शेयर बजार संचालनको उन्नत प्रविधि नहुँदा कोरोना संक्रमण र लकडाउनको कारणले तीन महिनासम्म बन्द भएको शेयर बजार अब कुनै पनि बहानामा बन्द नहुने गरी मध्य असारमा खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले बजार सुधार, बिस्तार र राहतका लागि भएका ठोस कामहरुको प्रगति विवरण सार्वजनिक गर्ने र जारी रहेका कामहरुको बारेमा बेरोकतोक कार्यान्वयनमा लगानीकर्तालाई आश्वस्त पारी शेयर बजार खोल्न लागेको हो ।
असार १२ गते धितोपत्र बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरुसँगको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र अन्य पदाधिकारीहरुले पूँजी बजारलाई नीति नियम, पुर्वाधार र प्रविधिले सम्पन्न पार्ने अभिभारा आफ्नो भएको विस्वास दिलाएपछि लगानीकर्ताहरुले बोर्डप्रति पूर्ण भरोसा गरेका छन् ।
लगानीकर्ताहरुले एकमतले बोर्डलाई बजार खोल्न आग्रह गरेपछि ढिलोमा असार १६ गतेसम्म बजार खोल्ने गरी धितोपत्र बोर्डले संचालक समिति बैठकबाट निर्णय गर्दैछ । यो निर्णयसँगै बोर्डले केही प्याकेजहरु पनि घोषणा गर्दैछ, जसमा नेपालको शेयर बजारका लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएका सुधार तथा विस्तारका कामहरु सम्पन्न भएका ठोस आधारहरु समेटिएका हुनेछन् ।