तिलक कोइराला ।

ब्रोकर कमिशन अचाक्ली महंगो भएकाले त्यो घटाउनु पर्ने लगानीकर्ताहरुले लामो समयदेखि उठाउँदै आएको माग हो ।

यसपल्ट कोरोना संकट र लकडाउनको कारणले लामो समयसम्म शेयर बजार बन्द भएपछि शेयर लगानीकर्ता दबाब समूहले आफ्नो २५ बुँदे मागको ४ नम्बरमा शेयर बजार खुल्नु अगाडि नै ब्रोकर कमिशन घटाउनुपर्ने माग राखेको थियो । हालको ब्रोकर कमिशन दर ०.६० प्रतिशतमा कटौति गरी एकै दर कायम हुने गरी ०.२० प्रतिशतमा ब्रोकर कमिशन सिमित गर्नुपर्ने दबाब समूहको माग छ । अब हामी त्यो अडानबाट यताउता हुने छैनौ ।

असार १२ गते लगानीकर्ता संघहरुको बैठकमा ब्रोकर कमिशन अहिलेका लागि ०.४० प्रतिशत कायम हुने गरी घटाउनैपर्ने कुरा जोडदार रुपमा मैले नै राखेको हुँ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकै अगाडि यस्तो माग दोहोर्याएर प्रस्तुत हुँदा अरु लगानीकर्ता संघका प्रतिनिधिहरुले  कुनै प्रतिक्रिया नजनाउनु रहस्यमय थियो नै । तत्काल ब्रोकर कमिशन नघटाउने हो भने समिति गठन गरी दक्षिण एशियाका अरु देशको समेत अध्ययन गरी ब्रोकर कमिशन दर निर्धारण हुनुपर्ने विकल्प पनि प्रस्तुत गरिएको हो । त्यसो गरिदा ब्रोकर कमिशन धेरै न्यून भयो भने त्यसको लाभ पूँजी बजारका हामी लगानीकर्ता नै हुने हो ।

बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना

ब्रोकर कमिशन घटाउँने काम धितोपत्र बोर्डको हो । बोर्डले नेप्से, ब्रोकर र लगानीकर्ताहरुसँग राय र सुझाव लिनसक्छ तर उनीहरुकै संलग्नतामा समिति गठन गरेर ब्रोकर कमिशन घटाउने कुरा स्वीकार्य हुनै सक्दैन किनभने त्यहाँ स्वार्थको लडाई हुन्छ, कुनै न कुनै पक्षबाट निर्णय प्रभावित भईदिन्छ । हामी त्यस्तो समितिमा बस्न चाहदैनौ र स्वार्थ बाझिने कुनै पनि पक्षको संलनतामा हुुने निर्णय अश्विकार गर्दछौ ।

नेपालको शेयर बजारमा ब्रोकरहरुले सिण्डिकेट, युनियनबाजी र कार्टेलिड. गर्दै आएका छन् तर ब्रोकर कमशिन घटाएर बजारलाई राहत दिनबाट रोकिनुमा पनि उनीहरुको यस्तै सिण्डिकेटले काम गरेको छ ।

लगाानीकर्ताका अगुवा विरुद्ध कुप्रचार गर्न गराउँने काममा धितोपत्र बोर्डका केही अधिकारी र ब्रोकरहरु नै सक्रिय रहेको प्रमाणहरु मिलेका छन् ।

धितोपत्र बोर्ड र लगानीकर्ता बीचको सम्बन्ध राम्रो बनाऔं र ब्रोकर र लगानीकर्ताबीचमा बर्षौदेखि हुँदै आएको आरोप प्रत्यारोप पनि समाप्त गरी बजार खुल्नु अगाडि नै ब्रोकर कमिशन ०.४० प्रतिशतमा झारेर अब फेरि पनि कमिशन घटाउने माग नउठ्ने सुनिश्चितता गरौं भन्दा उल्टै लगानीकर्ताका नेताहरुलाई लान्छित गराउने काम भयो । कुनै कोणाबाट धितोपत्र बोर्ड समक्ष लगानीकर्ताले आत्मसमपैण गरे भन्ने प्रचारबाजी गरियो भने अर्को कोणबाट ब्रोकरले लगानीकर्ताका नेतालाई किने, नेता बिके भन्ने प्रचारबाजी गरियो । बोर्ड र ब्रोकरबाट जुन प्रचारबाजी भएको छ, त्यसबाट बन्दै गरेको वातावरण फेरि खलबलिएको छ र त्यो ब्रोकर कमिशन नघटाई अनि बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स नदिई बन्दै बन्दैन ।

नेपालको शेयर बजारको सर्वोच्च नियमनकारी निकाय धितोपत्र बोर्डले ब्रोकरहरुको सिण्डिकेट खारेज गर्ने कि उनीहरुकै बन्धक बन्ने भन्ने गंभीर चिन्तन गरी कदम चाल्नुपर्ने निर्णायक बेला आएको छ । धेरै आश गरिएका अध्यक्ष भीष्मराज ढुंगाना पनि ब्रोकरहरुकै सिण्डिकेटका अगाडि नतमस्तक बने भने नेपालको पूँजी बजारको बिकास अरु पछाडि धकेलिन्छ ।

अहिले ब्रोकर कमिशन घटाउनबाट धितोपत्र बोर्डलाई रोक्ने ब्रोकरहरुले बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनबाट पनि धितोपत्र बोर्ड र नेप्सेलाई बार लगाउने हदै प्रयास गरेका छन् । अर्थ समितिमा ब्रोकरको स्वार्थले काम गर्यो भने नेपालको पूँजी बजारको बिकासको ढोका बन्द हुने खतरा बढेको छ ।

लगानीकर्ताका नेताहरु ब्रोकरसँग बिके भन्दै कुप्रचार गराउनेहरुले भोलि धितोपत्र बोर्डका अध्यक्षलाई पनि यस्तो आरोप लगाएर बदनाम गराउने संभावना छ । दलालहरु आफ्नो स्वार्थका लागि जे पनि गर्न  तयार हुनसक्छन् । यसबाट होसियार रहँदै ब्रोकरको सिण्डिकेट, कार्टेलिड. र युनियनबाजी समाप्त गर्न बोर्ड क्रियाशील हुनैपर्छ ।

अबको १५ दिन भित्रमा ब्रोकर कमिशन घटाएर ०.२० प्रतिशतमा झारिएन र बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिईएन भने धितोपत्र बोर्डको कार्यालयमा अनशन शुरु हुन्छ भन्ने उद्घोष पनि गर्दछौ । अहिले आधारहिन आरोप लगाएर सामाजिक संजालमा बदनाम गर्न खोज्नेहरु पनि अनशन बस्न आउनै पर्छ, उनीहरुको एक एक हिसाब हामीले राखेका छौ । हामीले पूँजी बजार बिकास, बिस्तार र सुधारको काम गर्दैनौ भनेर कसम खाएका छैनौ, पूँजी बजार बन्द मात्र नगर्ने भनेका हौं ।

धितोपत्र बोर्ड पूँजी बजार र हामी लगानीकर्ताको अभिभावक हो भनेर गरिएको विस्वासमा घात भयो भने “विद्रोह” हुन्छ । पूँजी बजारलाई नीति, नियम, पुर्वाधार र प्रविधिले समुन्नत पार्न छाडी धितोपत्र बोर्ड षडयन्त्रको अखडा नबनोस भन्ने कुरामा फेरि ध्यानाकर्षण गराउँछौ । धितोपत्र बोर्डका नयाँ अध्यक्षले नयाँ उर्जाका साथ शुरु गर्नुभएको काममा शंका गर्नुपर्ने अवस्था आउनु भनेको धेरै चिन्ताको बिषय हुने छ ।

साउन १ गते अनशन बस्छौ भनी दिईएको सूचनालाई धम्की वा घुर्कीको रुपमा नबुझिदिनुहुन पनि अनुरोध छ । हामीले पेश गरेको २५ बुँदे मागका सबै कुरा पुरा गर्नमा ढिलाई भए अझ कडा रुपमा प्रस्तुत हुने नै छौ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here