नेप्सेको पूर्ण अनलाईन कारोबार प्रणालीले धोका दिँदा बिहीबार ब्रोकरको समेत पुरै दिनभर कारोबार ठप्प भयो र सयौं लगानीकर्ताले कारोबार प्रणालीमा पहुँच नै कायम गर्न नसकी किनबेचको अधिकारबाट बंचित हुनु पर्यो ।

ब्रोकर नम्बर ६ अग्रवाल सेक्युरिटिजले कारोबार प्रणालीमा पहुँच कायम गर्न नसकेपछि बिहीबार दिनभर काठमाडौ र जनकपुर शाखामार्फत कारोरबार गर्ने लगानीकर्ताहरु आक्रोशित बनिरहे ।

शुक्रबार नेपाल स्टक एक्सचेन्ज पुगेका ब्रोकर नम्बर ६ का आधिकारिक प्रतिनिधिले भने, बिहीबार विहानैदेखि कारोबार प्रणालीमा पहुँच कायम नभएपछि हामीले पटक पटक ब्रोकर एशोसियशन, नेप्से र वाईकोलाई भन्यौं तर समस्या समाधान भएन, हाम्रा गा्रहकहरुले कारोबार गर्न नपाएपछि हामीमाथि आक्रोश पोखेर खपिसक्नु भएन ।

उनी शुक्रबार मध्यान्ह अघि नै नेप्से पुग्दा उनको गुनासो सुनिदिने कोही प्राविधिक थिएनन् । सफ्टवेयर निर्माता वाईकोका कर्मचारीहरु पनि शेयर कारोबार हुने दिन मात्र आउने हुँदा आईतबार विहानसम्ममा उनको ब्रोकरलेअनलाईन प्रणालीमा पहुाच पाउने संभावना कमजोर देखिएको छ ।

अनलाईन कारोबार प्रणालीले ठीक ढंगले काम नगर्दा कयौं लगानीकर्ताले शेयर कारोबार खुलेको दिन असार १५ यता कारोबार प्रणालीमा पहूँच पाएका छैनन् । कयौं लगानीकर्ताको युजर आईडी र पासवर्ड नै प्रणालीले स्वीकार गरेको छैन र कारोबार ब्यवस्थापन प्रणाली(टीएमएस) मा प्रबेश गर्न (लग ईन)पाएका छैनन् भने कयौंले लग ईन गरे पनि किन्न आदेश राख्ने वा बिक्री आदेश राखेर कारोबार सम्पन्न गर्न पाएका छैनन् । कयौं लगानीकर्ताले कारोबारको सही विवरण र मार्केट डेब्थ नै हेर्न नपाएको गुनासो गरिरहेका छन् ।

केही ब्रोकरहरुको लविड.मा नेप्सेले एउटा डिम्याट खाता एउटा ब्रोकरमा मात्र आबद्ध गरेर त्यहाँबाट मात्र किन्न बेच्न पाईने ब्यवस्था गरेपछि लगानीकर्ताहरुलाई हदै समस्या हुनुका साथै ब्रोकरहरुबीचमा विवाद बढेको छ । ठूला खेलाडीहरुलाई आफुमा मात्र सिमित गर्न केही ब्रोकरले यस्तो रणनीति अपनाएर नेप्सेलाई हतियारको रुपमा उपयोग गरेपछि अधिकांश ब्रोकरहरु असन्तुष्ट बनेका छन् ।

अधिकांश ब्रोकरहरुले नै विरोध गरेपछि अहिले नेप्सेले शेयर किन्न भने सबै ब्रोकरबाट पाउने तर बेच्न भने एउटा ब्रोकर नै रोज्नुपर्ने अनौठो नियम लाद्ने प्रयास गरिरहेको छ । यही मौका केही ब्रोकरहरु भने अनलाईन तथा अफलाईनबाट शेयर बेच्दा अनिबार्य डिम्याट जाँच हुने ब्यवस्था नै परिवर्तनमा लागेका छन् ।

अनलाईनको अब्यवस्था र नेप्सेको लापरबाहीका कारण शेयर मूल्य बढेको बेला बेच्न नपाउने र घटेको बेला किन्न नपाउने अबस्थाले लगानीकर्तामा विद्रोहको भावना सिर्जना गर्ने खतरा बढेको छ ।

अनलाईन कारोबार प्रणालीमा पटक पटक गंभीर खालका समस्याहरु आईरहेर लगानीकर्ताले थेग्नै नसकिने हैरानी ब्यहोर्न परिरहे पनि नेप्सेले भने आफ्नो प्रणाली विश्वमै उत्कृष्ट रहेको र लगानीकर्ताले चलाउँन नजानेर दोष दिएको तर्क गरिरहेको छ । यस बारेमा धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले नै छानविन गरी सत्य तथ्य बाहिर ल्याएर लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने आबश्यकता देखिएको छ ।

अनलाईन कारोबार प्रणाली भद्रगोल भएपछि शेयर लगानीकर्ता दबाब समूहले शुक्रबार नै अर्थ मन्त्रालयको बित्तीय क्षेत्र समन्वय शाखाको ध्यानाकर्षण गराई तत्काल समस्या समाधानको पहल गर्न आग्रह गरेको छ । दबाब समूहको टोली नेप्से पुगेर समस्या समाधानबारे छलफल गर्न प्रयास गर्दा कुनै पनि पदाधिकारी सम्पर्कमा आउनै चाहेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here