विद्युत विक्री वापतको आम्दानी बढेपनि अन्य स्रोतबाट हुने आम्दानीमा पहिलो जाँदा अरुण भ्याली हाइड्रो पावर कम्पनीको नाफा झण्डै दुई तिहाईले घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा ९ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको अरुण भ्यालीको गत असार मसान्तमा नाफा ३ करोड ५३ रुपैयाँमा खुम्चिएको हो । विद्युत विक्रीबाट ५ करोड २० लाख कमाएको देखिन्छ । तर अन्य स्रोतबाट हुने आम्दानी ७ करोड ८५ लाखबाट १ करोड ९२ लाखमा झरेको देखिन्छ ।

चुक्ता पूंजी ८४ करोडबाट ९३ करोड पुगेको कम्पनीको खुद नाफा घटेसंगै प्रति शेयर आम्दानी पनि ३ रुपैयाँ ९४ पैसा मात्रै कायम भएको छ भने मूल्य आम्दानी अनुपात ३८ दशमलव ८६ गुणा पुगेको छ । सो कम्पनीको प्रति शेयर नेटवर्थ १०४ रुपैयाँ रहेको छ ।

यस्तै अरुण भ्याली समूहले नै प्रवद्र्धन गरेको अरुण काबेली पावर लिमिटेडले विद्युत विक्री गर्न नपाउँदाको मार खेपिरहेको छ । प्रसारण लाइन समयमै सम्पन्न नहुँदा सो कम्पनीले विद्युत विक्री गर्न पाएको छैन ।

अरुण काबेलीको गत वर्ष २८ लाख रुपैयाँ रहेको खुद घाटा गत असार मसान्तमा घटेर १६ लाखमा झरेको छ । अन्य स्रोतबाट हुने आम्दानी बढेकाले खुद नोक्सानी घटाउन सहयोग पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here