्रबाह, शोधनान्तर घाटा बढेको बेला एनसेलको लाभांश बाहिरिने चर्चा र सरकारी खर्च निराशाजनक भएको अबस्थाले नै कति मार गर्छ भन्ने यकिन छैन ।

बैंकले निक्षेप लिँदा नै बार्षिक १३,१४ प्रतिशत ब्याज दिने भएपछि सेयर बजारमा ५, ७ प्रतिशतको बार्षिक लाभांश खान लगानी गर्ने कि नगर्ने भन्ने दोधार सिर्जना गर्छ । भएको पैसा बैंकमा राखेर ब्याज आर्जन गर्नेहरु बढ्दा महंगो ब्याजको कर्जा लिएर सेयर बजारमा लगानी गर्न कति आउलान् ? विचारणीय छ ।

शुक्रबार एउटा समाचार आयो, सेयर बजार घटेपछि बाहिरी जिल्लाका सेयर दलालका कार्यालयमा लगानीकर्ताहरु नभएर सुन्यता छाउँदैछ । सुनसान भएका सेयर दलालको शाखा कार्यालयले दैनिक खर्च धान्ने कारोबार पनि गर्न सकेका छैनन् । बाहिरी मात्रै हैन, राजधानीकै कतिपय सेयर दलालको कार्यालयको पनि त्यही हालत छ । बजारप्रति लगानीकर्ताको आकर्षण घट्दै गएर नकारात्मक मानसिकता पैदा हुनुलाई गंभीर रुपमा लिनैपर्छ । यही बेला पुस मसान्तमा कर्जाको सावाँ ब्याज र सरकारलाई कर तिर्नेहरुको चापले सेयर बजारमा लगानीयोग्य रकमको अभावलाई अरु खुम्च्याईदिन्छ ।

सेयरको मूल्य घट्दै जाँदा बैंकहरुबाट लगानीकर्तालाई भटाभटी आउने मार्जिन कलले झन् बजारमा बिक्रीको चाप बढाईदिन सक्छ । बाढी पसेपछि बलियाहरु पनि भाग्छन् । एक बर्ष अगाडि राम्रा कम्पनी भनेर सेयर किन्नले ५० प्रतिशत जत्ति घाटा खाईसकेका छन् । बैंकमा धितो राखेकाहरुले पनि मार्जिन कलको चाप र
घाटा कम गर्न सेयर बेच्न थाल्नुपर्ने अबस्था आउनु हुँदैन ।

अहिले ब्यक्तिगत लगानीकर्ताको मात्रै सम्पति क्षय भएको हैन, सेयर बजारमा अर्बौको लगानी गरेका सामुहिक लगानी कोषहरुको पनि नाभ घटेर कोष ब्यवस्थापकहरुको चिन्ताको तह बढाईदिएको छ । १२ वटा मध्ये ६ वटा जत्ति सामुहिक लगानी कोषको प्रति ईकाई खुद सम्पति मूल्य घटेर नौ रुपैयाँ हाराहारीमा आउन थालिसकेको छ । बजारमा हुने ठूलो खाले घटाईको मार करोड लगानी हुन् कि लाख लगानी हुन् सबैलाई पर्छ ।

सेयर बजारमा आएकाहरु बाहिरिए भने सम्झाई बुझाई गरेर फेरि ल्याउन ठूलो मेहनत गर्नुपर्छ । अगुल्टाले हान्दा तर्सेकाहरु बिजुली चम्किदा पनि भाग्छन् । त्यसले समग्र बजारको प्रगतिलाई बर्षौ पछाडि धकेलिदन्छ । सेयर बजारमा धेरै सम्पति गुमाएकाहरु फर्किनै चाँहदैनन् । यसअघि बजार घटेर नेप्से सूचक २९२ बिन्दुसम्म झर्दा सम्पति गुमाएका कयौं लगानीकर्ता कहिल्यै सेयर बजारमा फर्किएनन् । त्यतिबेला ठूला वा नाम चलेका लगानीकर्ता भन्नेहरु आज किन गुमनाम छन् भनेर सोच्ने हो भने पनि अहिलेको सेयर बजारमा आएका आम लगानीकर्ताहरुलाई संरक्षण गर्नेपर्छ । उनीहरु गुमाएर कहिल्यै सेयर बजारतिर नहेर्ने गरी बाहिर नजाउन भन्नेमा ध्यान दिनैपर्छ ।

खतराहरु अनेकन छन् । खुला सिमाका कारण भारततर्फ ठूलो पूँजी पलायन भईदिनसक्छ । बिट्क्वाईन र अरु अबैध उपकरणमार्फत धेरै ठूलो रकम विदेश जाने संभावना छदैछ। अर्थतन्त्रमा संकट आयो भने घरजग्गामा ठूलो मन्दी आउँछ, बैंकहरुको खराब कर्जा बढेर जान्छ, सर्बसाधारणले कर्जा तिर्न सक्दैनन् र खर्बौको सम्पति लिलाममा आउनसक्छ ।

धान्नै नसक्ने गरी आयातमा बृद्धि, खर्बौको ब्यापार घाटा र खुम्चिदो आन्तरिक उत्पादनले अर्थतन्त्रको अबस्था मापन गरिसकेको छ । त्यसमाथि हालैका निर्वाचन खर्च र संघियताको ब्ययभार हामीले नै उठाउनु परेको छ । त्यो नराम्रो दिन फेरि आओस भनेर कसैले कामना गर्दैनन तर बेलैमा समस्याको समाधान गरिएन भने नसोचेकै कुरा हुनसक्छ ।

बुद्धिमानहरुले संकट आउनु अघि नै सुरक्षाको प्रबन्ध मिलाउँछन् । कम बुद्धिमानहरु संकट आएपछि विकल्प खोज्छन् र मुर्खहरु संकट आईसक्दा पनि सुतेर बस्छन् । रोमका राजा निरो पुरै शहर जल्दा पनि ऐस आराममै मस्त थिए । हाम्रा नियमनकारी निकायहरु पनि रोमका राजा जस्तै नबनुन ।

चीनमा केही समय अगाडि पूँजी बजारमा संकट आउँदा कसरी बजारको उद्धार र सुरक्षा गर्न त्यहाँको कम्युनिष्ट सरकार लागिपरेको थियो ? कसरी बजारलाई सम्हाल्न भुमिका खेल्यो ? हामी सबैले थाहा पाएकै हुनुपर्छ । यहाँ त आफुलाई पूँजीको संरक्षक भन्ने नेपाली काँग्रेस नै सत्तामा छ । के अब आफ्नो हातबाट सत्ता गुम्ने भयो भन्दैमा देशको पूँजी बजारलाई बेवास्ता गर्ने ?

अहिलेको पूँजी बजारमा आएको समस्याको समाधान कसैले गर्नसक्छ भने त्यो सरकारले नै सक्छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले तत्काल बजारमा हस्तक्षेप गरेर अनलाईन कारोबार प्रणाली चाँडै ल्याउने लगायतका संस्थागत सुधारका काम तीब्र पार्नुपर्छ र तत्कालै सेयर धितो कर्जा अर्थात मार्जिन कर्जाको सिमा ७० प्रतिशत बनाउनु पर्छ । पहिले सेयर धितो कर्जा लिएकाहरुलाई तत्काल मार्जिन कल नआउने प्रबन्ध मिलाउनै पर्छ ।

बैंक तथा बित्तीय संस्थाहरुबाट मार्जिन कर्जा लिनेहरु मध्ये धेरै दीर्घकालीन लगानीकर्ता हुन् । उनीहरुको सुरक्षाको प्रत्याभुति भएन भने बैंकहरुले गर्ने मार्जिन कलबाट धेरै लगानीकर्ता आँत्तिनसक्छन् र बजारमा ठूलो संख्यामा सेयर बिक्रीमा आउनसक्छ । त्यसैले बैंकहरुले अहिलेको कठिन परिस्थितिमा लगानीकर्ताहरुलाई मार्जिन कल गरेर अत्याउँने काम गर्ने हैन, कसरी सहुलियत दिन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ ।

पहिले पनि बैंकहरुले सेयर धितो मूल्यांकनको ७० प्रतिशत भन्दा माथि कर्जा दिएका थिए, त्यतिबेला पनि सेयर धितो कर्जाका कारणले कुनै बैंक डुबेका थिएनन् । अहिले पनि डुब्दैनन् । बैंकहरुका लागि सबैभन्दा सुरक्षित र असुली गर्न सहज कर्जा भनेकै सेयर धितो कर्जा हो । अहिले कर्जा सिमा धितो मुल्यांकनको ७० प्रतिशत बनाउँदा बैंकहरुलाई कुनै समस्या पर्दैन । एक हजार चार सय पुगेको राम्रो बाणिज्य बैंकको सेयर मूल्य एक हजार रुपैयाँ घटेर चार सय रुपैयाँ तल आउँदा बैंकहरुले धितो मुल्यांकनको ७० प्रतिशत कर्जा दिँदा रत्तिभर जोखिम छैन ।

राष्ट्र बैंकले एकातिर पूँजी बृद्धिको नीति अन्तगर्त बेलगाम हकप्रदको बाढी ल्याएर बित्तीय प्रणालीमा तरलता अभाव चर्काउने र अर्कोतिर मार्जिन कर्जाको सिमालाई ५० प्रतिशतमा खुम्च्याउने बिरोधाभाषपूर्ण काम गर्यो । बैंक तथा बित्तीय संस्थाहरुको पूँजी आधार बलियो हुँदा उत्पादनलाई सघाउँछ भन्ने हो भने राष्ट्र बैंक र मातहतका बैंकहरुले मार्जिन कर्जालाई प्रोत्साहन गर्नैपर्छ । पहिले उसले गरेको गल्ति अब सुधार्नैपर्छ ।

विडम्बना र्नै भन्नुपर्छ, राष्ट्र बैंक मात्रै हैन, बैंकहरुले पनि मार्जिन कर्जालाई गाडी कर्जा जत्ति पनि सहुलियत दिन चाहिरहेका छैनन् । प्रक्रियागत शुल्क र ब्याजदर यही कर्जाको चर्को छ । सेयर धितो कर्जाप्रतिको बैंकरहरुको धारणमै परिवर्तन आबश्यक छ । बैंकहरुले धितोको न्युनतम मुल्यांकनको ७० प्रतिशतसम्म कर्जा प्रदान गरुन् र शुल्क तथा ब्याजमा पनि सकेसम्म कटौती गरेर ऋणीहरुलाई राहत दिउन्, यो अहिलेको अपरिहार्य आबश्यकता हो ।

यसका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको अद्र्धबार्षिक समीक्षा मार्फत बैंकहरुलाई बाटो खोलिदिनुपर्छ । यसो भयो भने अहिले सेयर बजारमा गिरावट आएर आँत्तिएका लगानीकर्ताहरुलाई साच्चिकै राहत पुग्नसक्छ र खस्किएको मनोबल बलियो बन्नेछ । लगानीकर्ताको मनोबल बलियो बनाउने भुमिका खेल्नु नै अहिले सबै सरोकारवालाहरुको प्राथमिक दायित्व हुन आएको छ ।

स्पष्टिकरणः स्केच ईन्टरनेटबाट लिईएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here