नेपाल स्टक एक्सचेन्जमा फागुन २० गते मंगलबार भएको कारोबारमा लगानीकर्ताहरुले संयमित भएर किनबेच गरेका छन् ।

सोमबारको जस्तो हतारमा शेयर बिक्रीमा राखेर बजारमा चाप नपारी उनीहरुले संयमता देखाएका हुन् ।

अनेक खालका बजारिया हल्लाहरुका कारण सोमबार ब्रोकर सम्बद्ध पक्ष र अनलाईन प्रयोग गर्ने लगानीकर्ताहरुले बिक्री चाप बढाउँदा मागले धान्न नसकी दुईपटक सर्किट लागेर बजार बन्द भएको थियो ।

मंगलबार कारोबार चल्दाचल्दै दुई पटक नेप्सेको अनलाईन कारोबार प्रणालीले काम नगर्दा ५५ मिनेटसम्म कारोबार अबरुद्ध भएको थियो । त्यसपछि खुलेको बजारमा लगानीकर्ताहरुले शेयरको मूल्य बढाएरै खरिद गरेका थिए । राष्ट्र बैंकले सोमबार जारी गरेको मौद्रिक नीतिको समीक्षामा उल्लेख भएको लघुवित्तले २० प्रतिशत भन्दा बढी लाभांश दिने हो भने बढी हुने लाभांशको आधारमा ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा २५,२५ प्रतिशत रकम ब्यवस्था गर्नुपर्ने उल्लेख छ । त्यसैका आधारमा लगानीकर्ताहरुले लघुवित्तहरुको लाभांश घट्नसक्ने आँकलन गर्दै निराशा ब्यक्त गरेका देखिएको छ ।

अघिल्लो दिन बाणिज्य बैंकहरुको शेयर धेरै प्रतिशतले घटेकोमा मंगलबार भने बढेको छ । तीन वटा बाहेक सबै समूह सूचकहरु बढेकाले नेप्सेमा १४.३७ अंकको बढोत्तरी भई १५०९.६७ विन्दुमा पुगेको छ । यस दिन तीन अर्ब ८५ करोड बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here