अर्जुन पौडेल ।

अर्थमन्त्री खतिवडाको फोटो ईन्टरनेटबाट लिईएको हो

शेयर बजारका लगानीकर्ताको सम्पति एकैदिन ५६ अर्बले बढेको छ । बजारमा खरिद चाप उच्च भएर शेयरको मूल्य बढेपछि लगानीकर्ताको सम्पति पनि आधा खर्ब भन्दा बढीले धनात्मक भएको हो ।

गत बिहीबार पुस २४ गते शेयर बजारको पूँजीकरण १५ खर्ब ४६ अर्ब रहेकोमा पुस २७ गते आईतबारको कारोबारमा शेयर मूल्यमा उछाल आएपछि बजार पूँजीकरण बढेर १६ खर्ब नाघेको छ । बजार पूँजीकरण अनुसारको वास्तविक आँकडामा लगानीकर्ताको सम्पति बढेको यकिन गर्न नसकिए पनि उल्लेखनीय बढोत्तरी भएकोमा भने दुईमत हुन सक्दैन ।

गत साउन देखि निरन्तर ओरालो लागेको बजार पुसको अन्तिम सातामा आइपुग्दा लगानीकर्ताका लागि आकर्षक बनेको छ ।

दुई बर्ष अघि अर्थमन्त्री डा. खतिवडाको पुँजीबजारलाई अनुत्पादक क्षेत्र भन्दै अन्तरवार्ता दिएसँगै ओरालो लागेको नेप्से तिनै खतिवडालाई तीनछक्क पार्ने गरी बढेको हो ।

गत साता मात्रै अब खतिवडा नदोहोरिने हल्लाले शेयर बजार तातेको थियो । माघ ९ गतेको निर्वाचनपछि राष्ट्रपतिबाट मनोनीति हुने नयाँ नेतामा नेकपाले कसलाई अगाडि सार्छ भन्ने स्पष्ट भईसकेको छैन तर फागुन २० पछि साँसदको रुपमा नरहने खतिवडाको ठाउँमा बनाईने नयाँ अर्थमन्त्रीको बचर्चा चल्न थालेपछि लगानीकर्ताको मनोबल बलियो बन्दै आएको छ ।

नेप्सेको समग्र ईन्डेक्स बढेसँगै लगानीकर्तामा नयाँ उर्जा देखिएको छ । निकट भविष्यमा शेयरबजारले आकाश छुने आँकलन गर्नेहरु लगानी खोज्न ब्रोकर र वित्तीय संस्था पुग्न थालेका छन् भने अरु क्षेत्रमा कर्जा प्रबाह गर्न नसक्ने अबस्था देखेका बैंकहरु पनि शेयर धितो कर्जामै जोड दिदैछन् ।

पुस मसान्तमा ब्याज तथा करको जोहो गरिसकेका लगानीकर्ताहरु अब शेयर बजारमा लगानी बढाउँने रणनीतिमा लाग्दा पनि खरिद चाप बढेको देखिन्छ ।
शेयर किन्दै बैंकबाट कर्जा लिएर फेरि बजारमै लगानी गर्नेहरुले पूँजीगत लाभ हुने कम्पनी छानी छानी लगानी गर्न थालेका छन् । पुस २७ गते जीवन, निर्जिवन बिमा र लघुवित्त उच्च आकर्षणमा रहनुले पनि लगानीकर्ताले कस्ता कम्पनी छानेका छन् भन्ने प्रष्ट हुन्छ ।

बैंकहरुमा निक्षेप तथा कर्जाको ब्याज दर घट्नुले पनि बजारलाई आधार दिएको अबस्था छ ।

एक ब्रोकरका अनुसार पहिला घटेको मुल्यमा पनि नकिनेको एउटा कम्पनीको आज दोब्बर मुल्य हालेर पनि किन्न लगानीकर्ता तयार भएका छन् । पुस सकिनै लाग्दा धेरै कम्पनीका सधारणसभा सम्पन्न भई लाभांश समेत पचिसकेको अवस्था छ । त्यो लाभांश पनि दोस्रो बजारमा नै लगानी भएको कारणले पनि बजार उचालिएको हुन सक्दछ ।

बजारमा आधा बर्ष यताका पुराना सबै रकर्ड तोडेर सर्वाधिक रकमको कारोबार गरेको छ । पुस २७ गते आईतबार नेप्से १२५५.७२ बिन्दुमा बन्द भएको भयो, जुन अघिल्लो साताको बिहीबारको तुलनामा ४२.६१ अंकको बढोत्तरी हो । कुल ३८ लाख ३१ हजार ५४ कित्ता शेयर कारोबार हुँदा कारोबार रकम १ अर्ब ३३ करोड ५७ लाख भन्दा माथि रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here