देशको अर्थतन्त्र सुधार भईरहेको आशलाग्दा आँकडाहरु केन्द्रीय बैंकले प्रस्तुत गरेको छ ।
नेपाल राष्ट्र बैंकले पुस २९ गते सार्वजनिक गरेको चालु आर्थिक बर्षको पाँच महिनाको अर्थतन्त्रको अबस्थासम्बन्धी आँकडा आम नागरिकलाई आस्वस्त पार्ने खालका छन् ।
अनिबार्य नगद मार्जिन ब्यवस्थासहित आयात नियन्त्रण गरिएपछि विदेशी मुद्रा संचितिमा उल्लेखनीय रुपमा सुधार आई झण्डै ९ महिनाको बस्तु तथा सेवा आयात गर्नपुग्ने विदेशी मुद्रा संचिति भएको छ ।
२०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा रु.१२९२ अर्ब ५६ करोडपुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायमभएको छ । विदेशी मुद्रा संचितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ । विदेशी मुद्रा संचिति बढेकाले ८. ७ महिनाको बस्तु तथा सेवा आयात धान्न सक्ने अबस्थामा देश पुगेको छ । गत बर्ष विदेशी मुद्राले झण्डै ६ महिनाको बस्तु तथा सेवाको आयात धान्न सकिने अबस्था थियो ।
विप्रेषण आप्रबाह बढेकाले विदेशी मुद्रा संचितिमा ठूलो आड मिलेको छ । पाँच महिनामा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.४८० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।
चालु खाता रु.३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई रु.३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ७ करोड रहेको थियो ।
यस समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ
देशमा मुद्रास्फिति भने बढेर गएको राष्ट्र्र बैंकले जनाएको छ । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । अघिल्लोवर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत रगैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ ।
पाँच महिनाको अवधिमा सरकारी खर्च चार खर्ब ३५ अर्ब भएको छ । यसमा चालु खर्च मात्रै ३ खर्ब ५४ अर्ब भएको छ भने राजश्व असुली तीन खर्ब २६ अर्ब मात्र भएको जनाईएको छ । चालु खर्च धान्न नै राजश्व अपर्याप्त भएकाले आन्तरिक तथा बैदेशिक ऋणको भरमा सरकार चलाउनुपर्ने अबस्था छ ।
राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१८२ अर्ब ४३ करोड नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात रु.२२७ अर्ब ६९ करोड रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.१११ अर्ब १५ करोड (२.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.७८ अर्ब ४४ करोड (१.७ प्रतिशत) ले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.७३ अर्ब ३० करोड (१.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.४२३ अर्ब १३ करोड (१०.४) प्रतिशत) ले बढेको थियो ।